
नवलपरासी,१८ मंसिर
संस्कृति तथा प्राचीन सम्पदाहरुको संरक्षणमा स्थानिय सरकारले चाँसो नलिएको जनाउदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान शुरु गरेका छन् । संस्कृति र सम्पदा जोगाउनका लागि स्थानिय स्तरमा जागरण मुखी कार्यक्रम तथा विज्ञहरुद्धारा स्थानियलाई सन्देश दिलाउनका लागि समन्वयात्मक कार्य गर्दै विभिन्न अभियान चलाउनका लागि महाअभियान शुरु गरिएको हो ।
प्राचीन सम्पदाको संरक्षण तथा लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस्तो महाअभियान शुरु गरिएको महाअभियानका संयोजक अनिल शर्माले जानकारी गराए । जिल्ला भित्र रहेका प्राचीन सम्पदाहरु माथि अहिले अज्ञानता र स्वार्थीपनले नष्ट गरिने कृयाकलाप भई रहेका छन्,उनले भने, प्राचीन सम्पदा स्थलमा पुरातत्व विभागले औपचारिक कानुनी प्रावधान उल्लेख गरि बोर्ड राख्ने सिवाय अरु केही गर्न सकेको छैन् । सम्पदा संरक्षण गर्नु पर्ने जिम्मेवारी समेत स्थानिय सरकार तथा स्थानिय प्रशासनको भए पनि त्यस्ता सम्पदा क्षेत्रमा निरन्तर अतिक्रमण गर्ने,पुर्वाधारहरु बनाउदै नष्ट गर्ने कार्यहरु भई रहेको देखेर त्यसको संरक्षणका लागि स्थानिय स्तरमा जागरण गर्नु पर्ने आवश्यकता महशुस गरि महाअभियानको शुरुवात गरेको उनको भनाई थियो ।
प्राचीन सम्पदा मात्रै नभई ग्रामिण क्षेत्रमा रहेका कला संस्कृतिहरु लोप हुदै जानु र विभिन्न बाहिरी संस्कृतिले प्रवेश पाउदै जादा स्थानिय मौलिक संस्कृति हराउने गर्दा त्यसको संरक्षणका लागि पनि गाँउ बस्तिमा पुगेर त्यसको महत्व बुझाउने कार्य भई रहेको शर्माले सुनाए । महाअभियानले जनतालाई जागरुक बनाउने र जनताले नै आफ्ना जनप्रतिनिधिसँग सम्वाद गरि संरक्षणको माग गर्न सक्ने विश्वासका साथ काम भई रहेको उनले जानकारी गराएका थिए । हालै मात्र बौद्धकालिन बुद्धको मावली प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरमा उत्खनन कार्यमा जुटेका पुरातत्व विभाग,लुम्बिनी विश्वविद्यालय,त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै स्थानियबासीसँग पुरातत्व विद विच अन्तरक्रियाको आयोजना गरि जागरण गरिएको महाअभियानका संयोजक शर्माले बताए ।
यस्ले स्थानियबासीलाई पुरातात्विक सम्पदा र संस्कृति प्रति जागरुक गराएको छ, उनले भने,उत्खनन र खोज अनुसंधानमा लागेका विद्यार्थीहरुलाई जिल्लाकै प्राचीन स्मारकहरुको समेत भ्रमण गराई उत्साही बनाउने कार्य गरेको छ । संयोजक शर्माका अनुसार रामग्राम स्तुप लगायत बुद्धले सतिपठ्ठान सुत्तको देशना गरेको स्थान सुस्ता गाउपालिकाको सतपति क्षेत्रको भ्रमण गराएको थियो । त्यसै गरि त्रिवेणी क्षेत्र तथा नारायणी नदी पारी बाल्मिकी आश्रमसम्म भ्रमण गराएर यस क्षेत्रको पुरातात्विक प्राचीन स्थलबारे भ्रमण गराएर यस क्षेत्रको उत्खनन,खोज अन्वेषण,प्रचार प्रसारमा विश्वविद्यालयका विद्यार्थीहरु लाग्ने र आर्को तर्फ स्थानियबासीमा यि स्थानहरुको साँस्कृतिक महत्व रहेकोले नासिनु भन्दा संरक्षण गरिनु पर्ने आवश्यकता महशुस गर्ने छन् । महाभियानले स्थानियबासीलाई जागरुक गराएको पुरात्व क्षेत्रमा लामो समय देखी काम गर्दै आएका पुरातत्वका जानकार नारद यादवले बताएका थिए ।
पुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको थियो । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको थियो ।
उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा योगदान पुर्याउदै यो राजधानी क्षेत्रलाई पहिचानको सुत्रधार बनेका पुरातत्वका जानकार नारद यादवलाई समेत सम्मान गरिएको उनले बताएका थिए ।
महाअभियानका संयोजक संस्कृति र सम्पदा संरक्षणमा जनप्रतिनिधिहरु उदासिन देखिएको हुदा नागरिक स्तरबाट भए पनि संस्कृति र सम्पादाको संरक्षण आवश्यक रहेको औल्याएका थिए । सोही आवश्यकतालाई मध्यनजर गरेर आफुले यो संस्कृति सम्पदा संरक्षणका लागि महाभियान चलाइएको छ,उनले भने, यो अभियानमा जो सुकै ब्यतिm र संघसस्था सहभागि भएर अभियानलाई सार्थक बनाउन सक्छन् । यसका लागि उनले सबैलाई आह्वान समेत गरेका थिए । महाअभियानसँग नागरिक समाज नवलपरासी लगायतका संस्थाले समेत सहकार्य गरि काम गर्दै आएको बताएका थिए ।
महाअभियानको कार्यको प्रशंसा गर्दै त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास सस्कृति तथा पुरातत्व विभागका प्रमुख डा.महेश अचार्यले महाअभियानको लक्ष्य समय सापेक्ष रहेको र गर्दै आएको कार्यको उदाहरणिय रहेको थिए । स्थानिय नागरिकहरुले पुरातत्व स्थल,बस्तु तथा समाजमा रहेका संस्कृति बचाएर राख्नु पर्ने औल्याएका थिए । हाम्रो इतिहास,परम्परा,संस्कार,संकृति तथा पुरातत्विक स्थान र बस्तु हाम्रा गहना हुन्,यसलाई बचाएर जोगाएर राख्न आवश्यक छ । यसका लागि सरकारले नीतिगत ब्यवस्था गरेर संरक्षण गर्नु पर्ने उनको भनाई थियो ।
उत्खनन कार्य विस्तारै विस्तारै अध्ययन गर्दै गर्नु पर्ने हुन्छ,हतार हतारमा उत्खनन गरेर देखाई हाल्दा पनि पुरातात्विक बस्तु नष्ट हुन सक्ने हुदा यसका लागि स्थानियले धैर्य समेत राख्नु पर्ने उनको भनाई थियो । पुरातत्व क्षेत्रको संरक्षण गर्नु भन्दा विभिन्न पुर्वाधार बनाउन लगाउने र बजेटमा कमिसन खाने दाँउ मात्र जनप्रतिनिधिहरुको रहेको छ,महाअभियानका संयोजक शर्माले भने, यस्ले दोहोरो नोक्सानी देखिएको छ,एका तिर पुरातात्विक स्थल नष्ट हुने र आर्को तिर बजेटको दुरुपयोग भ्रष्टाचार हुने मात्र देखिन्छ ।
