रामग्रामका बालबालिकामा कुपोषण बढ्दो

नवलपरासी,२९ असोज
जिल्लाको रामग्राम नगरपालिकाका बालबालिकामा कुपोषणको अवस्था बढदै गएको देखिएको छ । कुपोषणलाई हटाउने गरि विभिन्न कार्यक्रम गर्दै आए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसक्दा कुपोषणको अवस्था बढदै गएको तथ्याँकले देखाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।
नगरक्षेत्र भित्र रहेका सबै स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्र मार्फत पोषणका कार्यक्रम गर्न भनिए पनि चाहे जति जनपरिचालन तथा स्वास्थ्यकर्मीहरुले प्रभावकारी ढंगले काम नगर्दा विगत बर्षको तुलनामा कुपोषण हुने संख्यामा वृद्धि भएको तथ्याँकले देखाएको छ । कुपोषणमा पनि कड कुपोषणको अवस्था घटेको भए पनि समान्य कुपोषणको संख्यामा वृद्धि देखिएको छ,शाखाका स्वास्थ्यकर्मी अनिल खडकाले भने,यसबारे समिक्षा गरि कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले छलफल गरि थप काम गर्नेछ । उनका अनुसार आर्थिक बर्ष २०७९।०८० मा २६ जनामा समान्य कुपोषण देखिएको थियो । तर अहिले आर्थिक बर्ष २०८१।०८२ मा सो सँख्या बढेर २ सय ४४ पुगेको छ । तर कडा कुपोषणमा त्यही बर्षको अनुसार ३७ बाट बढेर ४७ पुगेको देखिन्छ । तुलनात्मक कडा भन्दा समान्य कुपोषणको अवस्था बढदो देखिन्छ ।
स्वास्थ्यकर्मीले भर्ने तथ्याँकबारे पनि समिक्षा गर्न आवश्यक रहेको उनले बताएका थिए । उनका अनुसार बालबालिकाको मासिक तौल लिईनु पर्नेमा लक्ष्य अनुसार तौल गर्ने सँख्या पनि घटेको देखिन्छ । दुई बर्षसम्म २४ पटक हुने तौलमा १२ पटक मात्र तौल गर्ने देखिएको छ । त्यसै गरि सुत्केरी पछि सुत्केरी महिलालाई खुवाउनु पर्ने आईरन तथा फोलिक एसिड पनि विगत बर्षको तुलनामा घट्दै गएको तथ्याँकले देखाएको छ । जस्मा आर्थिक बर्ष २०७९।०८० मा १ सय ६१ जना सुत्केरी महिलाले सो आईरन र फोलिक एसिड प्रयोग गरेका थिए भने आर्थिक बर्ष २०८१।०८२ मा सो सँख्या घटेर ८८मा झरेको छ । यस्ले गर्दा पनि कुपोषणको अवस्थामा वृद्धि भएको अनुमान लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *