Health Advertisement

रामग्राम ३ का वार्डअध्यक्षको पहलमा वार्डबासीले पाउने भए निःशुल्क र सहुलियत स्वास्थ्य सेवा

नवलपरासी,२५ असार
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ का जनताले अस्पतालबाट केही निशुल्क सेवा पाउने भएका छन् । सोही वार्डमा रहेको एक निजी स्तरको अस्पतालले वार्ड कार्यालयको आग्रहमा अस्पतालबाट पाउने केही सेवाहरु निशुल्क र केही सहुलियतपुर्ण सेवा दिइने भएको हो ।
वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपानेले आफ्नै वार्डमा रहेको निजी स्तरको इभरग्रिन अस्पताललाई आग्रह गरे पछि वार्डबासीलाई पाँच प्रकारको सेवामा निशुल्क र सहुलिय प्रदान गर्ने भएको जानकारी गराए । यो वार्डबासीकै लागि एक सुखद अवसर हो, उनले भने, अस्पताल यसै वार्डमा सञ्चालन छ,वार्डमा नगरपालिकाले हालसम्म कुनै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य सँस्था स्थापना पनि गर्न सकेको छैन् । वार्डका बासिन्दालाई स्वास्थ्य सेवामा के कसरी सहुलियत दिलाउन सक्ने बारे छलफल गरिए पछि अस्पताल सञ्चालकले अस्पतालको ओपिडि टिकट तथा जाँच (विहान १० बजे देखी दिउँसो ३ बजेसम्म) निशुल्क गरिदिइने,सुगर परिक्षण निशुल्क गरिदिईने,अन्य प्रयोगशालाको जाँचमा १५ प्रतिसत छुट,अस्पतालद्धारा गरिने अप्रेसन सेवाहरुमा १० प्रतिसतसम्म छुट र मुटुको भिडियो एक्सरेमा १० प्रतिसतसम्म छुट गरिदिइने जानकारी गराएको छ ।


सो अस्पतालले वार्ड कार्यालयलाई लिखित पत्राचार नै गरेर आस्पतालबाट गरिने छुट तथा सहुलियबारे जानकारी गराएको वार्ड अध्यक्ष न्यौपानेले जानकारी गराए । वार्डमा सरकारी स्तरको स्वास्थ्य सस्था नहुनु र निजी अस्पतालले दिइन भनेको सहुलियतपुर्ण सेवाले वार्डका जनतालाई थोरै भए पनि राहत पुग्ने उनको भनाई थियो । यता अस्पतालका सञ्चालक बलिराम कोईरीले अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत प्रदान गरिदै आएको सेवाबाटै अस्पताल रहेको वार्डका सम्पुर्ण बासिन्दालाई लागु हुने सो सेवा प्रदान गर्ने बताए । वार्ड अध्यक्षको आग्रहमा हाललाई उपलब्ध गराउन सकिने सेवाबारे जानकारी गराइएको छ, उनले भने, भविष्यमा अन्य थप सेवाहरुलाई निशुल्क र सहुलियतपुर्ण बनाउदै लैजाने लक्ष्य पनि रहेको छ ।
वार्ड कार्यालयले आफ्नै वार्डमा रहेका निजी स्तरका संघसस्थासँग पहल गरेर आफ्ना नागरिकलाई सेवामा निशुल्क र सहुलियत दिलाउन सक्नु उदाहरणिय कार्य भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यस्ता देश भरि नै विभिन्न निजी स्तरका अस्पताल,शैक्षिक सस्था लगायतका संँस्थाहरु रहेका छन्,उनले भने, ति सस्थाहरु पनि कुनै न कुनै वार्डमा रहेका छन्,ति वार्डका वार्ड अध्यक्षहरुले पनि निजी सस्थाबाट के कस्ता सहुलियत गराउन सक्छन ? त्यसको उदाहरण पनि हुन सक्छ । अन्य वार्ड अध्यक्षहरुले पनि अस्पताल र स्वास्थ्य सस्थासँग स्वास्थ्य सेवा,शैक्षिक सस्थासँग शैक्षिक सेवा वा अन्य निजी उद्योगबाट समाजिक अन्य सेवाहरुका लागि पहल गर्न सक्ने उनको भनाई रहेको थियो ।
रामग्राम नगरपालिकाको १८ वटै वार्ड मध्ये वार्ड नं.३ र वार्ड नं.५ मा नगरपालिकाको स्वास्थ्य सस्था छैन । तर वार्ड नं.३ मा निजी स्तरको इभरग्रिन ५० सैयाको अस्पताल रहेको छ । त्यसै गरि वार्ड नं.५ मा पनि सरकारी स्तरकै पृथ्वीचन्द्र जिल्ला अस्पताल रहेको छ । निजी स्तरका इभरग्रिन अस्पतालले जसरी वार्ड नं.३ का बासिन्दालाई सकेको निशुल्क र सहुलिय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ,त्यसै गरि सरकारी अस्पतालले पनि वार्ड नं.५ का बासिन्दालाई सकेको सेवा निशुल्क गर्दा वार्ड नं.५ का बासिन्दालाई पनि राहत पुग्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *