नवलपरासी,२६ असोज,
जिल्लाको रामग्राम नगरपालिकाले नगरका करदाता ब्यवसायि र नागरिकलाई करदाता शिक्षा कार्यक्रमको आयोजना गरि सचेतना कार्य थालेको छ । करदातालाई करबारे आवश्यक जानकारी गराउने उदेश्यले करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
प्रत्येक वार्डबाट ६ जनाका दरले उद्यमी ब्यवसायि,किसान र संघसस्थाका प्रतिनिधि गरि सहभागि गराई कर शिक्षा कार्यक्रम गरिएको नगरपालिकाको राजश्व शाखाकी प्रमुख निर्मला प्रजापतिले बताईन् । कर शिक्षा कार्यक्रम गर्ने गरि नगरसभाले नै कार्यक्रम राखेको हुदा कर शिक्षा कार्यक्रम शुरु गरिएको उनले बताईन् । संविधान र कानुन प्रदत्त अधिकारको प्रयोग गरि नगरपालिकाले नगरक्षेत्रमा कर उठाउने गरेको र उठेको कर कसरी जनताका लागि विकास निर्माण,सेवा प्रवाह र दैनिक प्रशासनमा खर्च हुने गरेको बारे जानकारी गराइएको थियो । करदाता शिक्षाका स्रोत ब्यतिm लेखा शाखाका लेखापाल सञ्जय शर्माले संघ,प्रदेश र स्थानिय तहले लगाउने करको क्षेत्र,दायराबारे जानकारी गराएका थिए ।
तिनवटै सरकारले कुन कर कुन तहले लगाउने भन्नेबारे संविधानको अनुसुचि र स्थानिय तह सञ्चालन ऐन को अधिनमा रही नगरपालिकाले करको तर्जुमा गर्ने गरेको छ । नगरसभाले अनुमोदन गरे पछि मात्र कर लगाउदै आएको छ । उनका अनुसार नेपालमै एकिकृत सम्पति करको अवधारणा रामग्राम नगरपालिकाले २०५५ सालमा ल्याएको थियो । जुन अवधारण अहिले देश भरि लागु भएको समेत उनले जानकारी गराएका थिए । करबाट उठेको राजश्वको समुचित र सहि प्रयोग हुनु पर्ने नगरपालिकाकी उपप्रमुख(उपमेयर) सम्झना चौधरीले बताएकी थिईन् । करदता शिक्षा जानकारी मात्र होईन्,उनले भनिन,शिक्षाको क्रममा जनताले उठाउने सवाल र सुझावलाई पनि अगामी दिनमा मनन गरिने छ ।
करको दर भन्दा दायरा बढाउने नीति अनुसार नै नगरपालिकाले काम गर्दै आएको उनको भनाई थियो । कर तिर्नु पर्छ भनेर भावना जागृत गर्नका लागि यो कर शिक्षा राखिएको हो । कर कानुन सम्मत हुन्छ । बेलामा कर नतिर्दा पछि ठूलो धनरासी जरिवानामा तिर्नु पर्ने बाध्यता पनि रहेको छ । त्यसको लागि पनि कर शिक्षा आवश्यक रहेको हुदा नगरपालिकाले नगरबासी तथा उद्यमी ब्यवसायि विच करदाता शिक्षा ल्याएको उनले जानकारी गराएकी थिईन् । करदाता शिक्षा कार्यक्रमका सहभागिले नगरपालिका कर उठाए पनि प्रभाकारी सेवा नभएको गुनासो समेत गरेका थिए । छाडा चौपायाको ब्यवस्थापन,मरेको चौपाया ब्यवस्थापन,मृत मानिसको सव जलाउने उचित मसानघाटको ब्यवस्थापन जस्ता सेवा ब्यवस्थित गर्नु पर्ने पनि सुझाव दिएका थिए ।