नवलपरासीमा उद्योग ब्यवसाय खुल्ने क्रम बढ्दा रोजगारीमा वृद्धि

नवलपरासी,१२ साउन
विगत बर्ष भन्दा अहिले जिल्ला भित्र उद्योग स्थापना हुने क्रम बढदै गएको छ । स्थानिय स्तरमै लगानी गर्ने र स्वरोजगार बन्ने क्रमले पनि उद्योग स्थापना हुने क्रम बढेको र यस्ले रोजगारी वृद्धि समेत गरेको हो ।
विगत बर्षका तुलनामा अहिले उद्योग ब्यवसाय दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जानकारी गराएका हो । उद्योग ब्यवसाय गराउनमा महिला उद्यमीको पनि संख्या उल्लेख्य रुपमा बढेको छ । गाउ गाँउमा बजारीकरणसँगै उद्योग ब्यवसाय दर्ता हुने क्रम बढेको कार्यालय प्रमुख उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी गराए । उद्योग ब्यवसाय दर्ता गराई स्वरोजगार हुने क्रम बढेको छ,यसले स्थानिय स्तरमा स्वरोजगार र रोजगारीको वृद्धि समेत गरेको छ । विभिन्न क्षेत्रबाट उद्योग ब्यवसायमा उत्पे्ररित गर्ने कार्य हुदा पनि उद्योग ब्यवसाय दर्ता गराउनेको संख्या बढेको उद्योग अधिकृत पाण्डेयको भनाई छ ।
उनका अनुसार गत आर्थिक बर्ष २०७८÷०७९ भित्र कुल १ हजार ४ सय ५ वटा उद्योग थपिएका छन् । ति मध्ये १ हजार ३ सय ८२ वटा प्राईभेट फर्म रहेका छन् । १३ वटा साझेदारी र १० जटा प्रा.लि.को रुपमा उद्योग थपिएको उद्योग अधिकृत पाण्डेयले जनाए । अहिले नयाँ उद्योग दर्ता मात्र नभई पुराना उद्योगहरु पनि नविकरण गराउदै सञ्चालन प्रकृयामा आएका छन् । उद्योग दर्ताका लागि सरकारले छुट दिएका कारण पनि नयाँ उद्योग थपिएको उद्योग अधिकृत पाण्डेयले बताए । कोभिड महामारीका बेला धेरै उद्योग बन्द हुने र नविकरण नहुने अवस्था थियो, उनले थपे, तर अहिले अवस्था समान्य बन्दै जादा उद्योग दर्ता र नबिकरणको संख्या बढेको छ । यसले स्थानिय युवा युवती उद्योग ब्यवसायमा संलग्न हुने,स्वारोजगार हुने वा रोजगारी प्रदान गर्ने अवस्थालाई चित्रण गर्छ ।
कार्यालयको तथ्याँक अनुसार गत अािर्थक बर्षमा ३ सय १३ वटा उद्योग नविकरण भएका छन् । ६६ वटा नामसारी भएका छन् । १ सय ३० वटा उद्योगले काम गर्ने उदेश्य थप गराएका छन् । १ सय ५४ वटा उद्योगले पुँजीवृद्धि गराएका छन् । ११ वटा उद्योगले नाम सँसोधन गराएका छन् । ३२ वटाले प्रतिलिपि लिएका छन भने ७१ वटा उद्योगहरु खारेज पनि भएका छन् । यसरी उद्योग खारेजीको तुलनामा नबिकरण र नयाँ दर्ता संख्या धेरै देखिदा उद्योग तर्फको प्रतिगति उत्साह जनक भएको उद्योग अधिकृत पाण्डेयको दाबी छ । स्थानिय युवा युवतीलाई उद्योग खोल्ने प्रति उत्साही बनाएको छ । उनका अनुसार उद्योग दर्ता निशुल्क भए पनि नबिकरण,नामसारी र पुजिँबृद्धिबाट उद्योग तर्फबाट मात्र ३० लाख १० हजार ३ सय रुपिया राजश्व समेत संकलन भएको छ ।
त्यसैगरि बाणिज्य तर्फ पनि प्रगति राम्रो भएको कार्यालयको तथ्याँकले देखाएको छ । गत आर्थिक बर्षमा १ हजार ८० वटा ब्यपारिक फर्म दर्ता भएका छन् । जस्मा १ हजार ७२ वटा प्राईभेट फर्म र ८ वटा साझेदारीमा रहेका छन् । विगतमा दर्ता भएका कुल ६ सय ४६ वटा फर्म नविकरण भएका छन् । २१ वटा नामसारी,३४ वटा ठाँउसारी गराएका छन् । १ सय ५२ वटा ब्यपारिक फर्मले उदेश्य थप गराएका छन् । त्यसै गरि ब्यपारिक फर्म मध्ये १ सय ५४ वटाले लगत कट्टा गराएका छन् । २० वटाले नाम संसोधन,७९ वटाले प्रतिलिपि लिने र ३ सय ४९ वटाले पुँजि वृद्धि गराएका छन् । बाणिज्य तर्फको फर्मबाट कुल ८७ लाख ४० हजार २ सय ८९ रुपिया राजश्व संकलन भएको छ । यसैगरि ११ पटक बजार अनुगमन गर्दा २० हजार जरिवाना समेत असुल गरेको छ, यसरी घरेलु तथा साना उद्योग कार्यालयले गत आर्थिक बर्षमा कुल १ करोड १७ लाख ७० हजार ५ सय ८९ रुपिया राजस्व संकलन गरेको छ । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएको मालबस्तु १ लाख १९ हजार ४ सय ४५ बराबरको नष्ट गरिएको उद्योग अधिकृत पाण्डेयले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *