नवलपरासी,१७ चैत्र
जिल्लाको सरावल गाउपालिकाले माध्यमिक तह सञ्चालन गर्दै आएका सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएको छ । गाउपालिकाका अध्यक्ष राधेश्यम चौधरीले एक कार्यक्रमको आयोजना गरि गाउपालिकाको बसन्त मावि बासालाई सो बस हस्तानान्तरण गरेका हुन् ।
विद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि पुर्वाधार विकाससँगै आधुनिक परिवेश अनुसार टाढा टाढाबाट आउने स साना बालबालिकालाई विद्यालय आउन सहज होस भनि बस उपलब्ध गराउदै आएको अध्यक्ष चौधरीले बताए । विगत तिन बर्ष देखी प्रत्येक बर्ष एक विद्यालयलाई बस उपलब्ध गराउदै आएकोमा यो तेश्रो बर्ष बसन्त माविले बस पाएको उनले बताए । पहिलो बर्ष आदर्श मावि खोखरपुरा,दोश्रो बर्ष जनता मावि मनरी र अहिले तेश्रो बर्ष बसन्त माविले बस पाएको हो । अगामी दिनमा गाउपालिकाक अन्य माध्यमिक तहलाई बस उपलब्ध गराउने योजना रहेको छ,उनले भने,गाउपालिकाले यसलाई निरन्तरता दिदै जाने छ । गाउपालिकामा जनता मावि भुजहवा,महेन्द्र जनता मावि गडौरी र महेन्द्र मावि सरावल तिन वटा बस पाउन बाकी माध्यमिक विद्यालय रहेका छन् ।
माध्यमिक तहमा उपल्लो कक्षामा विद्यार्थीहरुको संख्या धेरै भए पनि तल्लो तहमा विद्यार्थी कम हुने गरेका थिए । अहिले जुन जुन विद्यालयमा बस उपलब्ध गराईएको छ, ति विद्यालयमा तल्लो तहमा पनि विद्यार्थी बढदै गएका छन् । बस प्राप्त भए पछि शिक्षक,अभिभावक र विद्यार्थी समेत उत्साही भएको विद्यालयका प्रधानाध्यापक गोबिन्द गौतमले जानकारी गराए । सामुदायिक विद्यालयसँग साधन स्रोत नहुने र नजिकैका निजी विद्यालयहरुले बसमा बिद्यार्थी चढाएर लैजादा बसका कारण पनि केही विद्यार्थी निजी तर्फै आकर्षित हुने गरेका थिए । अहिले सामुदायिक विद्यालयहरुले पनि निजी सरह विद्यालय बस राख्ने अग्रेजी माध्यममा अध्यापन गराउन थाले पछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढदै गएको छ ।