
नवलपरासी, १४ मंसिर
पुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको छ । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको हो ।


उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा योगदान पुर्याउदै यो राजधानी क्षेत्रलाई पहिचानको सुत्रधार बनेका पुरातत्वका जानकार नारद यादवलाई समेत सम्मान गरिएको उनले बताएका थिए ।
संस्कृति र सम्पदा संरक्षणमा जनप्रतिनिधिहरु उदासिन देखिएको हुदा नागरिक स्तरबाट भए पनि संस्कृति र सम्पादाको संरक्षण आवश्यक रहेको औल्याएका थिए । सोही आवश्यकतालाई मध्यनजर गरेर आफुले यो संस्कृति सम्पदा संरक्षणका लागि महाभियान चलाएको छु,उनले भने, यो अभियानमा जो सुकै ब्यतिm र संघसस्था सहभागि भएर अभियानलाई सार्थक बनाउन सक्छन् । यसका लागि उनले सबैलाई आह्वान समेत गरेका थिए । महाअभियानसँग नागरिक समाज नवलपरासी तथा परासी प्रेस क्लब समेत सहकार्य गरि काम गर्दै आएको बताएका थिए ।
सम्मान कार्यक्रमको प्रमुख अथितीको मन्तब्य राख्दै त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास सस्कृति तथा पुरातत्व विभागका प्रमुख डा.महेश अचार्यले महाअभियानको लक्ष्य समय सापेक्ष रहेको र गर्दै आएको कार्यको प्रशंसा गरेका थिए । स्थानिय नागरिकहरुले पुरातत्व स्थल,बस्तु तथा समाजमा रहेका संस्कृति बचाएर राख्नु पर्ने औल्याएका थिए । हाम्रो इतिहास,परम्परा,संस्कार,संकृति तथा पुरातत्विक स्थान र बस्तु हाम्रा गहना हुन्,यसलाई बचाएर जोगाएर राख्न आवश्यक छ । यसका लागि सरकारले नीतिगत ब्यवस्था गरेर संरक्षण गर्नु पर्ने उनको भनाई थियो । उत्खनन कार्य विस्तारै विस्तारै अध्ययन गर्दै गर्नु पर्ने हुन्छ,हतार हतारमा उत्खनन गरेर देखाई हाल्दा पनि पुरातात्विक बस्तु नष्ट हुन सक्ने हुदा यसका लागि स्थानियले धैर्य समेत राख्नु पर्ने उनले औल्याएका थिए ।
कार्यक्रमको सञ्चालन परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेलले गरेका थिए । कार्यक्रम माथि प्रकाश तथा स्वागत नागरिक समाजका अध्यक्ष समेत रहेका पत्रकार बेचु गौडले गरेका थिए,भने कार्यक्रमको अन्यमा धन्यवाद प्रेस क्लबका सल्लाहकार टिकाराम गैरेले गरेका थिए । उतm कार्यक्रममा स्थानिय समाजसेवी महिला नेतृ शोभा चौधरीले पनि आफ्ना धारणा राखेकी थिईन् । कार्यक्रम विशुद्ध नागरिक स्तरबाट गरिएको हुदा सो कार्यक्रममा कुनै पनि राजनीतिक नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थिएन ् ।
उत्खननमा प्राचीन शहर(सिटी)का भग्नावशेषहरु भेटिन थालेको छ । विगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको विभागको टोलीले उत्खनन गर्दा प्राचीन इनार तथा इनार नजिकैका भवन पुर्वाधारहरु देखिन थालेका हुन् । सम्भवतःभेटिने बस्तिको पर्खाल,इट कुषणकालको हुन सक्ने उत्खननकर्ताहरुको भनाई रहेको छ । भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खननले प्राचीन पुर्वाधारहरु भेटिन थाले पछि उत्खननमा लागेको टोली उत्साही भएको छ । पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको २५ गते देखी उत्खनन टोलीले उत्खनन कार्य शुरु गरेको थियो ।
केही बर्ष पहिला पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत बर्षमा नै भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, । सो प्रतिवेदनको आधारमा निरन्तर उत्खनन भई रहेका छन् । गत बर्ष पनि उत्खनन गर्न थालिए पछि पुर्वाधार भेटिएको थियो । अहिले पनि भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । बुद्धको मावली र उनकी पत्नि यशोधराको जन्म स्थल भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको माग सँगै अन्य देशी विदेशीहरुले समेत चाँसो ब्यतm गर्दै आएका छन् ।
कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरुकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रुपमा बचाई राख्नका लागि कोलियहरुको ठूलो योगदान हुनु पर्छ । त्यसै गरि राजधानी क्षेत्रलाई विभिन्न कालखण्डमा देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरुको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।

