
नवलपरासी, १२ बैशाख
कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा यस बर्ष दोश्रो चरणको उत्खनन कार्य सम्पन्न भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले करिब एक महिना लगाएर दोश्रो चरणको उत्खनन कार्य सम्पन्न गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको थियो । सो उत्खनन कार्य एक महिनासम्म चलेको उत्खनन कार्यमा संलग्न रहेका पुरातत्वका स्थानिय जानकार नारद यादवले रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरलाई जानकारी गराएका थिए । यो उत्खननले भुभौतिक सर्वेले पहिचान गरिएको स्थानलाई थप प्रस्ट्याएको छ । अब सबै पुरातत्वीक क्षेत्रको जग्गाको लगत विवरण तयार गरि पुरातत्व विभागमा रामग्राम विकास कोष र नगरपालिकाले पठाउन आवश्यक देखिएको छ । लगत अनुसार विभागले नेपाल सरकारसँग जग्गा अधिग्रहणका लागि आवश्यक बजेट माग गर्न सक्छ, ।
पछिल्लो उत्खननमा पोखरी नजिकै एउटा ट्रेन्च लगाई उत्खनन गरिदा हट्टिहरु,धनुबाणमा प्रयोग हुने खालको हाडकै हरियार समेत फेला परेको छ । आर्को टे्रन्चमा प्राचीन इटहरु रहेको पर्खाल जस्तै संरचना भेटिएका छन् । गत पुसमा उत्खननले महत्वपुर्ण समाग्रिहरु फेला परेका थिए । नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको थियो । यसले उत्खनन टोलीलाई पनि उत्साही बनाएको थियो । स्थानियबासीमा पनि उत्साह थपेको छ, । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानिय सरकारले पनि योजना बनाई काम गर्नु पर्छ । पुरातत्वविद ज्ञवालीका अनुसार भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको छ । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा महत्वपुर्ण सिटी रहेको पुरातत्व विदहरुको भनाई रहेको छ ।


विगतमा ६ सय मिटर लम्बाई ६ सय मिटर चौडाई क्षेत्रफल अनुमान गरिएको थियो,तर अहिले सो क्षेत्र विस्तार हुदै १ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई भएको अनुमान गरिएको छ । विगत बर्षमा पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । बुद्धको मावली भएको उक्त स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै युनेस्को लगायत अन्य देशी विदेशीहरुले समेत चाँसो बढदै गएको उनले जानकारी गराएका थिए ।
कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरु फेला परेका छन् । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तले पनि यो कोलिय गणराज्यको राजधानी भएको आाधार भई सकेको छ ।