नवलपरासी,२३ भदौ
जिल्लाको प्रतापपुर गाउपालिकाबाट विदेशिएका नेपालीबाट गाउपालिका भित्र बार्षिक ३८ करोड रेमिटान्स भित्रिने गरेको छ । बैदेशिक रोजगारीको क्रममा विदेशिएका युवाहरुले आर्जन गरेर रेमिटान्सको रुपमा सो रकम पठाउने गरेका हुन् ।
रेमिटान्सले अर्थतन्त्रमा बजार सन्तुलन मिलाउदै आउने क्रममा प्रतापपुरबाट विदेशिएका नेपाली युवाले सो रकम गाउपालिका भित्र पठाउने गरेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । स्वदेशमा रोजगारी समस्या हल गर्न नसक्दा स्थानिय युवा विदेशिने गरेका छन्,उनले भने, गाउपालिका भित्र करोड रकम भित्रिने गरिएको भए पनि दिगो विकासलाई त्यसले सहयोग नपुर्याउने हुदा फर्कने युवालाई स्वदेशमै रोजगारी ब्यवस्था मिलाउनका लागि गाउपालिकाले रणनीतिक तयारीमा लागेको बताए । गाउ घरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय विदेशिएका थिए । जसमा १ हजार ४ सय जना फर्केका छन्,अहिले पनि १ हजार ७ सय जना विदेशमै रहेको तथ्याँक उनले जानकारी गराएका थिए । विदेशबाट फर्कनेलाई स्वदेशमै कसरी रोजगारी दिन सकिन्छ ? त्यसको लागि विज्ञहरुसँग परामर्श गरि योजना बनाउने कार्यमा गाउपालिका लागेको उनको भनाई थियो ।
कृषिमा मात्र आधारित रहेको गाउपालिकामा उन्नत निर्यातजन्य कृषि उत्पादनमा जोड दिएर त्यसमा युवाहरुलाई परिचालन गर्न सक्ने र गण्डक नहर क्षेत्रमा र्याफ्टिगँ लगायत पर्यटन ब्यवसाय र त्सससँग मिल्दोजुल्दो कार्यक्रमका लागि योजना गाउपालिकाले बताउदै गरेको छ । आत्मनिर्भर र निर्यातमुखी उत्पादन तथा पर्यटन ब्यवसायबाट बाहिर आयआर्जनको माध्यम बनाउन सकिन्छ,अध्यक्ष यादवले भने, अनि मात्र विदेशिएका युवालाई स्वदेशमा रोजगारीको अवस्था सृजना गरि टिकाउन सकिन्छ । यो चुनौती पुर्ण कार्य छ,उनले थपे,तर असम्भव पनि छैन् । धैर्यताका साथ युवाहरुले पनि काम गर्नु पर्छ ।