नवलपरासी,११ भदौ,
रामग्राम नगरपालिकाले परासी बजारलाई सप्ताहिक रुपमा अभियानमुखी सरसफाईको शुभारम्भ गरेको छ । नेपाली सेना,प्रहरी स्थानिय संघसस्थाको समन्वयमा शनिवार बजार सफाई गरि सो अभियान शुरु गरिएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी गराएका हुन् ।
प्रत्येक शनिवारलाई अभियानमुखी तरिकाले परासीबजारलाई सफाई गरिने छ । दैनिक फोहोर उठाउने कार्य नगरपालिकाले गराउदै आए पनि बजारको सडक लगायत अन्य सार्वजनिक स्थलहरुको सफाई अभियान साप्ताहिक रुपमा गर्दै लैजाने लक्ष्य अनुसार कार्यक्रमको शुभारम्भ गरिएको हो । यस अभियानमा नेपाली सेना र नेपाल प्रहरीको सहयोग रहने छ,उनले भने, यसमा स्थानिय संघसस्था समेतको सहभागिता हुन्छ । स्थानिय नगारिकहरु आफै पनि यो अभियानमा सरिक हुन सक्छन् । यसले सामुहिक रुपमा सफाई गर्ने र सफा स्वच्छ नगर राख्न सन्देश प्रभाव गर्ने छ । यसको सिको नगरपालिका क्षेत्र भित्रका पटखौली,उजैनी,मंझरिया,नदवा,हकुई,पिपरहिया लगायतका बजार क्षेत्रमा पनि पर्ने उनको भनाई थियो ।
शनिवार बुद्धचोक देखी लोकतान्त्रिक चोकसम्म दुबै किनारमा रहेका झाडी,सडक पेटी,डिभाईडर र सडकको समेत सफाई गरिएको थियो । धुलोमुक्त नगर अभियान अन्तरगत नै यो साप्ताहिक सफाई अभियान रहेको नगरपालिकाले जनाएका छ । कार्यक्रममा नगरपालिकाका कर्मचारी समेतको सहभागिता रहेको थियो । विगतमा शनिवार भन्ने वित्तिकै विदामा बस्ने नगरपालिकाका धेरै जसो कर्मचारी मेयर यादवसँगै सफाई अभियानमा जुटेका थिए । नगरपालिकाका कर्मचारी कार्यालय समयमा कर्मचारी हुन,बाकी समय नगरबासी पनि हुन्,यो मान्यता समेत शनिवारको सफाई अभियानले पुष्टि गर्नेछ ।