
सुकरात गाैड
परासी, फागुन २०,
सरावल गाउँपालिका वडा नं ५, धनगडवामा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ब्रिटिश काउन्सिल र दलित लाइभ्स म्याटरको सहयोग तथा लिगल एड एन्ड रिसर्च सेन्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २५ जना स्थानीय महिला तथा युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जलवायु परिवर्तनका मुख्य कारणहरू, प्रभावहरू तथा समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो। वातावरणीय प्रदूषण, वन विनाश, औद्योगिक उत्सर्जन, प्लास्टिकजन्य फोहोरको बढ्दो प्रयोग, र अत्यधिक कार्बन उत्सर्जन जलवायु परिवर्तनका मुख्य कारण रहेको सहभागीहरूले औंल्याएका थिए।
जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा असर पर्ने, जमिनको उर्वराशक्ति कमजोर हुने, पानीका स्रोतहरू सुकेर खानेपानीको अभाव बढ्ने, अनियमित मौसमी चक्रले बाढी, खडेरी, चट्याङ, अत्यधिक गर्मी वा चिसो जस्ता चरम मौसमी घटनाहरू निम्त्याउने, जैव विविधतामा नकारात्मक असर पर्ने तथा मानव स्वास्थ्यमा श्वासप्रश्वासजन्य रोगहरू तथा अन्य संक्रमणहरू बढ्ने जस्ता समस्याहरू देखा पर्ने निष्कर्ष निकालिएको थियो।
समाधानका उपायहरूका रूपमा वृक्षारोपण तथा वन संरक्षण अभियानलाई प्रवद्र्धन गर्ने, प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्दै पुनः प्रयोग तथा रिसाइकल प्रविधि अपनाउने, सार्वजनिक स्थान तथा खोलानालाहरू सफा राख्न सामुदायिक स्तरमा पहल गर्ने, जैविक इन्धन तथा नवीकरणीय ऊर्जा स्रोतहरूलाई प्रवद्र्धन गर्ने र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्दै स्थानीय समुदायलाई समाधानमुखी कार्यमा संलग्न गराउने सुझावहरू प्रस्तुत गरिएको थियो।
यस अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय महिला तथा युवाहरूले जलवायु परिवर्तन नियन्त्रणका लागि सामूहिक वृक्षारोपण अभियान सञ्चालन गर्ने, प्लास्टिक तथा अन्य प्रदूषक पदार्थहरूको प्रयोग न्यूनीकरण गर्ने, र सरसफाइ तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। “स्थानीयस्तरबाटै साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। वृक्षारोपण, सफाइ अभियान, र जनचेतना कार्यक्रमहरूले वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेल्छन्,” कार्यक्रमका सहभागी सन्नी गौड बताएका छन्।
यस अन्तरक्रिया कार्यक्रमले स्थानीय समुदायलाई जलवायु परिवर्तनसम्बन्धी जानकारी प्रदान गर्नुका साथै यसको असर न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्ने अवसर दिएको आयोजकहरूले बताएका छन्।