एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् ।त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।
नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पनि पुनःस्थापना गरिएको थियो । हाल नेपाल सहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समुह छन् । एम्नेष्टीले मुख्यतया कुनैपनि विषयमा अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्ने गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो ।