शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका

नवलपरासी,१३ मंसिर
नेपालकै पहिलो बालमैत्री घोषणा नगर घोषणा गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले शिक्षा क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएको छ । सामुदायिक विद्यालयका शैक्षिक अवस्था दयनिय रहेको बदनामी हुदै आए पनि सुनवल नगरपालिकाले त्यो बदनामीलाई चिर्ने गरि प्रयासरत छ । त्यसको प्रत्यक्ष उदाहरण र अनुरणिय अभ्यास प्रत्यक्ष देख्न र हेर्न पाईन्छ । शिक्षा क्षेत्रकै कृयाशिलताले बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको समेत नगरपालिकाका बालकल्यण अधिकारीका जिम्मेवारी पाएका तत्कालिन बालमैत्री घोषणा कार्यक्रमका संयोजक रेशम शर्मा बताउछन् ।
बालमैत्री बनाउनमा शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो योगदान रह्यो,उनि भन्छन्,त्यसमा पनि विद्यालय र शैक्षिक क्षेत्रको योगदान अतुलनिय रह्यो । नगरपालिकाको शिक्षा शाखा र नगरका विद्यालयहरु बालमैत्री बनाउनमा लागि परेका थिए । त्यो अभियानले नै अहिले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । नगरपालिकाले बालमैत्री घोषणालाई कायम राख्न शिक्षा क्षेत्रमा लगानी पनि थपिदै जानु र शिक्षक अभिभावकको उत्साहपुर्ण कृयाशिलता शैक्षिक सुधारको आधार बनेको छ ।
बर्षेनी शिक्षा क्षेत्रमा नगरपालिकाले बजेट विनियोजन गर्दै सहभागिता बढाउदै जादा स्थानियको पनि शैक्षिक क्षेत्रमा लगानी बढन थालेको शर्मा स्वीकारर्छन । सुनवल अहिले शैक्षिक क्षेत्रमा संख्यात्मसँगै गुणात्मक वृद्धिमा अभ्यासरत छ, उनी भन्छन्, यसको श्रेय शिक्षा शाखा र विद्यालयका शिक्षक,अभिभावक विद्यार्थी र नागरिक समाजलाई पनि जान्छ । शिक्षा शाखाका अनुसार भौतिक पुर्वाधारमा पनि कम छैन् । नगरभित्र कुल ३२ वटा सामुदायिक विद्यालय छ ।
वि.सं.२०७४ सालमा शिक्षक स्थाई १ सय २७ जना,राहत करार ९३ जना र निजी स्रोतका १ सय ५३ जना गरि कुल कुल ३ सय ७३ जना शिक्षक थिए । तर अहिले वि.सं.२०७८सम्ममा आई पुग्दा १ सय ४९ स्थाई,करार राहत १ सय ३९ जना र निजी स्रोतका २ सय ६३ जना भएका छन् । कुल ५ सय ५१ जना शिक्षक संख्या पुगेको छ । नगरपालिका मातहत शिक्षा क्षेत्र आए पछि १ सय ७८ जना शिक्षक संख्या थप भएका छन् ।
त्यसैगरि वि.सं.२०७४ सालमा १ सय १९ वटा भवनका ४ सय ५१ वटा कक्षा कोठा थियो । अहिले पाँच बर्षको अन्तरालमा १ सय ५४ वटा भवनका ६ सय ४३ वटा कक्षा कोठा थपिएका छन् । ३५ वटा विद्यालय भवन थपेर १ सय ९२ वटा कक्षा कोठा थपिएकाछन् । क्रमशः सौचालय पहिला १ सय १२ वटा थियो । त्यसमा ६३ वटा थपिएर अहिले १ सय ७५ वटा सौचालय भएको छ । विद्यालयमा कम्प्युटर प्रयोगशाला २०७४ सालमा १० वटा थियो,अहिले १६ वटा विद्यालयमा थपिएर २६ पुर्याइएको छ । विज्ञान प्रयोगशाला पहिला ५ वटा विद्यालयमा थियो,अहिले १० वटा विद्यालयमा थप गरेर १५ वटा विद्यालयमा पुर्याइएको छ ।
पहिला जम्मा १९ वटा पुस्तकालय थियो,अहिले १४ वटा थपेर ३३ वटा पुस्तकालय बनाइएको छ ।
यातायातमा २०७४ सालमा एउटा विद्यालयमा मात्र एउटा बस थियो,अहिले ८ वटा विद्यालयमा १० वटा बस र ११ वटा इरिक्सा गरि कुल ३० वटा यातायातका साधन थपिएका छन् । २०७४ सालमा २ सय ९९ वटा कक्षा कोठा रंग लगाइएको थियो ,अहिले प्राय सबै कक्षा भवनका कक्षा कोठा कुल ५ सय ५१ वटामा प्लाष्टर र रंग समेत लगाई सकेको छ । अधिकाँस विद्यालय बन्द कम्पाउण्ड बनि सकेका छन् । नगरपालिका भित्र देवकोटा माविमा अटोमोबाईल सिकाउने र रमवापुर माविमा कम्प्युटर सिकाउने गरि सिटिइभिटीको प्राविधिक शिक्षालय सञ्चालनमा छन् । नेपाल सरकारको प्राविधिक धारको जनसेवा माविले इन्जिनियरिँग अध्ययन समेत सञ्चालन गर्न थालेको छ । यो सबै उपलब्धी स्थानिय तहमा शिक्षाको अधिकार प्राप्त भए पछिको हो । शिक्षा शाखाका अधिकृत पशुपति भट्राईले भने, जिल्लामै शैक्षिक सुधारमा फड्को मार्ने पालिका मध्येको सुनवल पालिका नै हो ।
शिक्षा शाखाले नै प्रोत्साहन गर्दा अहिले राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि भरेका सबै विद्यालयले पार्न सफल भएको शिक्षा शाखामै कार्यरत रहेका शिक्षक रामप्रसाद ढकाल भन्छन्,विद्यालयमा भौतिक पुर्वाधारसँगै विद्यालय ब्यवस्थापन समितिमा बालक्लबका प्रतिनिधिको उपस्थिती,पुर्ण दण्ड रहित शिक्षा,नमुना बालविकास,५ वटा विद्यालयका बालविकास केन्द्रमा वाताअनुकुलित(एसी) सहितको कक्षा छ । नगरभित्रका सबै विद्यालय अहिले ७ कक्षासम्म सबै विद्यार्थी अंग्रेजी माध्यममै पठनपाठनको अवस्थाले छिमेकी रामग्राम नगरपालिका,पाल्हीनन्दन र सरावल गाउपालिकाका विद्यार्थीको समेत आकर्षण अहिले सुनवलका विद्यालयमा भर्ना हुने क्रम बढेको छ ।
उनी थप्छन,यस बर्षको एसइइ परिक्षा समेत ९ वटा विद्यालयका विद्यार्थीले अंग्रेजी माध्यममै दिएका थिए । यसरी शैक्षिक सुधारका लागि भौतिक संरचना मात्रै नभई गुणस्तरिय शिक्षालाई पनि प्राथमिकताका साथ अगाडी बढाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको आफ्नै नगरस्तरिय सञ्जाल गठन भएको छ । त्यसले पनि नगरको शैक्षिक सुधारको अभियान थालेको छ । अभिभावक,शिक्षकको कृयाशिलता र नगरपालिकाले लिएको शैक्षिक विकास प्रतिको उत्तदायित्वका कारण नगरको सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि भएर अनुकरणिय बन्दै गएको नगरशिक्षा अधिकारी विष्णु गोतामेको भनाई छ । शिक्षालाई नै प्राथमिकतामा राखेर काम गर्न थालिएको नगर उपप्रमुख सुर्य दुबे भन्छन्,नेपालमै शैक्षिक नमुनाको पालिका बन्न सक्छ,सुनवल नगरपालिका । शैक्षिक सुधारको गतिले पुरै नगर कार्यपालिकालाई हौस्याएको नगरप्रमुख बिमला अर्याल भन्छिन्,सबैले एक मत भएर काम गर्ने असम्भव भन्ने केही छैन्,जुन सुनवल नगरपालिकाका शिक्षक,अभिभावकले गरेर देखाएका छन्,त्यो अरुका लागि अनुकरणिय बन्न सक्छ ।
सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारका अभियानले नै अहिलेको एसईई परिक्षामा सहभागि विद्यार्थी ३.८८ जिपिएसम्म ल्याउन सफल भएका छन् । नगर भित्रका संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था अहिले सामुदायिक विद्यालयले पुर्याएका छन् । नगरपालिका भित्रका कुल ३२ वटा सामुदायिक विद्यालय मध्ये ८ वटा विद्यालयमा महिलाले नेतृत्व गर्नु पनि एउटा सफलताको कडि भएको नगरप्रमुख अर्याल बताउछिन् । जसमा जया प्राविमा विष्नु उप्रेती,अरनिको प्राविमा रिता गैरे,महलपोखरी प्राविमा यानिसरा ढेगाँ,जनज्योती प्राविमा राधिका अर्याल,बाल्मिकी प्राविमा सिता घिमिरे,चन्द्रोदय प्राविमा धममाया काफ्ले,निसानीदेवी प्राविमा बालकुमारी कुमाल र पञ्चरत्नप्राविमा विमला कुवँरको प्रधानाध्यापकको नेतृत्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *