
नवलपरासी,२ कातिक
जिल्लाको प्रतापपुर गाउपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात कर्मचारी सेवाबाट निस्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको गाउपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
सम्झौता रद्द हुनेमा सबै भन्दा बढि शिक्षा तर्फका कर्मचारी रहेका छन् । शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको पत्रकार सम्मेलनमा गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी गराएका थिए । उनीहरुको करार सम्झौता रद्द हुने कातिक १ गते देखी नै लागु हुने गरि गाउपालिकाले निर्णय गरेको उनले सुनाएका थिए । आन्तरिक स्रोत कम भएको र संघिय अनुदानबाट तलब सुविधा प्रदान हुदै आएका कारण अहिले संघिय सरकारले नै निर्णय गरि परिपत्र गरेका कारण सम्झौता रद्द गर्नु परेको अध्यक्ष यादवको भनाई थियो ।
गाउपालिकामा विद्यार्थी अनुपातमा शिक्षक सँख्या न्युन रहेकोले गाउपालिका अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम मार्फत गाउपालिकाले प्रावि तहमा ३० जना शिक्षक र ७ जना विषयगत शिक्षक परिचालन गर्दै आएको थियो । विद्यालय शुरक्षाका लागि २४ जना पाले पनि विद्यालयमा रहेका थिए । गाउपालिका भित्र रहेका ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिगँ सेन्टरमा कार्यरत ४ जना ल्याब असिस्टेन्ट र ७ जना स्वीपरको पनि करार सेवा रद्दा भएको छ । गाउपालिकाको आन्तरिक आय १ करोड ३० लाखसम्म मात्र हुने गरेको जानकारी गराइएको थियो ।