गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत

,३ कातिक
गजेन्द्रमोक्ष धामको रथयात्रा नवलपरासी जिल्ला सदरमुकाम परासी स्थित रामजानकी मन्दिर परिसरमा आए पश्चात स्वागत भब्य स्वागत गरिएको छ । मुस्ताङ देखि शुरु भएको गजेन्द्रमोक्षधाम यात्रा बागलुङ, पर्वत, स्याङ्जा, तनहु, कास्की, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देही हुदै पन्द्रौ दिनमा परासी आईपुगेको हो ।
कालिगण्डकी कृष्णअवतारको रुपमा दर्शन स्थापित गर्दै आएको गजेन्द्रमोक्षधामबारे आमजनमानसमा जागरण गरिनुका साथै हिन्दु परम्पराको अनुसरण गर्ने र गराउने उदेश्यले यस्तो यात्रा हुदै आएको छ । धामका पिठाधिस कमलनयनाचार्यको सो अभियानले बर्षाै देखी कृष्णगण्डकी भगवानको अवतार स्थापति गर्नमा अग्रसर हुदै विभिन्न धार्मिक कार्यक्रम र अनुष्ठान गर्दै आएको छ । सोही क्रममा सो यात्रा शुरु गरिएको धामका गुरुहरुको भनाई थियो । रथयात्राको रामजानकी मन्दिरमा स्थानिय जनप्रतिनिधि तथा भक्तजनले भब्य स्वागत गरेका थिए ।


विश्व शान्ति,राष्ट्रकल्याण र सनातन धर्म सस्कृतिको संरक्षण सम्बर्धन गर्ने उदेश्य लिई पिठाधिस कमलनयनाचार्यको सत्संकल्पमा मुक्तिनाथ धाममा चैत्र शुक्ल नवमी देखी बिजयादशमीसम्म महायज्ञ लगाइएको उनका उत्तराधिकारी कृष्णप्रपन्नचार्यले जानकारी गराएका थिए । परासी आएको उक्त रथयात्रा त्रिवेणीधाममा पुग्ने छ । कृष्णगण्डकी अवतारलाई सो मोक्षधामले तिब्बतको दामोदर कुण्ड देखी त्रिवेणीसम्म पुग्दा त्यसको सशरिरको ब्याख्या गरिने गरिएको छ । दामोदरकुण्ड उक्त कृष्णगण्डकीको शिश भएको,मुक्तिनाथ मुख,कागबेनी घाँटी,म्यादीको गलेश्वर वक्षस्थल,चितवन देवघाट कम्मर र त्रिवेणीधाम पाईताला रहेको छ । यस्को जुन सुकै स्थानमा स्नान र पुजापाठ गर्नाले पुण्डलाभ प्राप्त हुने र पुरै यात्रा पुरा गर्दा मोक्षको बाटो खुल्ने मान्यता रहेको छ ।


पौराणिककाल देखी नै यस्को विभिन्न स्थानका विभिन्न महत्वहरुलाई उल्लेख गरिएको छ । गजेन्द्रमोक्षधाममा गज अर्थात हाती र गोहीसँग युद्ध हुदा गजले गुहार लगाउदा भगवान विष्णु स्वम् अवतरित भई गोहीको बद्ध गरि गजलाई बचाएको पछि दुबैले मुक्ति पाएको मान्यता अनुसार परापुर्वकाल देखी गजेन्द्रमोक्ष धाममा मुक्तिका लागि तिर्थयात्रीहरु जाने गरेका छन् । संसारमा विष्णुको स्वरुप मानिएको शालिकग्राम पनि कालिगण्डकीमा मात्र पाईने र गण्डकीको पानी तिनै शालिग्रामसँग ठोकिदै बग्ने हुदा गण्डकीको जललाई मोक्षबाहिनी जलको रुपमा पवित्र मान्ने गरिएको छ ।
यस्ता विभिन्न सनातन धर्मसँग जोडिएको गण्डकी नदीलाई नै प्राचीन बौद्धकालमा अनोमा नदीको रुपमा रहेको मान्यता पनि छ । सिद्धार्थ गौतमले मानव सहित प्राणीले भोग्ने गरेको दु:खबाट मुक्ति पाउनका लागि गृहत्याग गर्दा अनोमा नदीमै पुगेर सन्यास धारण गरि मुक्तिका लागि ज्ञानको खोजी यात्रा शुरु गरेका थिए । जसलाई महाभिनिस्क्रमण स्थल भन्ने गरिन्छ । जिवन र भवचक्रबाट मुक्ति पाउने यात्राको शुभारम्भ नै अनोमा नदी अर्थात अहिलेको गण्डकी नदी नै भएकोले सनातन होस वा बुद्ध दर्शन दुबैले मुक्तिदाबी नदीको मान्यता रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *