नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस
115
नवलपरासी, विश्वब्यापी रुपमा भईरहेको जलबायु परिवर्तन सम्बन्धि बहस कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । असल छिमेकी नेपालद्धारा आयोजित सो बहस कार्यक्रममा जलबायु सम्बन्धि बहसहरु वार्ड देखी स्थानिय,प्रदेश र संघिय सरकारले गर्नु पर्ने भए पनि त्यस्तो बहस नभएको सहभागिहरुले बताएका हुन् । विश्वब्यापी समस्या जलवायु परिवर्तनबारे सरकारी गम्भिरता नभएको र अहिले गैरसरकारी सस्थाले ति काम गरिरहेको बताइएको थियो । संघिय संसदको राष्ट्रियसभा,प्रतिनिधिसभा,प्रदेश सरकारको प्रदेश सभा स्थानिय तहको नगरसभा र गाउसभामा यो बहसको आवश्यकता भएको तर ति कुरा एउटा गैससले गर्नु पर्ने नेपालको राजनीति प्रति नै प्रश्न उठेको थियो । अझ स्थानिय तहको नगरसभा र गाउसभा एक घण्टे कार्यक्रम हुने गरेको छ,त्यो पनि बजेट पास गर्नु पर्ने बाध्यकारी भएकोले तर जनताका सवाल र विश्वब्यापी समस्याबारे सोच्ने फुर्सद नै जनप्रतिनिधिसँग नभएको बताइएको थियो । जलवायु परिवर्तनले ल्याउने दैविप्रकोप र मानविय समस्याबारे चिन्तन र बहस गाँउ गाँउ टोल टोलसम्म पुर्याउनु पर्ने र अनुकुलन तथा न्युनिकरणको उपायबारे जनचेतना वृद्धि गरि आवश्यक ब्यवहार परिवर्तन गराउन आवश्यक रहेको सहभागिहरुले बताएका थिए । बहस समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले सरकारी निकायले दायित्व लिई गर्नु पर्ने कार्य गैरसरकारी सस्थाले गरेरको कार्य सराहनिय भएको बताए । यसलाई सरकारी निकायले बहस र कार्ययोजना बनाई लागु गराउनु पर्ने उनको भनाई थियो । असल छिमेकी नेपालले दैविप्रकोप क्षेत्रमा काम गर्दै आएको र नवलपरासीको सरावल तथा पाल्हीनन्दन गाउपालिकामा कार्यक्रम गर्ने गरेको छ । त्यसै गरि यस्ता बहस र जनचेतनाका थप कार्यक्रम गरि कार्ययोजना बनाउने जस्ता कार्य अगामी दिनमा सबै गाउपालिका र नगरपालिकामा गर्ने नवलपरासी हेर्ने परियोजना प्रमुख पुरन सोतीले जानकारी गराएका थिए । उनका अनुसार बहसमा सञ्चारमाध्यम,धार्मिक सस्था,समाजिक सस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।