नवलपरासी,
जिल्ला भित्रको मर्मत भईरहेको सुनवल—परासी—महेशपुर सडकको मर्मत गर्ने कार्य सडक डिभिजनले गर्दै आए पनि मर्मतको कार्य गुणस्तरहिन भई रहेको स्थानियले आरोप लगाएका छन् । सडक डिभिजनका प्राविधिक र ठेकेदारको मिलोमतोमा कमसल काम गरि करोडौ रकम भ्रष्टाचार भएको आरोप स्थानियबासीले लगाएका हुन् ।
सडकको दुबै किनारमा ग्रेडरले ताछ्दै कुनै कुनै स्थानमा चिरा परेको सडकमा बालुवा अलकत्रा हालेर ठेकेदार उम्किने अवस्था आएको स्थानिय रामकरन हरिजनले जनाए । काम भईरहेको स्थानमा सडक डिभिजनका प्राविधिकको उपस्थिती छैन्,उनले भने,कामदारहरुसँग सोधपुछ गर्दा हामीलाई केही थाहा छैन भन्दै आएका छन् । सडक मर्मतको लागि सडक डिभिजनले २० करोडको ठेक्का लगाएको बोर्ड गाडेको छ,तर मर्मत भित्र के कस्तो खालको काम हुने भन्ने कुरा उल्लेख छैन् । मर्मत शब्दले के बुझ्ने ? सडकको दुबै किनाराको घाँस फालेर सफा गर्ने मात्र हो ? कि सडकको बिच बिचमा परेको खाल्टाखुल्टी पुरेर मर्मत गर्ने हो ? वा पिचको पुरै भागलाई पुनःमाथिबाट पिच गर्ने हो ? त्यसको अवस्था नागरिकले कसरी थाहा पाउने ? सम्बन्धित नगरपालिकाका प्राािवधिकहरुलाई समेत यसबारे जानकारी छैन् ।
करोडौको ठेक्का लगाउने तर काम झारो टार्ने मात्रै भई रहेको छ , अनुगमन गर्ने निकाय कुन हो ? त्यसबारे कस्लाई सोध्ने होला ? उनले प्रश्न गर्दै भने,विगत बर्ष देखी नै मर्मतको नाँउमा घोटाला गर्ने कार्य भईरहेको छ । यसको अनुगमन गर्ने निकाय मौन छ । १८ दशमलव ९५ किलोमिटर सडकको मर्मतको ठेक्का वर्डभ्यु सिद्धार्थ सगुन जेभि बुटवलले लिएको छ । ठेक्काको कबोल रकम २० करोड १६ लाख ६६ हजार ५ सय ९७ रहेको छ । सडक मर्मत कार्य बेलामै अनुगमन गर्ने जिसस लगायत अनुगमन गर्ने निकायले अनुगमन गर्नु पर्ने आवश्यकता स्थानियले औल्याएका छन् ।
सडक मर्मत आयोजनाबारे जिसस प्रमुख भगौती यादवसँग सम्पर्क गर्दा आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएका थिए । कुन काम कहाँ र कसरी भईरहेको छ, ? त्यसको जानकारी जिससमा गराउने सम्बन्धित नगरपालिका र गाउपालिका तथा वार्ड स्तरसम्मलाई जानकारी गराउनु पर्ने हो,तर त्यसबारे कुनै जानकारी सडक डिभिजनले नगराएको जिसस प्रमुख यादवको भनाई थियो । सम्बन्धित ठेकेदारले जानकारी गराउनु भन्दा सरोकारवाला कार्यालयले नै जानकारी गराउनु पर्ने हो,उनले भने,तर अहिलेसम्म सो कामबारे थाहा पाइएको छैन । जनताको गुनासो आउनु स्वभाविक हो,त्यसबारे आफुले सम्बन्धित निकायसँग जानकारी लिईने समेत उनले प्रतिवद्धता जनाएका छन् ।
Very interesting topic, thank you for posting.Blog monry