आठौ संविधान दिवस नवलपरासीको रामग्राम स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रको सरसफाई गरि सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आठौ संविधान दिवस शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अस्ति रहेको अष्टधातु क्षेत्रमा शान्तिकै कामना गर्दै समापन गरिएको हो ।
दिगो शान्ति र विकासको परिकल्पना गरि जारी भएको नेपालको संविधान २०७२ को आठौ संविधान दिवस समापन गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार अहिले सन्दर्भ पनि जुरेको हो,कि भगवान बुद्धको अन्त्येष्टि पछि उनको अस्तुलाई विभिन्न आठवटा भागमा विभाजन गरि कोलिय राजाले पाएको आठ भागको एक भाग अस्ति ल्याएर रामग्राम स्तुप बनाएका थिए । जुन बौद्धमार्गीका लागि शान्तिको अभ्यास गर्न स्तुपको सानिध्यमा बसेर ध्यान गर्नु हो । त्यसैका लागि प्राचिन कोलिय गणराज्यका कोलिय राजाहरुले आफ्नो भागमा पाएको अस्ति ल्याएर रामग्राम राजधानी(हालको पण्डितपुर) देखी चार माईल दक्षिण पुर्व टाढा रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । ति स्थानमा कोलिय राजा सहित अन्य राज्यका बुद्धका अनुयायीहरु स्तुप क्षेत्रमा गएर ध्यान गर्दै अध्यात्मिक अभ्यास गर्ने गर्थे । अहिले पनि बौद्धमार्गीको लागि यो पवित्र धाम पनि हो । हाम्रो संविधानले पनि शान्ति र दिगो विकास र समृद्धिको लक्ष्य लिई संविधानसभा द्धारा संविधान जारी गरिएको हो । यो बर्ष संयोग मिलेको हो, प्रमुख यादवले भने, यो बर्षको आठौ संविधान दिवस मनाउदै यो रामग्राम स्तुप क्षेत्रको सरसफाई गरि समापन गरेका हौ ।
स्तुपको सरसफाईसँगै बुद्धको सन्देश र भगवान बुद्धको धातु समेत रहेको रामग्राम स्तुपमा संविधान दिवसको समापनको सन्दर्भमा सौभाग्य नै भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । यस्तो सौभाग्य सबैलाई मिल्दैन्,उनले भने, जुन हामीले पाएका छौ । यो रामग्राम हाम्रो मात्रै नभई संसार भरिका लागि अध्यात्मिक अध्यासको धरोहारको रुपमा रहेको छ । विश्व सम्पदा सुचिको पाईपलाईनमा रहेको यो स्तुपा क्षेत्र संसारकै लागि महत्वपुर्ण छ । संविधान हामी सबै नेपालीका लागि महत्वपुर्ण छ,उनले थपे,तर यो स्तुप नेपालीसँगै विश्वकै लागि महत्वपुर्ण छ । यसको संरक्षण सबैले मिलेर गर्नु पर्ने उनको भनाई थियो । रामग्राम स्तुप विश्वकै लागि एक अध्यात्मिक केन्द्रको रुपमा विकास गर्नका लागि रामग्राम नगरपालिकाले रामग्राम विकास समिति बनाएर अगाडी बढ्ने रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले बताएकी थिईन् । रामग्राम स्तुप क्षेत्रको सफाईमा नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानियबासीको सहभागिता रहेको थियो ।