परासी बजार डुबानबाट बचाउन झरही खोलाको सफाई गराउदै रामग्राम नगरपालिका

नवलपरासी,३० जेठ
गत बर्ष डुबानमा परेर अर्बाैको क्षति पुर्याएको परासी बजार डुबानबाट जोगाउन रामग्राम नगरपालिकाले झरही नदी सफाई अभियानमा जुटेको छ । झरही खोलामा बर्षाै देखी जम्मा भई थुप्रिएको माटो,बालुवा(सिल्ट) सफाई गर्न नगरप्रमुख धनपत यादवले आफ्नो चुनावी एजेण्डा बनाएको र नगरपालिकामा विजयी भए पछि पहिलो निर्णय नै गरेर झरही नदी सफाई अभियान थालेका हुन् ।


नदी सफाई गर्दा केही प्रकृयागत समस्याका कारण सफाईमा ढिलाई भए पनि अहिले सफा गर्ने कार्य द्रुत गतिमा भई रहेको नगरप्रमुख यादवले बताए । नगरपालिकाको पहिलो कार्यपालिका बैठकमा खोला सफा गर्ने निर्णय गरेका थियौ,उनले भने, तर सफाईका लागि जिल्ला दैवि प्रकोप ब्यवस्थापन समितिको निर्णय समेत गर्नु पर्ने भएको हुदा सो निर्णय गर्न केही ढिलाई हुन गयो । दुई दिन देखी खोलामा दुई वटा एक्साभेटर काममा लगाईएको छ । हाटबजार नजिकको पुल देखी उत्तर तर्फ अहिले काम भई रहेको छ । पुल नजिकै खोलाको पुरिएर पानीको बहाव हुने क्षेत्र कम भएको थियो ।


जस्ले गर्दा गत बर्ष आएको पानीले पानी पुलबाट बग्न नपाउदै बजारमा पसेको थियो । रातीमा आएको बाढीले सयौ घरको पहिलो तल्ला नै डुब्दा भए भरका माल समान जष्ट भएर गएको थियो । बजारबासीको उडिबास भएको थियो । त्यो अवस्था फेरी नदोहरियोस यस प्रति नगरपालिका सचेत छ, नगरप्रमुख यादवले भने, यसमा अन्य सरकारी निकायले सहयोग गर्न आवश्यक देखिएको छ । खोला नाला र दैवि प्रकोप न्युनिकरण साझा सुचि अन्तरगतको कार्य पनि भएको हुदा नगरपालिका एक्लैको प्रयासले सम्पुर्ण रुपमा खोला नियन्त्रण गर्न गाह्रो छ । तर पनि बजार र नगरबासीको बाढीबाट क्षति नहोस भनि नगरपालिकाले नेतृत्व लिएर अगाडी बढेको छ । खोला भित्र माटो जमेर ढिस्को बनेको छ । खोला पुरिएर सतह अग्लो हुदा थोरै पानी आउदा पनि सो पानी बस्ती तिर फर्कने अवस्था छ ।


दुबै किनारमा खोला अतिक्रमण पनि भएको छ । जस्ले गर्दा थोरै बर्षाको पानीले खोला बढने यदि धेरै पानी पर्यो भने खोला बस्ती तिर नै फर्कने अवस्थाले बर्षात लागे पछि परासी बजारबासी त्रसित बनेका छन् । मौषम पुर्वाअनुमान विभागले पनि यो बर्ष पनि बढि पानी पर्ने भएको जनाए पछि स्थानिय त्रसित बनेको स्थानिय ब्यवसायि राधेश्याम अग्रहरीले बताए । अहिले नगरपालिकाले लिएको कदम सराहनिय छ । ढिलो भए पनि काम शुरु भएको छ । अझ साधन स्रोत बढाएर भए पनि थोरै दिनमा धेरै काम गर्न सक्नु पर्छ । त्यसमा स्थानियबासीले पनि सहयोग सदभाव राख्न आवश्यक रहेको उनको भनाई थियो । रामग्राम नगरपालिका भित्र चुरे पहाडबाट बगेर आउने झरहीसँगै तुरिया,भलुही र रामखण्डा खोला पनि छन् । यिनीहरुको पनि सफाई गर्न उत्तिकै आवश्यक रहेको स्थानियबासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *