पहिलो ‘कोलिय अस्तिधातु जात्रा’ले रामग्रामबासी उत्साही

नवलपरासी,२३ बैशाख
बुद्ध पुर्णिमाको अवसरमा रामग्राम नगरपालिकाले पहिलो कोलिय अस्तुधातु जात्रा निकालेर मनाउदा रामग्रामको विकास हुनेमा नगरबासी उत्साही भएका छन् । २५६७ औ बुद्धजयन्तीलाई फरक ढंगले मनाउदै रामग्राम नगरपालिकाले नगरक्षेत्रमा एउटा जात्राको शुभारम्भ गर्नाले नगरक्षेत्रको विकासका लागि एक नयाँ इतिहास रचिएको स्थानियले बताएका हुन् ।
रामग्राम स्तुपा र प्राचिन कोलिय गणराज्यको राजधानी भएको कोलनगर रामग्राम(पण्डितपुर) लाई भावनात्मक रुपमा यो जात्राले जोडेको मात्र नभई नगरपालिकाकै लागि नयाँ इतिहास थपिएको रामग्राम नगरपालिका ५ का पुर्व वार्ड सदस्य समेत रहेका स्थानिय चन्द्र प्रकाश गुप्ताले बताए । यसले परासी बजार र सम्पुर्ण रामग्रामकै विकासमा नयाँ आयाम थपेकोछ,उनले भने,आधुनिक कालमा प्राचिनता झल्किने गरि अस्तुधातुको जात्रा निकाल्नु नगरप्रमुख लगायत नगरपालिका मात्रै नभई समग्र नगरबासीकै गौरव बढाएको छ । जसरी १० औ शताब्दीमा काठमाडौमा गुणकामदेवले शुभारम्भ गरेको इन्द्रजात्राले अहिलेसम्म निरन्तरता पाउदै आएको छ,त्यसै गरि अहिले रामग्राम नगरपालिकाका प्रमुख धतपत यादवले शुभारम्भ गरेको कोलिय अस्तुधातु जात्रा बर्षेनी मनाईने र कालान्तरसम्म मनाउदै सम्झने इतिहास बनेको उनको भनाई थियो ।
भगवान गौतम बुद्धले मल्लहरुको राज्य कुशिनगरमा इसा पुर्व ५ सयमा महापरिनिर्वाण लिनु भयो, सोही बेला उनले आफ्ना अग्र सेवक भिच्छु आनन्दलाई मेरो महापरिनिर्वाण(मृत्यु)ंपश्चात मेरो बचेको धातु राखेर स्तुप बनाउनु भनि भनेका थिए । सो धातुलाई विभिन्न राजाहरुलाई ८ भाग लगाई वितरण गरिएको थियो । त्यो बेला उनको अन्त्येष्टिमा पुगेका प्राचिन कोलिय राजाहरुले पनि आफ्नो भागमा पाएको अस्तु ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । तिनै कुरालाई पुनः स्मरण गराउने र बुद्ध प्रति श्रद्धा जागृत गर्ने उदेश्यले रामग्राम नगरपालिकाले धातुको जात्रा निकाल्ने योजना बनाएको थियो । पहिला प्रतिकको रुपमा मात्र कोलिय राजधानी क्षेत्र पण्डितपुरबाट स्तुपसम्म पर्याउने योजना थियो,तर पछि लुम्बिनीमा श्रीलँकाबाट ल्याई राखिएको वास्तविक धातु नै ल्याएर धातुजात्रा मनाउने लुम्बिनी विकास कोषबाट सहमति पाए पछि बास्तविक धातुयात्राले सार्थकता पाएको हुदा यो अझै नगरबासीमा उत्साह बढाएको बुद्धको विपश्यना साधान गर्दै आएका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए ।
रामग्राम स्तुप भित्रको धातु त अहिले स्तुपा भित्र नै छ,उनले भने,तर धातुजात्राले त्यो बेला देखी नै शुरक्षित रहदै आएको बास्तविक अस्तुधातुको दर्शन गर्न पाएको ठूलो पुण्यलाभ प्राप्त गर्न पाएकाछन् । अझ पहिलो कोलिय अस्तुधातु जात्रामा नेपालकै कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को सहभागिता र उपस्थितीले नगरबासीलाई थप उत्साही बनाएको छ । प्रधानमन्त्रीले रामग्राम स्तुपा एक दुर्लभ स्तुपाको भएको र यस क्षेत्रका लागि अब सरकारले छ्ट्टिै विकासका कदम चाल्ने भनेर गरेको प्रतिवद्धताले पनि नगरबासीमा आशा र विश्वास जगाएको छ ।
रामग्राम क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषद्धारा बनाइएको गुरुयोजनालाई पनि छिट्टै पास गराईने गरि उनले रामग्राम शान्ति क्षेत्र भएको समेत स्मरण गराएका थिए । समान्य रुपमा कोलिय अस्तुधातु जात्रा मनाउने लक्ष्य लिए पनि लक्ष्य भन्दा बढि काम भएको नगरप्रमुख यादवले बताएका थिए । बुद्धजयन्ती कसरी मनाउने भनि एक छलफल कार्यक्रममा यस बर्षको बुद्धजयन्ती धातुजात्रा निकालेर मनाउने सुझाव आएको थियो,उनले भने, प्रतिक धातुजात्रा निकाल्ने लक्ष्य भएमा बास्तविक धातु उपलब्ध हुनु र स्थानिय स्तरमै धातु जात्रा मनाउने लक्ष्य हुदा देशकै कार्यकारी प्रधानमन्त्री दाहाल रहित राज्यमन्त्रीसम्मको उपस्थित हुनु नगरपालिको लिइएको लक्ष्य भन्दा बढि काम भएको महशुस भएको छ । यसले नगरपालिका मात्रै नभई सम्पुर्ण नगरबासी तथा जिल्लाबासीमा पनि काम गर्ने हौसला प्रदान गरेको नगरप्रमुख यादवको भनाई थियो ।
नगरप्रमुख यादवले प्रधानमन्त्री दाहाललाई सन १८९६ मा पत्ता लागेको लुम्बिनीमा संस्थागत संरचना लुम्बिनी विकास कोष बनाएर काम गर्दा विकासले गति पाएको तर त्यसको लगत्तै सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुपको पत्ताइए पनि यसका लागि छुट्टै संस्थागत सरकारी संरचना नहुदा विकासमा ओझेल परेको स्मरण गराएका थिए । यसका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तुपा क्षेत्र विकास समिति बनाई काम गर्ने लक्ष्य अनुसार मस्यौदा बनाईरहेको र त्यसका लागि संघिय सरकारले सहयोग गर्न समेत आग्रह गरेका थिए । त्यसै गरि उनले कोलिय गणराज्यको राजधानी क्षेत्र पण्डितपुरमा विगत एक दशक पहिला २०७० साल देखी ३ बर्षसम्म पुरातत्व विभागद्धारा उत्खनन भएको तर अहिलेसम्म त्यसको प्रतिवेदन सार्वजनिक नगरिएको हुदा सो प्रतिवेदन सार्वजनिक गर्नका लागि पहल गरिदिन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *