
नवलपरासी,२३ फागुन
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको सो क्षेत्रका उद्योगले जनाएका छन् । विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपुर्ति बेला बेलामा बन्द हुदा उद्योगहरुले क्षति ब्यहोर्न परेको जनाकारी गराएका हुन् ।
उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तरगत सुझाव संकलन गर्दा सो समस्या उद्योगहरुले राखेका थिए । संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन् । समस्या बुझ्ने क्रममा उद्योगहरुले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौती रहेको समस्या दर्र्शाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए । संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्छ, उनले भने, बाहिरबाट उद्योगलाई जसरी हेरिन्छ,भित्र उद्योगको आफ्नै पिडाहरु रहेको बुझ्न थालिएको छ । विद्युत महशुल उद्योगले बुझाएनन्,भन्ने कुरा विद्युत प्राधिकरणले उठाउने गर्छ । केही दिन ढिलो भयो भन्ने जरिवाना तिराई हाल्छ । तर विद्युत आपुर्ति समस्याले उद्योगलाई कति क्षति भयो,त्यसबारे कहिलै विचार पुर्याउदैन् । तर आफ्नो गल्ति स्वीकार गर्दै कहिले पनि भन्दैन ।
अर्बौ लगानी गरेर औद्योगिक क्षेत्रमा रहेको गोयल स्पात प्रालिको स्टिल उद्योगमा ५ सय भन्दा बढि कर्मचारी र मजदुर काम गर्ने गरेका छन् । दिन एक घण्टा विद्युत काटिदा सो उद्योगका मजदुर काम विहिन हुन्छन् । काम पाँच सय घण्टाको १२ घण्टाको दरले ४१ जना दैनिक मजदुरको ज्याला तिर्नु पर्ने हुन्छ । यसरी विद्युतका लागि १ घण्टा भए पनि उद्योगको क्षति ४१ जनाको दैनिक ज्याला हो । ४१ जना मजदुरको ज्याला कम्तीमा ३० हजार हुन्छ । उत्पादनमा हुने ह्रासको कुरा त परै जाओस,उद्योगका उत्पादन गरि आपुर्ति गरिने पार्टीलाई विभिन्न बहाना बनाउदै टार्नु पर्ने अवस्था हुन्छ । यो उद्योग एउटा दृष्टान्त मात्र हो । यो एउटा उद्योग हो, उद्योगका एक प्रवन्धकले भने, तर औद्योगिक क्षेत्रमा पचास भन्दा बढि उद्योगहरु स्थापना भई सकेका छन् । हजारौको संख्यामा कर्मचारी र मजदुर कार्यरत छन् । विद्युत प्राधिकरणले विद्युत काट्ने हो पुर्व जनाउ गरि काट्दा कम्तीमा मजदुरहरुलाई सो दिन छुट्टी दिन सकिन्छ,वा अन्य कामका लागि योजना बनाएर बोलाईन्छ ।
यता नियमित विद्युत काट्ने अवस्था नरहेको विद्युत प्राधिकरणका परासी वितरण केन्द्रका सुचना अधिकारी रामाशंकर शाहले बताए । जिल्लामा विद्युतको बहुविकल्प दिईने कार्यलाई ब्यवस्थित बनाउने क्रममा बेला बेला विद्युत आपुर्ति बन्द गर्न परेको उनको भनाई थियो । औद्योगिक क्षेत्रमा दुई चार वटा ठूला उद्योग बाहेक अन्य उद्योगलाई असर पार्ने गरि विद्युत आपुर्ति बन्द भएको छैन् । कहिले काँही लोडको पनि समस्या हुन्छ, उनले भने, त्यो बेला मात्र ३३ केभिएको लाईन बन्द गरि ११ केभिएमा आपुर्ति हुन्छ । उद्योगकै विद्युत आपुर्ति रोकेर भए पनि ग्रहास्त विद्युत आपुर्ति गर्नै पर्छ । पिक आवरमा पनि उद्योग भन्दा आम नागरिकलाई लक्षित गरि विद्युत आपुर्ति गरिने हुदा कहिले काही समस्या आउने गरेको उनले सुनाएका थिए । बहुविकल्पका विद्युत आपुर्ति बनाउने कार्य चलि नै रहेको हुदा अहिले पुर्ण रुपमा ब्यवस्थित भन्ने भई सकेको छैन्, उनले थपे, ५÷६ महिना पछि सम्भवतः सबै समस्या समाधान होला ।
उनका अनुसार आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका ५ वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न ५ वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको उनले जनाकारी गराएका थिए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।
एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्,उनले थपे , किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । उनका अनुसार अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखी ७० मेगावाट विद्युत सप्लाई भई रहेको सुचना अधिकारी शाहले बताए । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।
बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिनामै जिल्ला जोडिने समेत उनले बताए । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रुपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यसले गर्दा यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरुको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ,उनले भने,तर उद्योग सञ्चालकहरुले उद्योगमा विद्युत आपुर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् ।
नेपाल सरकारको उद्योग मन्त्रालयले पनि यस क्षेत्रमा औद्योगिक क्षेत्रमा विद्युत आपुर्तिका लागि विद्युत परियोजनामा लगानी गरेको मध्ये नवलपरासी पनि एक जिल्ला परेको छ । परियोजना कार्यालयले विद्युत प्रसारणलाईनहरु विस्तार गर्दै स्टेसन निर्माण गर्दै आएका छन् । त्यसै अनुसार यस क्षेत्रमा बहुराष्ट्रिय कम्पनी सहित नेपाल भारतको संयुतm लगानी तथा नेपालीहरुको लागनीमा जिल्ला भरि उद्योग लगाउने स्थानको खोजी गर्नमा लागेका छन् । जिल्ला भित्र सय भन्दा बढि उद्योग खुलि सकेका छन् । केही खुल्ने क्रममा रहेका छन् । उद्योग क्षेत्रमै एक खर्ब भन्दा बढि लगानी भएका छन् । ति उद्योगले यहाँको कच्चा पदार्थ र वातावरणीय शुरक्षा भन्दा विद्युत आपुर्ति सहजतालाई देखेर प्राथमिकतामा राखेर उद्योग खोल्दै आएका छन् ।