
नवलपरासी,१८ माघ
जिल्ला स्थित भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषद्धारा ल्याइएको ‘रामग्राम विकास परियोजना’ नवलपरासीबासीका स्वागत योग्य भएको नागरिक समाज नवलपरासीले जनाएको छ । सो परियोजनाबारे विभिन्न सञ्चार माध्यम,संघसस्था र राजनीतिक दलहरु समेत भ्रममा परेर टिकाटिप्पणी गरिरहेको बेला नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउदै सो भ्रम चिर्नका लागि सरोकारवालाको वृहद छलफलको वातावरण मिलाउने माग समेत गरेको हो ।
विगतमा पनि रामग्राम क्षेत्रको विकासका लागि बजेट आएको तर यस्तै टिकाटिप्पणी र विवादस्पद बनाउदा रकम फ्रिज भएर जादा रामग्रामकै विकास रोकिएको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सन १८९६ मा पत्ता लागेको लुम्बिनी र सन १८९८ मा पत्ता लागेको रामग्रामको विकासमा किन भिन्नता भएको होला यस्तै यस्तै गतिविधिले पनि हुन सक्ने कुरालाई समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । भारतले रामग्राम स्तुप भारत महराजगँज जिल्ला सोहगी बरवा स्थित जंगलमा भएको कुप्रचार गरिरहदा मौन रहने निकाय अहिले रामग्रामको विकासका लागि विकास परियोजना बनेर अग्रसर हुदा शुरुमै विवादस्पद बनाउन खोज्ने यथास्थितीबादीको भ्रममा परेर यहाँका राजनीतिक दलका प्रतिनिधि,संस्थाका प्रतिनिधिहरु सत्यतत्य नबुझी लहलहैमा परियोजनाबारे टिप्पणी गर्नु कतिको उचित हो ? समेत प्रश्न गरिएको छ ।
विगतमा पनि लुम्बिनी विकास कोषका उपाध्यक्ष भएको र प्रधानमन्त्रीहरु भए तर रामग्रामको विकास बारे कहिले सोचेनन तर अहिलेको उपाध्यक्ष ल्हारक्याल लामा र प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा यो परियोजना ल्याउनु स्वागतयोग्य र शुखद भएको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । परियोजनाका लागि काम गर्ने सस्थाहरुलाई सके सहयोग गर्ने,नसकेमा कम्तीमा काम गर्ने वातावरण त दिनु पर्छ,अध्यक्ष सैथवारले भने, कानुन भन्दा माथि कोही हुदैन्,जस्ले काम गर्दैछ,त्यसलाई पनि कानुनी प्रकृया पुरा गर्न जानकारी नहोला भन्न त सकिदैन् ।
कुनै सस्थाले रामग्राम क्षेत्र विकासका लागि देशी विदेशी दातृनिकायसँग स्रोत जुटाएर रामग्राममा लगानी गर्दा रामग्राम मात्रै नभई यो जिल्लाकै लागि उपलब्धी भएको अध्यक्ष सैथवारले बताए । उपाध्यक्ष लामा माथि लगाइएको आरोप त उनि आफ्नो विज्ञप्ती मार्फत खण्डन गरि सकेका छन् । अधिग्रहण नै भएको जग्गा कसरी लिजमा जान्छ,त्यसबारे कमन सेन्स त हुनु पर्छ,उनले थपे, केही यथास्थितीवादी र रामग्रामको विकास नचाहनेले यसरी प्रोपोगण्डा मच्चाउने र स्थानियबासी,संघसस्था,राजनीतिक दललाई भ्रममा पारी परियोजनालाई विवादस्पद बनाउने खेल पनि त हुन सक्छ । त्यसकारण पनि सरोकारवाला विच विस्तृत छलफल र अन्तरक्रिया गराउन आवश्यक देखिएको हुदा यसको पहल जिससले लिई गर्नु पर्ने अध्यक्ष सैथवारको थियो ।

परियोजनामा के छ ?
रामग्राम विकास परियोजनाको डिजाईन गर्ने इटलीका स्टेफानो बोइरीले गरेका छन् । जस्मा पुरातत्वविदहरुको परामर्शमा नै रामग्राम स्तुपासँगै रहेको सुन्याघार जस्ता संरचना,प्राचिन पोखरी,विहार क्षेत्र र उपासक क्षेत्रलाई छाडेर स्तुपलाई केन्द्र मानी ३ सय मिटर रेडियसको भुमि छाडेर मात्र अन्य संरचनाको डिजाईन गरिएको छ । त्यस पश्चात ३ सय मिटर थप गरेर ६ सय मिटर रेडियस मानी ति स्थानको जग्गा अधिग्रहण हुनेछ । अधिग्रहण गर्ने कार्य नेपाल सरकारको हुन्छ ।

पछि मात्र काम गर्ने सस्था द प्रमिस लैण्ड प्रालिले गरिएको डिजाईन अनुसार काम गर्छ । सबै काम वातावरणमैत्री छन् । रामग्राम स्तुप र स्तुपसँग सम्बन्धित कुनै पनि पुरातात्विक क्षेत्र आफ्नो मौलिक रुपमै त्यहा रहने देखाईएको छ । २५ अर्ब भन्दा बढि लगानी हुने उतm परियोजनाले लाखौको रोजगारी प्रदान गर्नु साथै विश्वलाई नै आकर्षित गर्ने खालको संरचनाले यस क्षेत्रमा पर्यटन उद्योगको विस्तार वृद्धि हुने सम्भावना बोकेको छ । विश्वकै एक अध्यात्मिक केन्द्र बन्नेछ । यसबारे प्रकृयागत रुपमा नै पुरातत्व विभाग र अर्थमन्त्रालयसँग राय समेत मागेर काम सस्थाले गरिरहेको देखिएको छ ।

रामग्राम स्तुपको महत्व
भगवान गौतम बुद्धको महापरिनिर्वाण हुनु पुर्व उनका अग्रसेवक भिच्छु आनन्दलाई बुद्धले महापरिनिर्वाण पश्चात मेरो मुर्ति नबनाई धातु राखेर स्तुप बनाउनु भनेर बताएका थिए । सोही कुरा बुद्धको महापरिनिर्वाण पश्चात कुशिनगरमा अन्त्येष्टि गरिरहदा आनन्दनले सुनाएका थिए । त्यस पछि मगधका तत्कालिन सम्राट अजातसत्रुले सो अस्ति आफ्नो राजधानी राजगिरमा लागेर स्तुप बनाउने घोषणा गरे,तर उतm घोषणालाई अस्वीकार गर्दै कुशिनगरका मल्लराजाहरुले विरोध जनाए कि जब बुद्ध महापरिनिर्वाण लिन कुशिनगर आएका हुन भन्ने स्तुप पनि यहिँ कुशिनगरमै बन्छ भनेर तर्क राखेका थिए ।
तत्पश्चात बैशालीका लिच्छिबी राजा,कपिलस्तुका शाक्यराजा,रामग्रामका कोलिय राजा,अल्कप्पा,वेदविठका ब्राम्हणले सो अस्थि आफुले लैजान पाउनु पर्ने कुरा निकालेका थिए । यसले विवाद हुन थाले पछि सोही क्षेत्रका द्रोण ऋषि आएर धातुका लागि विवाद गर्नु भन्दा सबै राजाले सो धातु बाडेर लैजानु भनेर सुझाएका थिए । सोही अनुसार सबैले धातुलाई आठ भागमा बाडेर लगे र आफ्नो राज्यमा बुद्ध स्तुपको निर्माण गराएका थिए । सोही मध्ये एक भाग कोलिय राजाले ल्याएर बनाएको रामग्राम स्तुप हो । पछि मगध सम्राट अशोकले सबै स्तुप उत्खनन गर्ने योजना बनाए । ८ वटा स्तुपको उत्खनन गरेर ८४ हजार स्तुप बनाउने योजना बनाएका थिए । ७ वटा स्तुपको उत्खनन गरे पश्चात अन्तिममा रामग्राम स्तुपको उत्खनन गर्न आउदा यहाँका नागबंशीले आफुहरु बाचुन्जेल स्तुपको उत्खनन गर्न नदिईने अनुरोध गरे पछि सम्राट अशोकले रामग्राम स्तुप त्यसै छाडेर बुद्धविहारको समेत निर्माण गराएर फर्केका थिए ।
त्यही भएर पनि अहिले सँसारका बौद्धमार्गीका लागि यो रामग्राम स्तुप
महत्वपुर्ण रहेको छ । धातुको अत्यात्मिक मुल्य अनुसार स्तुपमा श्रद्धापुर्वक पुष्प,धुप र दिप मात्र चढाए देवलोकको मार्ग खुल्छ । धातुको सानिध्यमा ध्यान विपश्यना गर्दा ब्रम्हलोक हुदै लोकविमुतिmको बाटोमा गइन्छ,त्यो भएर बुद्धको धातु अहिले पनि बौद्धमार्गीका लागि महत्वपुर्ण मानिन्छ । अहिलेको परियोजना पनि मोक्ष फाउण्डेसनको पहलमा भई रहेको ताकी धातुको सानिध्यमा सँसारका बौद्धमार्गी एक पटक श्रद्धा,पुजन र ध्यान गर्ने अवसर मिलाउन सक्ने पनि हुन सक्छ ।