नवलपरासी,२४ पुस
लुम्बिनी प्रदेश पर्यटन परिषदका अध्यक्ष रामु जोशी सहितको टोलीले रामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रको स्थलगत अवलोकन गरेका छ । प्रदेशसभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाल सहित परिषदको टोलीले राजधानी क्षेत्रको अवलोकन गर्दै यस क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले नै अब अग्रसरता लिईने समेत बताएका हुन् ।
यस क्षेत्रको दिर्घकालिन विकास,संरक्षण,सांस्कृति अभियान,पहिचान हुने खालका कार्यक्रम गर्नका लागि प्रदेश सरकारद्धारा नै एक सरकारी संरचना खडा गरि काम गर्न सकिने समेत अध्यक्ष जोशीले बताए । सो क्षेत्रमा फेला परेका बस्तु तथा दस्तावेजको समेत अवलोकन अध्ययन गरेका थिए । स्थानिय स्तरबाट पनि संरक्षण र प्रवद्र्धनका लागि समितिहरु पनि निर्माण गर्न स्थानियलाई आग्रह गर्दै अध्यक्ष जोशीले सो संस्थासँग सहकार्य गरि लुम्बिनी प्रदेश सरकारको गठन आदेश मार्फत सरकारी सस्था खडा गरि काम गर्नु पर्ने आवश्यकता महशुस भएको जानकारी गराए । लुम्बिनी विकास कोषको अधिनमा नरहेको र यस क्षेत्रको विकास,संरक्षण,प्रवद्र्धन गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न कोषले लुम्बिनी प्रदेश सरकारलाई नेतृत्व लिनका लागि समेत पत्राचार गरेको प्रदेश साँसद जैसवालले यो प्राचिन राजधानीमा काम गर्न पर्यटन परिषदलाई आग्रह गरेका थिए ।
इसा पुर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ । यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता,स्थानियबासीको सहभागिता हुन आवश्यक छ,साँसद जैसवालले भने,यसका लागि आफु उद्योग बाणिज्य संघको अध्यक्ष हुदा देखी नै यसबारे कुरा उठाउदै आएको छु । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन,चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरुपमा रहेको देखिन आएको जानकारी गराएका थिए । उत्खननका क्रममा प्राचिन पोष्टहाmे,खैरो भाडो(ग्रेवर),एनबिपि,विभिन्न प्रकारका भाडाकुडा,बुद्धमुर्ति,धातुहरु जस्ता बस्तुहरु फेला परेको यो स्थान हो,उनले थपे,तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अब प्रदेश सरकारको यो पर्यटन परिषदले यसमा चाँसो लिएर काम गर्नु पर्ने औल्याएका थिए ।
तत्कालिन बनारसका राजा रामलाई कुष्टरोग लागेको थियो । राजबैद्यको परामर्शमा उनी यो कोलवृक्ष भएको जंगल क्षेत्रमा कुष्टरोग उपचारका लागि आएका थिए । कोलवृक्षको पातको मलम बनाई घाँउमा लगाउने र पातको सेवनले उनको कुष्टरोग निको भएको थियो । तत्पश्चात उनी बनारस फर्केनन । यसै कोलवृक्ष क्षेत्रमा आफ्नो गाँउ(ग्राम) बसालेका थिए । जुन गाँउको नाम नै रामग्राम भनिएको थियो । कोलवृक्षले पुर्नजिवन पाएका राजारामले गणराज्यको नाम नै कोलिय गणराज्य राखेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम,कोलनगर,देवदह,ब्याग्रपुर,ब्याग्रपथ,बघौरतप्पा लगायतका नाम विभिन्न कालखण्ड चिन्ने गरिएको इतिहास छ । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरुको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
त्यसैगरि रोहिणी नदी पुर्व रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विवाहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ,प्रदेश साँसद जैसवालले भने,तर यो यतिको महत्वपुर्ण धार्मिक,पुरातात्विक,ऐतिहासिक,अध्यात्मिक क्षेत्र अहिले ओझेलमा छ ।
यसको इतिहासको जानकारी भए पश्चात परिषद अध्यक्ष जोशीले जतिसक्दो छिटो यस स्थानमा मुख्यमन्त्रीलाई ल्याएर प्रदेशले काम गर्ने गरि संरचनाको तयारी र प्राचिन संस्कृतिको संरक्षण,प्रवद्र्धन हुनेखालको कार्यक्रम गरि शुभारम्भ गर्नु पर्ने चाँसो समेत देखाएका हुन् । यो राजधानी क्षेत्रलाई केन्द्र मानेर यसको आसपासका सबै बौद्धकालिन बौद्धस्थलहरुलाई समेटने गरि कार्यक्रम बनाउन समेत उनले साँसद जैसवाललाई आग्रह गरेका थिए । यसै बर्षका लागि थोरै धेरै बजेट बिनियोजन हुन्छ,उनले भने,यस क्षेत्रको ब्यवस्थित प्रचार प्रसारका लागि यसै क्षेत्रका युवायुवतीलाई सहभागित गराई टुर गाईड तालिम सञ्चालन गर्ने समेत जानकारी गराएका थिए ।