
नवलपरासी,१९ असार
संघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि बजेट छाड्न ढिलाई गर्दा पालिका स्तरमा हुने पोषणका कार्यक्रम प्रभावित भएका छन् । संघिय सरकारले ससर्त रुपमा विनियोजन गरेको बहुक्षेत्रिय पोषण कार्यक्रम गर्न आउने बजेट असार ७ गते मात्र खुल्ला हुदा हतारमा कार्यक्रम गर्न पर्दा प्रभावित बनेको हो ।
जिल्ला समन्वय समितिले आयोजना गरेको बहुक्षेत्रिय पोषणबारे समिक्षामा जिल्लाका ७ वटै पालिकाका पोषण सहजकर्ताले प्रस्तुत गर्दा कार्ययोजना अनुसारको पोषणका कार्यक्रम गर्न ढिलाई भएर समस्या आएको सुनाएका थिए । पालिकाले विनियोजन गरेको बजेटले केही कार्यक्रम गरिएको भए पनि संघिय सरकारबाट प्राप्त हुने बजेट ढिलाई हुदा काम गर्नमा समस्या आएको सहजकर्ताहरुले गुनासो गरेका थिए । पोषण कार्यक्रम समुदाय स्तरमा पुर्याउन विभिन्न कार्ययोजना बनाइएको थियो,सुस्ता गाउपालिकाका पोषण सहजकर्ता भागिरथी पालले भने,तर बजेट आउनमा ढिलाई हुदा पुरै बजेट खर्च हुने अवस्था भएन्,गर्ने कार्यक्रम पनि हतारमा गर्न पर्दा प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ । सामुदायिक र पालिका स्तरबाट गर्ने कार्यक्रम गरिएको सुनाउदै उनले संस्कृतिसँग जोडेर पोषणका कार्यक्रम गरिएको उदाहरण प्रस्तुत गरेका थिए ।
उनका अनुसार ११ लाख १५ हजार संघिय बजेट पोषणका लागि विनियोजन भएको थियो,भने पालिकाले १३ लाख विनियोजन गरेको थियो । त्यसमा पालिका तर्फको बजेट मध्ये ९ लाख ७० हजार मात्र खर्च भएको थियो । पालिकामा पोषिलो खाना प्रदर्शनी, सामुहिक सुत्केरी भेटघाट अभियान,करेसाबारी लगायतका पोषण लक्षित कार्यक्रम चलाइएको थियो । त्यसै गरि सुनवल नगरपालिका स्वास्थ्य शाखाका पोषण फोकल पर्सन चुरामणि नेपालले पनि पालिकाले गरेको बजेट विनियोजनबाट १० वटा विद्यालयमा करेसाबारी कार्यक्रम प्रभावकारी भएको उदाहरण प्रस्तुत गरेका थिए । उनका अनुसार संघले ११ लाख ३५ हजार बजेट र पालिकाको १५ लाख गरि २६ लाख बजेट विनियोजन थियो । तर संघको बजेट खुल्ला हुन ढिलाई हुदा हतारमा काम गर्न परेको सुनाएका थिए ।
यसै गरि रामग्राम नगरपालिकामा संघको ११ लाख ३५ हजार को कार्यक्रम मध्ये ४ लाख बराबरको कार्यक्रम मात्र भएको पालिकाद्धारा विनियोजित ३ लाख बजेट मध्ये ९९ हजार ६ सय ५० मात्र बजेट खर्च भएको प्रस्तुत गरिएको थियो । पाल्हीनन्दन गाउपालिकामा संघको ११ लाख ३५ हजारको कार्यक्रम नै हुन नसक्ने अवस्था आएको र पालिकाले विनियोजन गरेको ४ लाख रकम पनि आन्तरिक कोषमा रहेको हुदा आन्तरिक कोष उठ्न नसक्दा पोषणका कार्यक्रम नै गर्न नसकिएको सहजकर्ताले प्रस्तुत गरेका थिए ।
यता वर्दघाट नगरपालिकामा पनि संघको ११ लाख ३५ हजार मध्ये ४ लाख ३५ हजार बराबरको कार्यक्रम मात्र भएको र पालिकाले विनियोजन गरेको ५ लाख रकमको पुरै कार्यक्रम गरि ९ लाख ३५ हजार बराबरको मात्र कार्यक्रम सम्पन्न हुन सकेको सहजकर्ताले जानकारी गराएकी थिईन् । उनका अनुसार ९ वटा स्वास्थ्य सस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । त्यसै गरि सरावल गाउपालिकाका पोषण सहजकर्ता भिमलाल भण्डारीले पनि संघको ११ लाख ३५ हजार बजेट र पालिकाले विनियोजन गरेको ५ लाख बजेट मध्ये पालिका विनियोजित बजेट खर्च भएको तर संघको पुरै बजेट खर्च हुन नसकेको जनाएका थिए । पोषण सप्ताह मनाउदै पालिकाका २० वटा टोलमा सचेतना कार्यक्रम,१४ स्थानमा पोषणबारे सासु बुहारीसँग छलफल,शिक्षकलाई पोषणबारे अभिमुखिकरण लगायतका कार्यक्रम गरिएको थियो ।
यसै गरि प्रतापपुृर गाउपालिकामा पनि संघको ११ लाख ३५ हजार र पालिकाको ८ लाख गरि कुल १९ लाख ३५ हजारको पोषण लक्षित बजेट भए पनि यथार्थ खर्च कति भएको बारे जानकारी नभएको प्रस्तुतीमा सुनाइएको थियो । धेरै कार्यक्रम समय सिमाले नभ्याउने भन्दै स्वास्थ्य शाखा र प्रमुख प्रशासकिय तयार नहुदा कार्यक्रम गर्न नसकिएको बताइएको थियो । संघिय सरकारले जिल्लाका ७ वटै पालिकालाई ११ लाख ३५ हजारको दरले बजेट विनियोजन गरेको तर खर्च गर्नका लागि खुल्ला गर्न असार ७ गते मात्र अनुमति प्रदान गरेको थियो । प्रदेश स्तरबाट पोषण क्षेत्रमा कुनै पनि प्रकारको बजेट विनियोजन भएको अवस्थाबारे पनि कार्यक्रममा प्रश्न उठाइएको थियो ।
पालिका पालिकामा अहिले पनि कुषोषणको अवस्था कायम नै रहेको हुदा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिले पालिका प्रमुख तथा समन्वय अधिकारीले प्रमुख प्रशासकिय अधिकृत र शिक्षा समन्वयले शिक्षा शाखा र स्वास्थ्य कार्यालयले स्वास्थ्य शाखाहरुलाई पहल गर्न सहजकर्ताहरुले आग्रह गरेका थिए । सुनवल स्वास्थ्य शाखाका पोषण फोकल पर्सन नेपालले सुनवलमा मात्रै ७० जना बालबालिकामा कडा कुपोषण भेटिएको हुदा उपचार गराउने कार्य भई रहेको सुनाएका थिए । स्वास्थ्य शाखाले पोषणका ४९ सुचक मध्ये १६ वटा स्वास्थ्यसँग सम्बन्धित सुचकमा काम गरिरहेको तर शिक्षा,कृषि,पशुपंक्षि,खानेपानी तथा सरसफाई,प्रशासन लगायतका शाखाबाट अन्य सुचकमा काम गर्नका लागि जिल्ला समन्वय समितिले नै पालिका प्रमुखहरुसँग बेला बेलामा काम गर्नकालागि घच्घच्याउन आग्रह गरेका थिए ।
सहजकर्ताहरुको जिज्ञासा र प्रस्तुतीबारे धन्यबाद ज्ञापन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले पोषणसँग सम्बन्धित सबै तह र सरोकारवाला शाखा तथा निकायसँग छलफल गरिने प्रतिवद्धता जनाएका थिए । सहजकर्ताहरुले अभियानकै रुपमा नयाँ नयाँ अभ्यास गर्दै काम गर्दै आएका छन्,उनले भने,तर पालिका सरकारले त्यसलाई प्राथमिकता दिदै स्वामित्व ग्रहण गर्ने कार्य तर्फ कम अग्रसरता देखिएको स्वीकार गरेका थिए । यसका लागि सबै सरोकारवालालाई पत्राचार गरि जानकारी गराईन्छ । तपाईँहरु आफ्नो कार्यमा निरन्तर अगाडी बढि रहनु होला भन्दै निर्देशन दिएका थिए ।