
नवलपरासी,२३ असोज
मालपोत कार्यालय नवलपरासीमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । थोरै कर्मचारी हुदा साझसम्म घाममा सेवाग्राही लाम बसेर काम गराउनु परेको हो ।
कार्यालयको कमजोरीले यस्तो समस्या आएको आरोप सेवाग्राही तथा लेखापढी ब्यवसायीहरुले पनि गरेका छन् । सरुवा भएर जाने कर्मचारीलाई कार्यालय प्रमुखले रवाना दिई हाल्ने तर यो कार्यालयमा सरुवा भई आउने कर्मचारी छिटो बोलाउन नसक्दा यस्तो समस्या आएको एक लेखापढी ब्यवसायीले बताए । कार्यालय प्रमुखको यो चरम लापर्वाही हो, उनले भने, सरुवा भए पनि पहिला आउने कर्मचारी हाजिर गर्न आई दिएको बेला सरुवा भई जाने कर्मचारीको रवाना दिएको भए यस्तो समस्या आउदैन्थ्यो । कर्मचारी अभावले जग्गा किनबेच, नामसारी, जग्गाधनी प्रमाणपुर्जा, रोक्का–फुकुवा तथा अन्य प्रशासनिक कामका लागि कार्यालय पुग्ने सेवाग्राही कर्मचारी अभावका कारण समयमै सेवा नपाउँदा समस्यामा परेका छन् ।
कार्यालयमा आवश्यक संख्यामा कर्मचारी नहुँदा दैनिक सेवा प्रवाह प्रभावित भएको सेवाग्राहीको गुनासो छ । सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । टाढाटाढाबाट जग्गासम्बन्धी काम लिएर आउने नागरिकले समयमा काम सम्पन्न गर्न नसक्दा थप आर्थिक भारसमेत व्यहोर्नुपरेको छ । जग्गा कारोबार तथा प्रशासनिक कामका लागि मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको चाप रहने गर्छ । तर, सोही अनुपातमा कर्मचारीको व्यवस्थापन नहुँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको गुनासो बढेको हो । विशेषगरी जग्गा नामसारी, लिखत पारित, अभिलेख खोजी तथा अन्य प्रक्रियामा संलग्न नागरिकले काम सम्पन्न गर्न घण्टौँ कुर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
यसैमा दशै आइ सकेकोले सेवाग्राही दशै लक्षित कारोबार गर्न आउछन्,त्यसै गरि असोज मसान्त पनि यहिँ आई पुग्दा कतिपय ब्यवसायीको बैकिगँ कारोबारसँग सम्बन्धित कार्यका लागि पनि मालपोत कार्यालय सरोकारवाला कार्यालयमा काम गराउनु पर्ने हुन्छ । राजस्व बुझाउने,लेखा परिक्षण गराउने,म्याद थप गराउने धितो रोक्का,फुकुवा जस्ता समस्या पनि हुन्छ,तर यसै बेला कर्मचारी नभई दिदा राज्यको राजस्व उठ्नमा मात्रै समस्या हुदैन,सेवाग्राहीलाई सास्ती झेल्न परेको छ । दैनिक एक सय भन्दा बढि सेवाग्राही विभिन्न काम लिएर मालपोत आउने गरेका छन् ।

कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले सरकारी कार्यालयबाट समयमै र सहज रूपमा सेवा पाउनु आफ्नो अधिकार भए पनि कर्मचारी अभावका कारण अनावश्यक झन्झट बेहोर्नुपरेको बताएका छन्। कतिपय सेवाग्राहीले एकै पटकमा काम सम्पन्न नहुँदा यातायात खर्च, समय र श्रम खर्च गर्नुपरेको गुनासो गरेका छन ्। मालपोत कार्यालय जस्तो नागरिकको सम्पत्ति र जग्गासम्बन्धी महत्त्वपूर्ण अभिलेख व्यवस्थापन गर्ने निकायमा कर्मचारी अभाव हुँदा सेवाग्राही मात्र नभई कार्यालयको नियमित कामकाजमा समेत असर पर्ने देखिन्छ। समयमै सेवा नपाउँदा नागरिकमा सरकारी सेवा प्रवाहप्रति असन्तुष्टि बढ्न सक्ने सरोकारवालाको भनाइ छ ।
सेवाग्राहीले कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्था गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले नागरिकलाई सामान्य कामका लागि पनि पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताएका छन ्। सरकारी कार्यालयमा कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति गर्नुका साथै सेवाग्राहीको चाप र कामको प्रकृतिका आधारमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी जग्गासम्बन्धी कारोबारमा ढिलाइ हुँदा नागरिकको आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत असर पर्न सक्ने भएकाले यस विषयलाई गम्भीरता पूर्वक लिनुपर्ने देखिन्छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर कर्मचारीलाई पठाउनु पर्नेमा त्यस प्रति कार्यालय गम्भिर नदेखिएको नागरिक समाजका सचिव अनिल अग्रहरीले बताए ।
मालपोत कार्यालयमा कर्मचारी अभावको समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय तथा विभागले आवश्यक पहल गर्नुपर्ने सेवाग्राहीको अपेक्षा रहेको लेखापढी कानुन ब्यवसायिका केन्द्रिय उपाध्यक्ष अर्जुन क्षेत्रीले बताएका थिए । कर्मचारी व्यवस्थापनसँगै सेवा प्रक्रियालाई व्यवस्थित बनाउने, सेवाग्राहीलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने र गुनासो सुनुवाइको प्रभावकारी व्यवस्था गर्ने हो, उनले भने, तर त्यो कार्य हुन सकेको छैन् । नागरिकलाई सहज, सरल र समयमै सरकारी सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । त्यसैले मालपोत कार्यालयमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरी सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
यता कार्यालयका भुमि प्रशासन अधिकृत बसन्त कार्कीले सरुवा भई जाने कर्मचारीहरुले आफ्नो रवाना लिई गई सकेको र आउने कर्मचारी नआई दिदा केहीका लागि समस्या देखिएको जनाए । यो समस्या धेरै दिनका लागि हुदैन्,उनले भने, छ्ट्टिै सरुवा भई आउने कर्मचारी आउनेमा विश्वस्त छौ । तिन स्थानबाट सेवा प्रवाह हुदै आएकोमा अहिले एउटा स्थानबाट मात्र गर्न पर्दा समस्या देखियो,उनले थपे,तर केही कमजोरी सेवाग्राही पनि देखिएको छ । कार्यालय विहान ९ बजे देखी नै खुल्ने गरेको छ,सेवाग्राही ११ बजे पछि मात्र आउने गर्दा विहान काम नहुने र दिउँसो भिडभाड हुने गरेको अवस्था पनि छ । सरकारले सरकारी कार्यालय विहान ९ बजे देखी ५ बजेसम्म कायम गरे पनि सेवाग्राही पुरानै बानी परेकोले ढिलो आउदा काम प्रभावित भएको सुनाए । यसका लागि लेखापढी कानुन ब्यवसायि लगायत सरोकारावालाले पनि प्रचार प्रसार गरिदिइनु पर्छ,भनेर उनले आग्रह गरेका थिए ।
