आयुर्वेद सेवामा सरावल गाउँपालिका जिल्ला मै प्रथम

नवलपरासी,२३ असोज
आयुर्वेद पद्यतीले स्वास्थ्य सेवा पुर्याउदै आएका आयुर्वेद सेवा केन्द्र मध्ये जिल्ला भित्र सरावल गाउपालिकाको आयुर्वेद शाखा पहिलो भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति मूल्याङ्कनमा सरावल गाउँपालिकाको आयुर्वेद शाखा जिल्ला भित्रका आयुर्वेद स्वास्थ्य संस्था मध्ये प्रथम भएको हो ।
नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले सरावल आयुर्वेद शाखालाई उत्कृष्ट घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको हो । जिल्ला भित्रका विभिन्न स्थानीय तहमा सञ्चालित आयुर्वेद स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, औषधि वितरण, जनचेतनामूलक कार्यक्रम, वार्षिक प्रगति तथा प्रशासनिक व्यवस्थापनलगायतका सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सरावल आयुर्वेद शाखा उत्कृष्ट ठहरिएको गाउपालिकाले जानकारी गराएको थियो । आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रयास तथा समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन शाखाले गरेको कामको मूल्याङ्कन गर्दै प्रथम स्थान प्रदान गरिएको जनाइएको छ । शाखाको यस उपलब्धिले स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको विकास र विस्तारमा सकारात्मक सन्देश दिएको छ ।
जिल्लामा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले सरावल आयुर्वेद शाखालाई सम्मान गर्दै प्रशंसा–पत्र प्रदान गरेका थिए । उनले आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालन र सामुदायिक स्वास्थ्य प्रवद्र्धनमा शाखाले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए । “आयुर्वेद स्वास्थ्य सेवामा सरावलको समर्पणले उदाहरण प्रस्तुत गरेको छ, उनले भने, आगामी दिनमा अझ उत्कृष्ट कार्यको अपेक्षा गर्दछौँ।”
कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसै गरी कार्यालय प्रमुख तथा आयुर्वेद चिकित्सक डा. अर्चना शुक्ला विशेष अतिथिका रूपमा उपस्थित थिइन । कार्यक्रममा आयुर्वेद स्वास्थ्य सेवाको अवस्था, यसको प्रभावकारिता तथा स्थानीय तहमा नागरिकलाई उपलब्ध गराइने सेवाको महत्त्वबारे चर्चा गरिएको थियो । समारोहमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र सरावल आयुर्वेद शाखा प्रमुख सन्तोष कोहारलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । सरावल गाउपालिका अन्य स्वास्थ्य सेवामा पनि जिल्लामा दोश्रो स्थान प्राप्त गरेको थियो । शाखाले प्राप्त गरेको यो सम्मान स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवालाई प्राथमिकताका साथ अघि बढाउन गरिएको प्रयासको उपलब्धिका रूपमा हेरिएको छ । आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको पहुँच र विश्वास बढाउन स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, आवश्यक औषधिको उपलब्धता तथा जनचेतनामूलक कार्यक्रमको महत्त्वपूर्ण भूमिका गर्दै आएको अध्यक्ष चौधरीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *