
नवलपरासी,६ मंसिर
भगवान् गौतम बुद्धसँग प्रत्यक्ष ऐतिहासिक तथा धार्मिक सम्बन्ध जोडिएको जिल्लाको सरावल २ जावा स्थित प्राचीन ककरपत्ता नगर क्षेत्र पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । कोलवृक्ष रहेको प्राचीन ककरपत्ता नगर सरावल गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक भए पनि त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण हुन नसक्दा पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको स्थानीयले बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १०० पर्यटकीय गन्तव्यमा समावेश गरेको यस ऐतिहासिक स्थलको विकास र संरक्षणमा गाउँपालिकाले पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ । पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण बुद्धस्थलसम्म पुग्ने बाटोसमेत व्यवस्थित हुन नसक्नु दुःखद भएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार विगतका जनप्रतिनिधिले ककरपत्ता नगरको विकास, प्रचारप्रसार र संरक्षणमा जति चासो दिएका थिए, अहिलेका जनप्रतिनिधिले त्यति प्राथमिकता दिएको अनुभूति हुन सकेको छैन । सामान्य पूर्वाधारसमेत निर्माण हुन नसक्दा ऐतिहासिक महत्वको स्थल विस्तारै ओझेलमा पर्दै गएको स्थानीय नरेन्द्र चौधरीले बताएका थिए ।
उनका अनुसार ककरपत्ता नगर केवल एउटा पुरानो बस्ती वा पर्यटकीय क्षेत्र मात्र होइन, भगवान् बुद्धको जीवनदर्शन र उपदेशसँग जोडिएको महत्वपूर्ण ऐतिहासिक स्थल हो । यस्तो महत्वको क्षेत्रलाई गाउँपालिकाले विकासको प्राथमिकतामा राख्नुपर्ने भए पनि अपेक्षित काम हुन नसकेको उनको गुनासो छ । बुद्धले गृहस्थ सुखको उपदेश दिएको ऐतिहासिक स्थल हो, उनले भने, बौद्ध साहित्यमा उल्लेख भएअनुसार भगवान् गौतम बुद्ध आफ्नो धर्मयात्राका क्रममा तत्कालीन कोलिय गणराज्यअन्तर्गत पर्ने ककरपत्त नगर पुगेका थिए । त्यहाँका प्रमुख दीर्घजानु (व्यग्घपज्ज) ले बुद्धसमक्ष गृहस्थ जीवन बिताउने मानिसले कसरी सुखी जीवनयापन गर्न सक्छन् र मुक्ति अर्थात् आध्यात्मिक कल्याणको मार्गमा कसरी अघि बढ्न सक्छन् भन्ने विषयमा प्रश्न गरेका थिए ।
दीर्घजानुको प्रश्नको उत्तरमा भगवान् बुद्धले गृहस्थ जीवन बिताउने व्यक्तिका लागि आवश्यक व्यवहारिक तथा आध्यात्मिक शिक्षासहितको धर्मदेशना दिनुभएको बौद्ध साहित्यमा उल्लेख छ । उक्त उपदेशलाई त्रिपिटकको सुत्तपिटक अन्तर्गत अंगुत्तर निकायमा ’दीघजानु सुत्त’ अर्थात् ’व्यग्घपज्ज सुत्त’ का रूपमा उल्लेख गरिएको छ । यस सुत्तमा भगवान् बुद्धले गृहस्थ जीवनमा इहलौकिक सुख प्राप्त गर्न चार आधार र पारलौकिक सुख प्राप्त गर्न चार आधारबारे शिक्षा दिएका थिए । इहलौकिक सुखका लागि उद्योग सम्पदा अर्थात् परिश्रम र सीप, आरक्ष सम्पदा अर्थात् आर्जित सम्पत्तिको संरक्षण, कल्याणमित्रता अर्थात् असल मित्रको संगत र समजीविकता अर्थात् आम्दानीअनुसार सन्तुलित जीवनयापन गर्नुपर्ने शिक्षा बुद्धले दिएका थिए ।
त्यसैगरी पारलौकिक सुखका लागि श्रद्धा, शील, त्याग अर्थात् उदारता र प्रज्ञालाई महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका थिए । यसले गृहस्थ जीवनमा आर्थिक समृद्धि, नैतिक आचरण, सामाजिक सम्बन्ध र आध्यात्मिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने बुद्धको सन्देश दिन्छ । ऐतिहासिक महत्वअनुसार विकास हुन सकेन, स्थानीय चौधरीले भने, यति महत्वपूर्ण बुद्धस्थल भए पनि यसको संरक्षण, प्रचार प्रसार र पर्यटकीय पूर्वाधार निर्माणमा अपेक्षित काम हुन सकेको छैन । “भगवान् बुद्धले गृहस्थ जीवन बिताउने मानिसलाई सुखी जीवन कसरी बिताउने र इहलौकिक तथा पारलौकिक सुख कसरी प्राप्त गर्ने भन्ने शिक्षा दिनुभएको स्थल हो।
यस्तो ऐतिहासिक महत्वको क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राख्नुपर्ने हो, उनले थपे, तर अहिले यो क्षेत्र ओझेलमा पर्दै गएको छ,” । उनका अनुसार सबैभन्दा पहिले ककरपत्ता नगरसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्न आवश्यक छ । त्यसपछि स्थलको पहिचान, ऐतिहासिक महत्व झल्किने संरचना, सूचना पाटी, पर्यटकका लागि आवश्यक सुविधा र व्यवस्थित संरक्षणको काम अघि बढाउनुपर्ने देखिन्छ । ककरपत्ता नगरको ऐतिहासिक तथा धार्मिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके बौद्ध धर्मावलम्बी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले ककरपत्ता नगरको विकासका लागि आवश्यकताअनुसार काम गर्न नसकिएको स्वीकार गरेका छन् । उनले आगामी दिनमा ककरपत्ता नगरको संरक्षण तथा विकासलाई प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता जनाए । ककरपत्त नगरको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै त्यहाँ आवश्यक पूर्वाधार निर्माण र संरक्षणका कामलाई अघि बढाइने अध्यक्ष चौधरीको भनाइ छ ।
बुद्धकालीन इतिहास, कोलिय सभ्यता र बौद्ध दर्शनसँग जोडिएको ककरपत्ता नगरको विकास हुन सके सरावल गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्छ । लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत यस क्षेत्रलाई व्यवहारमै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहुँचमार्ग निर्माण, ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र आधारभूत पर्यटकीय सुविधा विस्तारमा स्थानीय सरकारको ध्यान जान आवश्यक देखिन्छ । भगवान् बुद्धले गृहस्थ जीवनका मानिसलाई सुखी र समृद्ध जीवन जिउने मार्ग सिकाएको ऐतिहासिक स्थल आज आफैँ विकास र संरक्षणको पर्खाइमा छ । यसको ऐतिहासिक महत्वलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न सके ककरपत्ता नगर सरावलको मात्र नभई समग्र लुम्बिनी क्षेत्रकै महत्वपूर्ण बौद्ध पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ ।

