
नवलपरासी,२१ असोज
जिल्लाको सुस्ता गाउँपालिका–५ का बाढी प्रभावित नागरिकका लागि विभिन्न संघ–संस्थाले उपलब्ध गराएको राहत सामग्री साता दिन भन्दा बढि भई सक्दा पनि बाडिएको छैन् । वडा कार्यालयले समय मै वितरण नगर्दा पीडितहरू खाद्यान्न अभावमा बस्न बाध्य भएको पिडितहरुले बताएका हुन् ।
बाढी प्रभावित नागरिकका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग बाणिज्य संघ,जरलैया आमा समूह, इन्द्रेणी सामाजिक विकास मञ्च तथा विभिन्न राजनीतिक दलको तर्फबाट त्रिपाल, चामल, दाल, तेल, सोयाबिन, मसला, नुन, चिउरा, नमकिन, चाउचाउ, बिस्कुट, पाउरोटी, पानीलगायतका राहत सामग्री उपलब्ध गराइएको थियो । ती सामग्री सुस्ता–५ का जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको भए पनि १० दिन बितिसक्दा पनि प्रभावित नागरिकसम्म पुग्न सकेका छैनन् । राहतका लागि प्राप्त खाद्यान्न तथा अन्य सामग्री वडा कार्यालयको कोठाभित्र राखिएको छ, एक स्थानियले भने, बाढीका कारण घर तथा दैनिक जीवन प्रभावित भएका नागरिकलाई तत्काल राहत आवश्यक रहे पनि सामग्री वितरणमा ढिलाइ भए पछि पीडित परिवारमा असन्तुष्टि बढेको छ ।
२०८३ असोज ८ देखि १२ गतेसम्म आएको बाढीबाट सुस्ता क्षेत्रमा ठूलो प्रभाव परेको थियो । बाढीबाट प्रभावित कतिपय नागरिक अहिले होल्डिङ सेन्टरमा बसिरहेका छन् । त्यहाँ खाद्यान्न अभाव भएको भन्दै स्थानीय नागरिकले सञ्चारमाध्यममार्फत गुनासो गरेका छन् । राहत सामग्री वडा कार्यालयमै थन्किएको अवस्थामा पीडित नागरिकले भने आवश्यक खाद्यान्नका लागि समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ । सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले वडामा राहत सामग्री रहेको स्वीकार गर्दै आफू अहिले नेपाली काँग्रेसको महाधिवेसनमा सहभागि हुन काठमाडौंमा रहेको बताए । राहत सामग्री वितरणमा ढिलाइ हुनुको कारणबारे उनले विस्तृत जानकारी भने दिएनन् ।
राहत वितरणमा भएको ढिलाइबारे जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल राहत सामग्री वितरण गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्थानीय तहको एकद्वार प्रणालीमार्फत बाढी प्रभावित नागरिकलाई तत्काल राहत सामग्री उपलब्ध गराउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छन ्। सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद रेग्मीले वडा कार्यालयमा राखिएका राहत सामग्री तत्काल वितरण गर्न सम्बन्धित सचिवलाई निर्देशन दिइएको बताए । उनका अनुसार राहत सामग्री वितरणकै विषयमा जिल्ला प्रशासन कार्यालयबाट समेत फोन आएको थियो । “राहत सामग्री वितरणकै विषयमा जिल्ला प्रशासन कार्यालयबाट पनि भर्खरै फोन आएको थियो,” उनले भने ।
बाढीबाट प्रभावित नागरिकका लागि सहयोगस्वरूप प्राप्त राहत सामग्री समयमै वितरण हुन नसक्दा विपद्का बेला राज्य संयन्त्र तथा स्थानीय तहको समन्वय र व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ । पीडित नागरिकले तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । पिडितका लागि विभिन्न दातृ संघसंस्थाले उपलब्ध गराउने राहत समाग्रि वितरण नगुर्न दुःखद भएको नेपाल रेडक्रस शाखा नवलपरासीका विपद ब्यवस्थापन उपसमितिका संयोजक अर्जुन बहादुर क्षेत्रीले बताए । राहतमा पनि राजनीति गर्नु यो भन्दा ठूलो दुःखद के हुन्छ ? उनले प्रश्न गरे, मानवता प्रति सम्वेदनहिनताको यो पराकाष्टा भएको औल्याए ।
