धान उत्पादन २० प्रतिशतले वृद्धि, यस वर्ष १ लाख १४ हजार मेट्रिक टन उत्पादन

नवलपरासी,५मंसिर
जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा करिब २० प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको हो ।
अनुकूल मौसम, नियमित वर्षा, रोग तथा कीराको प्रकोपमा कमी र किसानले अपनाएको खेती व्यवस्थापनका कारण धान उत्पादन बढेको हो । नियमित वर्षा, अनुकूल मौसम र गुणस्तरीय बीउको प्रयोगले उत्पादन बढ्यो, गत वर्षभन्दा करिब ७ हजार मेट्रिक टन बढी धान भित्रियो,ज्ञान केन्द्रका कृषि प्राविधिकहरु किसान खुशीका साथ कार्यालयमा आउने गरेको दाबी गर्दै आएका छन् । तर दुःखद पक्ष भने किसानले सरकारले तोकेको समर्थन मुल्य भन्दा कममा धान विक्रि गर्न परिरहेको गुनासो पनि गर्दै आएको प्राविधिकहरुको भनाई रहेको छ ।
प्रकृतिले साथ दियो,सरकारले निर्णय गर्यो,धान उत्पादन तँ बढयो,सरावल ६ का इसरायल धुनियाले भन्छन्,तर किसान ब्यपारीबाट ठगिदै छन् । हिउँदेबालीका लागि धान बेचेर मल विँउ किन्ने बेला ब्यपारीले ३ हजार रुपियासम्म घटाएर लिइने गरेको उनी सुनाउछन् । जबकी सरकारले धान प्रति क्वीन्टल मोटा धानको ३ हजार ६ सय ६० र मध्यम धानको मुल्य प्रति क्वीन्टल ३ हजार ८ सय ६० तोकेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार यस वर्ष जिल्लामा २२ हजार ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख १४ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा १ लाख ७ हजार १ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब ७ हजार मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र परासीका सूचना अधिकारी चन्द्रप्रकाश गुप्ताका अनुसार यस वर्ष धान खेतीका लागि मौसम अनुकूल बने पछि उत्पादनमा सकारात्मक प्रभाव परेको हो । रोपाइँदेखि धान पाक्ने समयसम्म नियमित वर्षा हुनु र खेतमा पर्याप्त चिस्यान कायम रहनुले धानको वृद्धि तथा दाना लाग्ने प्रक्रियामा सहयोग पुगेको उनले बताए । ‘यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। अनुकूल मौसम र नियमित वर्षाका कारण किसानले राम्रो उत्पादन लिन सकेका छन्,’ गुप्ताले भने, ‘गत वर्षको तुलनामा यस वर्ष करिब ७ हजार मेट्रिक टन धान बढी उत्पादन भएको छ।’
उनका अनुसार रासायनिक मलको अभाव देखिए पनि किसानले विभिन्न माध्यमबाट मलखादको व्यवस्थापन गरेका थिए । कृषि सामग्रीमार्फत केही मात्रामा मल उपलब्ध हुनुका साथै खुला सीमावर्ती क्षेत्रका कारण किसानले वैकल्पिक माध्यमबाट समेत मलखादको जोहो गरेका थिए। यसले पनि उत्पादन बढाउन सहयोग पुगेको उनको भनाइ छ । यस वर्ष रोग तथा कीराको प्रकोप तुलनात्मक रूपमा कम हुनु, किसानमा खेती व्यवस्थापनसम्बन्धी सचेतना बढ्नु, गुणस्तरीय बीउको प्रयोग र मलखादको उचित व्यवस्थापनले पनि उत्पादनमा सकारात्मक प्रभाव पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा रामग्राम नगरपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, सुनवलका केही क्षेत्र र बर्दघाट नगरपालिका धान खेतीका प्रमुख पकेट क्षेत्रका रूपमा परिचित छन् । यी क्षेत्रका अधिकांश किसानको मुख्य कृषि उत्पादन धान हो । जिल्लाको भौगोलिक अवस्था र सिँचाइको उपलब्धताअनुसार विभिन्न क्षेत्रमा धान खेती हुँदै आएको छ । त्यस्तै, प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा तथा बदाम खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् । जिल्लामा किसानले हाइब्रिड, साँवा, हर्दिनाथ, कालानमलगायत विभिन्न जातका धान खेती गर्दै आएका छन् । पछिल्लो समय उत्पादन र बजारको मागलाई ध्यानमा राख्दै किसानले धानका विभिन्न जात प्रयोग गर्न थालेका छन् ।
धान उत्पादन वृद्धि गर्न कृषि ज्ञान केन्द्रले गुणस्तरीय बीउको उत्पादन तथा प्रवद्र्धन, मसिना धान खेतीसम्बन्धी कार्यक्रम र कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै आएको सूचना अधिकारी गुप्ताले बताए। सिँचाइका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ । ‘धानको उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउको प्रयोग, मसिना धान खेतीको प्रवद्र्धन तथा सिँचाइ सुविधामा जोड दिएका छौँ,’ गुप्ताले थपे, ‘किसानलाई आवश्यक कृषि उपकरणमा अनुदान उपलब्ध गराउने र बीउको गुणस्तर सुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।’
यस वर्षको उत्पादन वृद्धिले किसानमा उत्साह थपेको छ । पाल्हीनन्दन गाउँपालिका–४ का स्थानीय किसान सन्दीप धवलले गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र गुणस्तर दुवै राम्रो भएको बताए। उनका अनुसार यस वर्ष धानबाट चामल निकाल्दा पनि तुलनात्मक रूपमा बढी चामल प्राप्त भएको छ । ‘गत वर्षभन्दा यस वर्ष धान निकै राम्रो भएको छ । एउटै परिमाणको धानबाट गत वर्षको तुलनामा प्रतिक्विन्टल २५ देखि ३० किलोग्रामसम्म बढी चामल प्राप्त भएको अनुभव छ,’ धवलले भने । धान उत्पादनमा भएको वृद्धिले जिल्लाको खाद्यान्न आपूर्तिमा समेत सकारात्मक योगदान पुग्ने देखिएको छ । तर उत्पादन वृद्धि भए पनि किसानले मलखादको सहज उपलब्धता, सिँचाइ सुविधा, गुणस्तरीय बीउ र कृषि उपजको उचित मूल्य पाउनुपर्ने आवश्यकता अझै कायम छ ।
कृषि क्षेत्रलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउन उत्पादनसँगै भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ । अनुकूल मौसमसँगै आधुनिक कृषि प्रविधि, गुणस्तरीय बीउ र व्यवस्थित सिँचाइको पहुँच विस्तार गर्न सके नवलपरासीलाई धान उत्पादनको अझ बलियो क्षेत्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ । हाईब्रिड र उन्नत धानका साथ साथै बुद्धकालिन धान भनेर चिनिने कालानमक जस्ता पुरानो प्रजातीको धान रोप्ने चलन पनि बढि रहेको केन्द्रले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *