पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण

नवलपरासी,१९ असोज
जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका दुई सामुदायिक विद्यालयको शैक्षिक अवस्था एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ । गाउँपालिकाका दुई विद्यालयबाट गत वर्षको एसईई परीक्षामा सहभागी भएका ६२ विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएकाले शैक्षिक अवस्था कमजोर देखिएको हो ।
पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट कृषि संकायका ८ र साधारणतर्फका १९ गरी २७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा समन्वय इकाईको परीक्षा शाखाका अनुसार तीमध्ये साधारणतर्फका एक जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसै गरि पाल्हीनन्दन गाउँपालिका–१ स्थित बाल शिक्षा निकेतनबाट ३५ विद्यार्थी एसईई परीक्षामा सहभागी भए पनि सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
बाल शिक्षा निकेतनका प्रधानाध्यापक हृदेश शर्माका अनुसार विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विद्यार्थीको सिकाइ प्रभावित भएको हो । गणित विषयमा शिक्षकको अभाव कै कारण विद्यार्थीको नतिजा कमजोर भएको दाबी गर्दै उनले आगामी २०८३ सालमा अध्ययनरत विद्यार्थीलाई उत्तीर्ण गराउने गरी तयारी अघि बढाइएको बताए । आगामी परीक्षामा विद्यार्थीको नतिजा सुधार गर्न विषयगत शिक्षकको व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यार्थीको नियमित अध्ययनमा जोड दिएको छ, उनले भने, यसका लागि अभिभावकहरु समेत जागरुक भई आफ्ना बालबालिकालाई घरमा ध्यान पुर्याउनु पर्ने आवश्यकता देखिन्छ ।
थोरै समय विद्यार्थीले विद्यालयमा दिईने तर धेरै समय घरमै विताउने हुदा अभिभावकहरु पनि जिम्मेवार बन्नु पर्ने उनको भनाई थियो । अहिले कृत्रिम बुद्धिमता(एआई) लगायत डिभिजन माध्यमले पनि धेरै सिकाई गर्न सकिन्छ,उनले थपे,तर त्यसको पनि प्रयोग गरि सिक्न सिकाउनमा अभिभावकले सहयोग गरे सुधार तर्फ लैजान सकिने उनको दाबी थियो । पाल्हीनन्दन–३ का स्थानीय अनिल मिश्राले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र सम्बन्धित निकायको जिम्मेवारी प्रतिको उदासीनता पनि कारण रहेको आरोप लगाए ।
‘लोकसेवा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका शिक्षकले सामुदायिक विद्यालय र विद्यार्थीप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ । विद्यार्थी परीक्षामा अनुत्तीर्ण भइरहँदा पनि विद्यालयमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ,’ मिश्राले भने,थोरै योग्यता तथा कम तालिम प्राप्त भएका निजि विद्यालयका शिक्षकहरु आफ्ना विद्यार्थी प्रति जिम्मेवार र गम्भिर बन्दा निजी विद्यालयको नजिता राम्रो आउने तर सामुदायिक विद्यालयमा धेरै पटक तालिम लिएका,लाईसेन्स पनि लिएका लामो अनुभव भएका शिक्षक छन्,तर विद्यार्थीहरुको भविष्य प्रति गम्भिर नहुदाको यस्तो परिणाम हो । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा शाखा र सम्बन्धित सरकारी निकाय गम्भीर हुनुपर्ने बताए ।
स्थानीयका अनुसार विद्यार्थीको कमजोर नतिजा आए पनि विद्यालयमा नियमित पठनपाठन, विषयगत शिक्षकको उपलब्धता, विद्यार्थीको उपस्थिति तथा सिकाइ उपलब्धिको प्रभावकारी अनुगमन हुन नसकेको गुनासो छ । यसले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वाससमेत कमजोर हुन सक्ने उनीहरूको भनाइ छ । पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुन्दर चौधरी (कुर्मी)ले कक्षा १० का विद्यार्थीको नतिजा सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको बताए । उनका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन तथा अभिभावक शिक्षा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । विद्यार्थीको नियमित उपस्थिति, अतिरिक्त कक्षा र अभिभावकको सहभागितामार्फत आगामी एसईईको नतिजा सुधार गर्ने तयारी भइरहेको उनले बताए ।
सीमावर्ती ग्रामीण क्षेत्रका विद्यालयमा अभिभावकको आर्थिक तथा सामाजिक अवस्थाले पनि विद्यार्थीको नियमित अध्ययनमा प्रभाव पार्ने गरेको चौधरीले बताए । कतिपय अभिभावकले छोराछोरीलाई नियमित विद्यालय पठाउनुभन्दा घरायसी काममा लगाउने गरेको उनको भनाइ छ । ‘विद्यार्थीलाई नियमित विद्यालय पठाउने, घरमा पढ्ने वातावरण बनाउने र विद्यालयसँग निरन्तर सम्पर्कमा रहने जिम्मेवारी अभिभावकको पनि हो,’ चौधरीले भने । विद्यालयमा विषयगत शिक्षकको उपलब्धता, नियमित पठनपाठन, विद्यार्थीको उपस्थिति, अभिभावकको सहभागिता र विद्यालय व्यवस्थापनको प्रभावकारिता कमजोर हुँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने शिक्षा क्षेत्रका सरोकारवालाको भनाइ छ । पाल्हीनन्दनका यी दुई विद्यालयको एसईई नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तह देखि विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकसम्म सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता देखिएको उनले औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *