दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा

सुकरात गौड
नवलपरासी,१७ असोज
जिल्लाको सुनवल नगरपालिकाका युवा इन्जिनियर राजेश शर्मा चापागाईँले सुनवलको समृद्धिका सपनाको खोजमा लागेका छन् । उनी सोही क्रममा नगरपालिकाको दुर्गम पहाडी क्षेत्र महलपोखरीस्थित सामुदायिक विद्यालयको अवलोकन गर्दै स्थानीय अवस्था र सम्भावनाबारे जानकारी लिएका छन्।
अवलोकनका क्रममा उनले विद्यालयका बालबालिकासँग अनौपचारिक कुराकानी गर्दै उनीहरूलाई अध्ययनप्रति उत्साहित गराएका थिए। दुर्गम क्षेत्रमा पुगेर स्थानीय बालबालिका तथा समुदायसँग प्रत्यक्ष भेटघाट गर्दा आफूले सुनवललाई हेर्ने दृष्टिकोणमा समेत फरक अनुभूति भएको उनले बताए । सुनवललाई राजमार्ग आसपासको सुगम बजार क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताउँदै शर्माले नगरपालिकाभित्र रहेका पहाडी तथा दुर्गम क्षेत्रको सम्भावनालाई पनि विकाससँग जोड्नुपर्ने धारणा राखे ।

पैदल यात्रा गर्दै महलपोखरी पुगेका उनले बाटाघाटा तथा आवागमनको अवस्थालाई नजिकबाट अवलोकन गरेका थिए। त्यस क्रममा दुर्गम पहाडी क्षेत्रका बासिन्दाले भोगिरहेका भौतिक पूर्वाधार र पहुँचसम्बन्धी समस्यालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिलेको उनले बताए । शर्माका अनुसार दुर्गम क्षेत्रलाई सुगम बजारसँग जोड्ने पूर्वाधार निर्माण गर्न सकिएमा त्यसले स्थानीय बासिन्दाको आवागमन र दैनिक आवश्यकतामा सहजता ल्याउनुका साथै नयाँ आर्थिक अवसरसमेत सिर्जना गर्न सक्छ। सडक तथा अन्य आधारभूत पूर्वाधारसँगै पहाडी क्षेत्रलाई पदमार्ग, साहसिक पर्यटन र पर्यापर्यटनसँग जोड्न सके दुर्गम क्षेत्रलाई विकासको अवसरमा रूपान्तरण गर्न सकिने उनको भनाइ छ ।
“दुर्गमलाई सुगमसँग जोड्नु भनेको केवल पहुँच विस्तार गर्नु मात्र होइन, त्यहाँ रहेका प्राकृतिक र पर्यटकीय सम्भावनालाई आर्थिक अवसरमा बदल्नु पनि हो,” शर्माले बताए । उनले सुनवल नगरपालिकाको समृद्धिका लागि राजमार्ग क्षेत्रमा केन्द्रित विकास अवधारणासँगै पहाडी क्षेत्रको सम्भावनालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। प्राकृतिक सौन्दर्य, पहाडी भूगोल, पदमार्ग तथा स्थानीय जीवनशैलीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उनको धारणा छ । दुर्गम क्षेत्रका बासिन्दालाई शिक्षा, स्वास्थ्य, बजार र अन्य आवश्यक सेवामा सहज पहुँच पु¥याउन पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्दै शर्माले विकाससँगै पर्यटनको सम्भावनालाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने बताए ।

उनका अनुसार सुगम बजार क्षेत्र र दुर्गम पहाडी बस्तीबीच प्रभावकारी यातायात तथा पदमार्गको सञ्जाल विकास गर्न सके दुर्गम क्षेत्रका उत्पादनलाई बजारसम्म पु¥याउन तथा बजार क्षेत्रका पर्यटकलाई पहाडसम्म लैजान सकिन्छ। यसले स्थानीय रोजगारी, व्यवसाय र आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सक्ने सम्भावना रहेको उनले बताए । महलपोखरी क्षेत्रको भ्रमणपछि शर्माले सुनवल नगरपालिकाभित्र रहेको भौगोलिक विविधतालाई विकासको चुनौतीका रूपमा मात्र नभई सम्भावनाका रूपमा हेर्नुपर्ने अनुभव सुनाए। दुर्गम पहाडलाई पहुँच, पूर्वाधार र पर्यटनसँग जोड्न सके सुनवलको समग्र समृद्धिमा त्यस क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *