पाँच करोडमा निर्माण भई दुई बर्ष देखी अलपत्र परासी बसपार्क सञ्चालनमा आउने

नवलपरासी,३ मंसिर
जिल्लाको सदरमुकाम परासीमा करोडौँ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको तर दुई बर्ष देखी अलपत्र परेको परासी बसपार्क सञ्चालन हुने भएको छ । पहुँच मार्गको नबनेको कारण देखाउदै अलपत्र बनाइएका बसपार्क अहिले सञ्चालनमा ल्याउनका लागि सघन शहरी विकास कार्यक्रमका प्राविधिकहरुले अवलोकन गरि आवश्यक अन्य पुर्वाधार बनाई दिइने जनाए पछि बसपार्क सञ्चालन हुने देखिएको स्थानिय अर्जुन बहादुर क्षेत्रीले बताएका हुन् ।
बसपार्क सञ्चालनका लागि अहिलेका संघिय साँसद प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले विशेष चाँसो लिई बजेट राख्न लगाए पछि सञ्चालन हुनेमा क्षेत्रीले विश्वास देखाए । साँसद गुप्ताले रामग्राम नगरपालिका भित्र करिब २० करोड रुपिया सघन शहरी विकासका लागि विनियोजन गर्न लगाएका छन्, उनले भने,त्यसै मध्येबाट बसपार्कका पहुँच मार्ग तथा अधुरा कार्य गरेर सञ्चालन हुने छ । प्राविधिकहरुले सो बसपार्कको बुधवार स्थलगत अवलोकन गरेर गएको उनले सुनाए । बसपार्क साँसद गुप्ता रामग्राम नगरपालिकाको मेयर हुदा निर्माण गर्न लगाएका थिए र अहिले सञ्चालनका लागि आवश्यक पहल गरिरहेको उनको स्वीकिय सचिव ज्ञानेश्वर सहानीले जानकारी गराए । शहरी विकास कार्यालयले सो बसपार्क दुई बर्ष पहिला नै नगरपालिकालाई सञ्चालन गर्न हस्तानान्तरण गरेको थियो । तर नगरपालिकाले विभिन्न बहाना बनाउदै सञ्चालनमा ल्याएन,अब छिट्टै सञ्चालन हुने उनको भनाई थियो ।
लामो समयदेखि परासीमा व्यवस्थित बसपार्क निर्माणको माग हुँदै आएको थियो । स्थानीयको माग र नगरपालिकाको पहल अनुसार सरकारले रामग्राम नगरपालिका–४ केरवानीस्थित झरहीखोला किनारमा पाँच करोड रुपैयाँभन्दा बढी लागतमा बसपार्क निर्माण गरेको थियो । निर्माण कार्य सम्पन्न भएपछि दुई वर्ष अघि नै सञ्चालनमा आउने अपेक्षा गरिएको थियो। तर, पहुँच मार्गको समस्या देखाउँदै नगरपालिका सञ्चालनको जिम्मेवारीबाट पन्छिँदा बसपार्क प्रयोगविहीन बनेको थियो । बसपार्क सञ्चालनमा नआउँदा करोडौँ रुपैयाँको सरकारी लगानी खेर गइरहेको स्थानीयको गुनासो थियो ।
निर्माणमा पाँच करोड रुपैयाँभन्दा बढी खर्च गर्ने निकायले थप एक करोड रुपैयाँ लगानी गरेर पहुँच मार्गसमेत बनाइ दिएको भए अहिले बसपार्क सञ्चालनमा कुनै समस्या नहुने नागरिक समाजका पूर्वअध्यक्ष राधेश्याम सिंह सैथवार बताए । यसका लागि नगरपालिकाले चाँसो लिएन,तर बसपार्कको निर्माण गराउने मेयर गुप्ता आफै साँसद भए पछि बजेट हाल्न लगाएका छन्, बसपार्क छिट्टै सञ्चालन हुने आश उनले ब्यतm गरे । ‘अर्बौँ रुपैयाँको बजेट बनाउने नगरपालिकाले एउटा पहुँच मार्गसमेत बनाउन नसक्नु विडम्बना हो,’ उनले भने, ‘बसपार्क बनाउने निकायले आफ्नो काम पूरा गरिसकेको छ । अब नगरपालिकाले आफ्नो जिम्मेवारी नलिए पनि साँसद गुप्ताले नै बजेट हालेर सञ्चालनका लागि पहल गर्ने उनको भनाई थियो ।
उनका अनुसार बसपार्कसम्म पुग्ने बाटो कुनै नयाँ सडक नभई नगरपालिका कै पुरानो सार्वजनिक सडक हो । स्थानीयले परापूर्वकालदेखि आवत जावत गर्दै आएको उक्त सडकलाई नगरपालिकाले आफ्नै जिम्मेवारी सम्झेर स्तरोन्नति र मर्मत गरेको भए यातायातका साधन सहजै बसपार्कसम्म पुग्न सक्थे । बसपार्क निर्माणका लागि नगरपालिका कै आग्रहमा स्थानीयले आफूहरूले उपयोग गर्दै आएको सार्वजनिक जग्गा उपलब्ध गराउन सहमति जनाएका थिए । लामो समयदेखिको सदरमुकाममा व्यवस्थित बसपार्क हुनुपर्ने माग पूरा हुने आशामा स्थानीयले सहयोग गरेका थिए । बसपार्कमा बस पार्किङ गर्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउण्ड, उद्यान, प्रवेशद्वार तथा सुरक्षा गार्ड कक्षलगायतका पूर्वाधार निर्माण भइसकेका छन्। आवश्यक रंगरोगनसमेत सम्पन्न गरिएको छ ।
भैरहवा–भूमही बन्दरगाह मार्गबाट करिब एक किलोमिटर दक्षिणमा रहेको बसपार्क महेशपुर–परासी–सुनवल सडकसँग पनि जोडिने स्थानमा अवस्थित छ । रामग्राम नगरपालिका–४ को वडा कार्यालयबाट करिब पाँच सय मिटर उत्तरमा रहेको उक्त बसपार्क दुवैतर्फबाट सडक सञ्जालसँग जोडिने अवस्थामा छ । कार्यालयले दुई वर्षअघि नै हस्तान्तरणसम्बन्धी पत्रमा हस्ताक्षर गरी रामग्राम नगरपालिकालाई बसपार्क बुझाइसकेको थियो । अन्य आवश्यक पूर्वाधार क्रमशः विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत कार्यालयले गरेको थियो । तर, नगरपालिकाले चासो दिएर सञ्चालन प्रक्रिया अघि बढाउनुपर्नेमा पूर्ण पूर्वाधार नबनेको र हस्तान्तरण नभएको भन्दै पन्छिन खोजेको उनको भनाइ थियो ।
परासी बजारमा बस सञ्चालन र पार्किङको समस्या भने यथावत् छ । सदरमुकामका बसहरू बाइपास चोकनजिकै निजी जग्गा भाडामा लिएर बस स्ट्यान्डका रूपमा प्रयोग गर्न बाध्य छन् । सडक किनारमा बस रोक्ने र यात्रु चढाउने–ओराल्ने गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भइरहेको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको भनाइ छ । परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौं, बुटवललगायतका स्थानमा नियमित यातायात सेवा सञ्चालन हुँदै आएको छ । निर्माण सम्पन्न बसपार्क सञ्चालनमा आए यी सबै रुटका सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने थियो। बाहिरबाट आएका सवारीसाधनलाई केही समय रोक्नुपर्दा पनि बजार क्षेत्रको सडक प्रयोग गर्नुपर्ने बाध्यता हट्ने थियो । साथै, बसपार्क सञ्चालनले केरवानी क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार भई नयाँ बजार विकासमा समेत सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।
स्थानीयले बसपार्क सञ्चालनका लागि नगरपालिकासँगै स्थानीय प्रशासन र ट्राफिक प्रहरीको भूमिका पनि आवश्यक रहेको औँल्याएका छन् । बसपार्क सञ्चालनसँगै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि नजिकै प्रहरी बिट स्थापना गर्नुपर्ने उनीहरूको माग छ । निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बसपार्क सञ्चालन नहुनुले विकास निर्माणमा पूर्वाधार निर्माणसँगै त्यसको उपयोग र व्यवस्थापनबारे पनि स्पष्ट योजना आवश्यक रहेको देखाएको छ । करोडौँ रुपैयाँ खर्चेर बनाइएको संरचना सञ्चालनमा ल्याउन नसक्नु केवल पहुँच मार्गको समस्या मात्र होइन, सरकारी निकायबीचको समन्वय र जिम्मेवारीप्रतिको जवाफदेहितामाथि पनि प्रश्न थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *