
नवलपरासी,३० कातिक
भगवान् गौतम बुद्धको अस्तिधातु रहेको ऐतिहासिक रामग्राम स्तुप नजिकै हिन्दु सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको रामजानकी मन्दिर पर्यटकिय आकर्षण बनेको छ । गत रामग्राम नगरपालिका ७ उजैनी क्षेत्रमा पर्ने उक्त मन्दिर करिब २५ लाख रुपैयाँको निजी लगानीमा निर्माण गरिएको उतm मन्दिर पर्यटक आकर्षण गर्दै आएको हो ।
उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका ओम प्रकाश अग्रहरीको लगानीमा निर्मित उतm मन्दिर निर्माणसँगै रामजानकीको मूर्ति स्थापना तथा प्राणप्रतिष्ठा गरी गत बर्ष नै नौ दिनसम्म रामलीला कार्यक्रम समेत सञ्चालन गरिएको थियो । रामग्राम स्तुपको पश्चिमतर्फ झरही नदीपारि रहेको रामजानकी मन्दिरमा धार्मिक तथा सांस्कृतिक गतिविधि बढाउन स्थानीयले पहल गर्दै आएका थिए । रामलीला कार्यक्रमका लागि भगवान् रामको जन्मभूमि अयोध्याबाट धर्मगुरु, प्रवचनकर्ता तथा कलाकारहरू सहभागी भएका थिए ।
रामजानकी मन्दिरका अध्यक्ष अग्रहरीका अनुसार उक्त स्थानमा प्राचीनकालदेखि नै सानो आकारको मन्दिर तथा कुटी रहँदै आएको थियो । स्थानीयको मागअनुसार पुरानो मन्दिरलाई यथास्थितिमा संरक्षण गर्दै छेउमै नयाँ ठूलो मन्दिर निर्माण गरिएको हो । विगतदेखि नै त्यहाँ पुजारी, साधुसन्त बस्दै आएको र हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ तथा कार्यक्रम हुँदै आएको उनले बताए ।
स्थानीय जानकारहरूका अनुसार रामग्राम स्तुप र रामजानकी मन्दिर दुवै क्षेत्र प्राचीन धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थल हुन् । बौद्धकालमा कोलिय गणराज्यका शासकहरूले भगवान् बुद्धको महापरिनिर्वाणपछि प्राप्त अस्तिधातु राखेर रामग्राम स्तुप निर्माण गराएको ऐतिहासिक मान्यता छ । पछि सम्राट् अशोकले विभिन्न स्थानमा स्तुप निर्माण गर्ने क्रममा रामग्राम स्तुप उत्खनन गर्न खोजे पनि त्यहाँ पूजा तथा ध्यान गर्दै आएका नागवंशीहरूको आग्रहमा उत्खनन नगरेको जनश्रुति छ । बरु स्तुप नजिकै पोखरी, बौद्ध विहार तथा उपासकहरूको आवास निर्माण गराएको बताइन्छ । ती ऐतिहासिक गतिविधिसँग जोडिएका क्षेत्र अहिले रामग्राम नगरपालिका–७ देउरवा आसपासमा रहेका छन् ।
त्यसैगरी हजारौँ भिक्षुहरूको बसोबास तथा विश्रामका लागि संघाराम र ठूलो पोखरी निर्माण गरिएको स्थान रामग्राम नगरपालिका–१७ देवगाउँ क्षेत्रमा रहेको स्थानीय जानकारहरूको भनाइ छ । पछिल्लो समय पुरातात्विक खोज तथा अनुसन्धानले यस क्षेत्रको ऐतिहासिक पहिचान उजागर गर्ने प्रयास भइरहेको छ । मौर्य शासनको अन्त्यपछि मगधमा सत्ता परिवर्तनसँगै बौद्ध विहार तथा धार्मिक स्थलहरू प्रभावित भएको इतिहास पनि यस क्षेत्रको चर्चासँग जोडिने गरेको छ । मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्यापछि सेनापति पुष्यमित्र शुङ्गले सत्ता हातमा लिएका थिए । उनको शासनकालमा बौद्ध धर्मावलम्बी तथा विहारमाथि दमन भएको ऐतिहासिक विवरण पाइन्छ । स्थानीय जानकारहरूले त्यसै क्रममा रामग्राम स्तुप तथा आसपासका बौद्ध संरचनाहरू पनि प्रभावित भएको हुन सक्ने अनुमान गर्दै आएका छन् ।
स्तुप नजिकै रहेको उजैनी गाउँको नामसमेत उज्जैनबाट आएका सैनिकहरूको बसोबाससँग जोडेर व्याख्या गर्ने स्थानीयहरू छन् । यद्यपि रामजानकी मन्दिरको स्थापना कहिले र कसरी भएको हो भन्ने विषयमा थप ऐतिहासिक तथा पुरातात्विक अनुसन्धान आवश्यक देखिन्छ ।
नागरिक समाजका पूर्वअध्यक्ष राधेश्याम सिंह सैथवारले रामजानकी मन्दिर र रामग्राम स्तुप दुवै धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र भएकाले समान रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । उनका अनुसार रामजानकी मन्दिर हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो भने रामग्राम स्तुप बौद्ध धर्मावलम्बीको अन्तर्राष्ट्रिय महत्व बोकेको सम्पदा हो । दुवै स्थलको ऐतिहासिक पहिचान र धार्मिक महत्वलाई जोडेर पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।
उनले रामग्राम स्तुप क्षेत्रमा थाइल्यान्ड, कोरिया, चीन र जापानका बौद्ध धर्मावलम्बी तथा संस्थाहरूले जग्गा खरिद गरी विहार निर्माणको पहल गरिरहेको भए पनि नेपाल सरकारबाट नेपाली बौद्ध विहार तथा अन्य धार्मिक संरचनाको विकासमा पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे । रामग्राम नगरपालिका पनि ऐतिहासिक रामग्राम स्तुपकै नामबाट स्थापना भएको हो । स्तुप क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि रामग्राम विकास कोष स्थापना गरी काम हुँदै आएको छ । तर स्तुपसँगै जोडिएको रामजानकी मन्दिरको विकासमा स्थानीयस्तरबाट भइरहेको पहलले धार्मिक पर्यटनको अर्को सम्भावना थपेको छ । बौद्ध दर्शनमा स्तुपको विशेष महत्व छ । भगवान् बुद्धको महापरिनिर्वाणपछि वितरण गरिएको अस्तिधातु राखेर निर्माण गरिएका स्तुपमध्ये रामग्राम स्तुप मौलिक स्वरूपमा सुरक्षित रहेको महत्वपूर्ण स्थल मानिन्छ । यसै कारण विश्वभरका बौद्ध धर्मावलम्बीका लागि रामग्राम विशेष आस्थाको केन्द्र बनेको छ ।
रामग्राम स्तुप र रामजानकी मन्दिरलाई एउटै धार्मिक तथा ऐतिहासिक पर्यटन मार्गका रूपमा विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सकिने स्थानीयको अपेक्षा छ । बौद्ध र हिन्दु दर्शनसँग सम्बन्धित यी दुई स्थलको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा राज्य तथा स्थानीय समुदायले सहकार्य गर्न सके रामग्रामको धार्मिक पर्यटनले नयाँ पहिचान बनाउन सक्ने देखिन्छ ।
