आमाबुबाको सम्झनालाई समाजसेवामा रूपान्तरण गर्दै बालगोविन्द, धर्मशालासहित वृद्धाश्रम निर्माण

नवलपरासी,२९ कातिक
सन्तानका लागि आमाबुबा जीवनका सबैभन्दा ठूला आधार हुन् । उनीहरूले जीवनभर गरेको त्याग, मिहिनेत र संघर्षकै जगमा सन्तानको भविष्य निर्माण हुन्छ । तर आमाबुबा संसारबाट बिदा भएपछि उनीहरूको सम्झना गर्ने तरिका सबैको एउटै हुँदैन । कसैले तस्बिरमा सम्झिन्छन्, कसैले वार्षिकी मनाउँछन् भने कसैले उनीहरूको नाममा समाजका लागि उपयोगी काम गरेर सम्झनालाई जीवन्त राख्ने प्रयास गर्छन् ।
यस्तै उदाहरण बनेका छन् रामग्राम नगरपालिका–५ मा बसोबास गर्दै आएका व्यवसायी बालगोविन्द जैसवाल । उनले आफ्ना दिवंगत आमाबुबाको सम्झनालाई समाजसेवासँग जोड्दै जन्मथलो रामग्राम नगरपालिका–१६, सबुनी गाँउमा धर्मशालासहित वृद्धाश्रम निर्माण गरिरहेका छन् । आमा बदामी र बुबा कन्हैयाको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले उनले जिल्ला प्रशासन कार्यालयमा ‘बदामी कन्हैया स्मृति संस्था’ दर्ता गराएका छन् । सोही संस्थामार्फत धर्मशालाको भवन र सभाहल निर्माणको काम अघि बढाइएको छ । व्यक्तिगत सम्झनालाई सामुदायिक हितसँग जोड्ने उनको यो प्रयासले गाउँमा सकारात्मक सन्देशसमेत दिएको छ ।
जैसवालका अनुसार निर्माण कार्यमा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ । निर्माण सम्पन्न गर्न करिब एक करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । हाल करिब तीन कठ्ठा जग्गामा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । भविष्यमा थप जग्गाको आवश्यकता परे उपलब्ध गराउँदै जाने उनको योजना छ । ‘आमाबुबाको सम्झनामा केही यस्तो काम गरौँ, जसबाट उहाँहरूको नाम पनि रहिरहोस् र समाजलाई पनि फाइदा पुगोस् भन्ने सोचले यो काम सुरु गरेको हुँ,’ जैसवालले बताए । उनका अनुसार यो संरचना व्यक्तिगत इच्छामा मात्रै नभई गाउँसमाजको निर्णय, सहमति र सहभागितामा निर्माण भइरहेको छ। गाउँलेको आवश्यकता र सुझावलाई समेत ध्यानमा राखेर पूर्वाधार तयार पारिएको उनले बताए ।
आध्यात्मिक अभ्यासदेखि सामाजिक भोजसम्म कार्यक्रम गर्ने योजना सुनाए । निर्माणाधीन धर्मशाला केवल भवनमा सीमित रहने छैन । त्यहाँ नियमित आध्यात्मिक अभ्यास तथा धार्मिक गतिविधि सञ्चालन गर्ने योजना पनि रहेको जैसवालले बताए । यसले स्थानीय बासिन्दालाई सामूहिक रूपमा भेला हुने, आध्यात्मिक चिन्तन गर्ने र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने अवसर दिनेछ । त्यस्तै गाउँसमाजलाई आवश्यक पर्ने विभिन्न सामूहिक कार्यमा पनि भवन र सभाहल उपयोग गर्न सकिनेछ । सामूहिक भोज, व्रतबन्ध, विवाह तथा अन्य सामाजिक कार्यक्रम आयोजना गर्न स्थानीयले यसको प्रयोग गर्न सक्ने उनको भनाइ छ । धर्मशालासँगै वृद्धाश्रमको अवधारणा अघि सारिनुले पनि यस निर्माण कार्यलाई थप अर्थपूर्ण बनाएको छ। परिवार र समाजबाट टाढिँदै गएका ज्येष्ठ नागरिकलाई आश्रय, सम्मान र आत्मीयता प्रदान गर्ने उद्देश्यले वृद्धाश्रम निर्माणको सोच बनाइएको उनले बताए ।
सो कार्यको गाउँलेको प्रशंसा गर्दै समाजमा उदाहरणिय कार्य भएको भएको बताएका थिए । आमाबुबाको स्मृतिमा निर्माण भइरहेको यस संरचनाप्रति स्थानीय बासिन्दाले प्रशंसा व्यक्त गरेका छन् । आमाबुबाले जीवनभर आर्जन गरेको सम्पत्तिलाई केवल व्यक्तिगत उपभोगमा सीमित नराखी समाजको हितमा खर्च गर्ने जैसवालको प्रयास अनुकरणीय रहेको स्थानीयको भनाइ छ । एक स्थानीयले भने, ‘धेरैले आमाबुबाको सम्पत्ति त उपभोग गर्छन्, तर उहाँहरूको नाम र सम्झना चिरकालसम्म रहिरहने गरी समाजका लागि काम गर्ने सोच कमैले राख्छन् । बालगोविन्दजीले गरेको काम प्रशंसनीय र अरूका लागि पनि अनुकरणीय छ।’ आमाबुबाप्रतिको सम्मान केवल औपचारिक श्रद्धाञ्जलीमा सीमित नराखी उनीहरूको नाममा समाजलाई उपयोगी सम्पदा हस्तान्तरण गर्नु फरक सोच र सामाजिक उत्तरदायित्वको उदाहरण भएको स्थानीयको बुझाइ छ ।
व्यक्तिगत सम्पत्ति र पारिवारिक स्मृतिलाई सामुदायिक आवश्यकतासँग जोड्ने जैसवालको प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ—मानिसको जीवन समाप्त भए पनि उसले समाजका लागि गरेको सत्कर्म भने लामो समयसम्म जीवित रहन सक्छ । निर्माणाधीन धर्मशाला र वृद्धाश्रमले पूर्णता पाएपछि सुवर्णी गाउँका बासिन्दाका लागि सामाजिक, धार्मिक र आध्यात्मिक गतिविधिको साझा थलो बन्ने अपेक्षा गरिएको छ । आमाबुबाको सम्झनामा सुरु गरिएको यो अभियानले भावी पुस्तालाई पनि आफ्ना अभिभावकप्रतिको सम्मान समाजसेवामार्फत व्यक्त गर्न प्रेरित गर्न सक्नेछ । आमाबुबाको नाममा बनिरहेको यो भवन इँटा, सिमेन्ट र छानाले बनेको संरचना मात्र होइन, उनीहरूप्रतिको सन्तानको कृतज्ञता र समाजप्रतिको जिम्मेवारी जोडिएको एउटा सम्झना बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *