
नवलपरासी,१ मंसिर
सरावल उद्योग बाणिज्य संघले आयोजना गरेको औद्योगिक ब्यपार मेला महोत्सव २०८३ को एउटा स्टलमा दुई जना महिलाहरु आफ्ना परम्परागत दुना टपरी प्रदर्शनी तथा विक्रिका लागि बसेकी छिन् । उनीहरु आफ्नै समुहले उत्पादन गरेको दुना टपरीलाई नयाँ दृष्किोणबाट सन्देश र ब्यवसाय दुबैलाई जोड्ने प्रयासमा छिन् ।
कुनै समय नेपाली समाजका भोजभतेर, पूजापाठ, धार्मिक अनुष्ठान र सामाजिक संस्कारमा दुना–टपरीको प्रयोग अनिवार्य जस्तै थियो । सालका पातबाट बनाइने दुना–टपरीमा खानेकुरा राख्ने र खुवाउने चलन गाउँघरको मौलिक पहिचान पनि थियो । तर समयसँगै प्लास्टिक र कागजका प्लेट तथा भाँडाको प्रयोग बढेपछि परम्परागत दुना–टपरी ओझेलमा पर्दै गए । अहिले भने वातावरणमैत्री उत्पादनको महत्व बढ्न थालेसँगै यही पुरानो सीपलाई व्यवसायमा बदल्ने प्रयासमा महिला उद्यमीहरू जुट्न थालेका छन् ।
नवलपरासीको सरावल गाउँपालिका–१ भगडामा रहेको हंसनी भगवानी महिला लघु उद्यमी समूह यस्तै प्रयासमा सक्रिय छ । विगत ८ बर्ष देखी समूहले परम्परागत दुना–टपरी उत्पादनलाई व्यावसायिक स्वरूप दिँदै स्थानीय महिलालाई उद्यमशीलतासँग जोड्ने प्रयास गरिरहेको छ । समूहले विभिन्न आकारका दुना, टपरी तथा पातबाट निर्मित सामग्री उत्पादन गर्दै आएको छ । उत्पादन गरिएका सामग्रीलाई प्याकिङ गरी बिक्री तथा प्रदर्शनीमा राख्ने गरिएको समुहकी सदस्य हेमा चौधरीले बताईन् । समूहका महिलाहरूले तयार पारेका उत्पादन हेर्दा सामान्य घरेलु सीपलाई व्यवस्थित उद्यममा रूपान्तरण गर्न सकिने सम्भावना देखिन्छ ।
दुना–टपरी केवल खानेकुरा राख्ने भाँडा मात्र होइनन्, यी नेपाली समाजको परम्परा, संस्कृति र जीवनशैलीसँग जोडिएका मौलिक सामग्री पनि हुन् । विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक मेला तथा विभिन्न सामाजिक भोजमा यसको प्रयोग हुँदै आएको छ । आधुनिक सामग्रीको प्रयोग बढे पनि ग्रामीण समाजमा यसको सांस्कृतिक महत्त्व अझै कायम छ ।
अहिले प्लास्टिकजन्य फोहोर वातावरण प्रदूषणको प्रमुख समस्याका रूपमा देखिँदै गएको छ । नदी, नाला, खेतबारी र सार्वजनिक स्थानमा फालिने प्लास्टिकले वातावरण तथा जैविक विविधतामा असर पु¥याइरहेको छ । यस्तो अवस्थामा प्राकृतिक स्रोतबाट तयार गरिने दुना–टपरीलाई प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा विकास गर्न सकिने सम्भावना छ । पुरानो सीपमा नयाँ सम्भावनाको खोजी र ग्रामीण महिलाका लागि घरायसी कामसँगै आम्दानीको स्रोत निर्माण गर्नु सहज छैन । रोजगारीका अवसरको अभाव, आर्थिक निर्भरता र बजारसम्मको पहुँच नहुँदा धेरै महिला आफ्नै सीप र क्षमताको उपयोग गर्नबाट वञ्चित छन्। महिला समूहको सामूहिक प्रयासले भने उनीहरूलाई उत्पादनमूलक काममा जोड्ने आधार तयार गर्न सक्छ ।
दुना–टपरी उत्पादनमा स्थानीय स्रोतसाधन र परम्परागत सीपको उपयोग गर्न सकिन्छ । यसको उत्पादनलाई व्यवस्थित बनाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै महिलाको आर्थिक गतिविधिमा सहभागिता बढ्न सक्छ । तर यस्ता घरेलु उद्यमलाई दीर्घकालीन व्यवसाय बनाउन उत्पादन गरेर मात्र पुग्दैन। नियमित कच्चा पदार्थको उपलब्धता, आधुनिक उपकरण, गुणस्तरीय उत्पादन, आकर्षक प्याकेजिङ र बजार व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ । स्थानीय बजार, होटल, रेस्टुरेन्ट, धार्मिक स्थल तथा भोजभतेर आयोजकसँग समन्वय गर्न सके उत्पादनको माग विस्तार गर्न सकिन्छ ।
वातावरण संरक्षण पनि, स्वरोजगार पनि हंसनी भगवानी महिला लघु उद्यमी समूहको प्रयासले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ– परम्परागत सीप हराउन दिनुभन्दा त्यसलाई समयअनुसार परिमार्जन गरेर आर्थिक गतिविधिसँग जोड्न सकिन्छ । यसले संस्कृति संरक्षण, वातावरणमैत्री उत्पादन र महिला सशक्तीकरणलाई एकै ठाउँमा जोड्ने सम्भावना बोकेको छ । यस्ता समूहलाई स्थानीय सरकार तथा सम्बन्धित निकायले सीप विकास तालिम, उत्पादन उपकरण, सहुलियतपूर्ण ऋण र बजार व्यवस्थापनमा सहयोग गर्न सके सानो घरेलु उद्यमलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्न सकिन्छ ।
प्लास्टिकका सामग्रीले बजार ओगटिरहेको समयमा परम्परागत दुना–टपरीलाई पुनः स्थापित गर्ने प्रयास केवल व्यापारको विषय होइन। यो मौलिक संस्कृति जोगाउने, वातावरणप्रति जिम्मेवार बन्ने र स्थानीय महिलालाई आर्थिक रूपमा सक्षम बनाउने अभियानसमेत हो । सरावलका महिलाहरूको यो प्रयासले पुरानो सीपलाई नयाँ पुस्ताको रोजगारी र आत्मनिर्भरतासँग जोड्ने सम्भावना देखाएको छ । ग्रामिण क्षेत्रमा यस्तै नयाँ र अवसरको सम्भावनाको खोजी गर्न सक्ने उदेश्यले नै मेलाको आयोजना गरिएको मेलाका संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष विरेन्द्र यादवले बताए । जिल्लामै गाउपालिका स्तरमा उद्योग बाणिज्य संघ गठन भएर मेला महोत्सव गरेर उद्यमी ब्यवसायिलाई प्रोत्साहित गर्न कार्य संघको सराहनिय भएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए ।
