सामाजिक सञ्जालको प्रयोग  !

भोजराज पाण्डेय
प्रहरी नायव उपरीक्षक

२०७९ सालको जेष्ठ महिनामा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं ५ बस्ने कक्षा ९ मा पढ्दै गरेका एक १५ बर्षीया बालकले आफ्नै माइजु नाता पर्ने एक जना महिलाको पुरानो फेसबुक आइडको पासवर्ड  ह्याक गरि प्रयोग गरि पब्जी खेल्दै आएकोमा एक दिन पब्जी खेल हारेको कारण रिस उठी मेसेज ग्रुपमा अश्लील शब्दहरु लेखि पोष्ट गरेकोमा महिलाका आफन्तहरुबाट किन त्यस्तो गरेको भनि निज महिलालाई सोधखोज हुंदा महिलाले सो अकाउन्ट आफूले प्रयोग नगरेको र को कस्ले प्रयोग गरि यस्तो नचाहिने काम गरेको भनि  भक्कानिदै प्रहरी कार्यालयमा राति ११ बजे आई मौखिक निबेदन गरेकोमा तत्काल प्रहरी सकृयताको कारण सो तथ्य बाहिर आएको र बालकले अन्य साथिहरुको बहकाउमा आएर सो कार्य गरेको भन्ने यथार्थ पत्ता लागेको थियो ।

२०७९ सालको भाद्र महिनामा नवलपरासी जिल्लाको सुनवल नपामा घर भएका एक अधबैशेको मोबाइलमा एकाबिहानै फोन आयो एउटा सेभ नभएको नम्बर बाट । तर ती अधबैशे घरमा नभएको कारण सो फोन निजको सानो छोराले उठाए । उताबाट “बाबा हुनुहुन्न ? भनेर सोधे पछि “बाबा काममा बाहिर हुनुहुन्छ” बालकले सहज उत्तर दिए । उताबाट “बाबु मेसेजमा हेर त बाबालाई एउटा कोड पठाएको छु, त्यसको नम्बर भन त”भनेपछि भर्खर बोर्डिङ स्कूलमा पढ्दै गरेका बालकले मेसेजमा आएको इसेवाको कोड नम्बर सहज तरिकाले बताइ दिए । उताबाट बालकको बाबाले प्रयोग गर्ने मोबाइल नम्बरबाट इसेवा एकाउन्ट खोलीनिजले अन्य मानिसहरुको एकाउन्ट ह्याक गरि सो इसेवा नम्बरमा रकम जम्मा गर्न लगाई रकम निकाल्ने गरेको भन्ने कुरा पछि मोबाइल प्रयोगकर्ताले जिल्ला प्रहरी कार्यालयमा निबेदन उजुरी गरेपछि घटनाको उजागर भएको थियो ।

२०७९ सालकै मंसिर महिनामा नवलपरासी जिल्लाकै पाल्हिनन्दन गाउंपालिकाका एक युबकले निजले चलाउने गरेको ह्वाट्सएपमा “२५ लाखको लट्री परेकोले सो रकम पठाउनको लागि बैक एकाउन्ट नम्बर पठाउनुहोस” भनि एकाउन्ट माग गरेकोमा निज युवकले सो कुरा बिश्वासमा परि आफ्नो बैक अकाउन्ट नभएकोले पठाउन नसक्ने जानकारी गराए पश्चात उताबाट नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो भए पनि पठाउन भनेकोले युबकले नागरिकताको कपी र फोटो पठाइदिएकोमा त्यसको केहि समयमा नै  निजले प्रयोग गर्ने फेसबुक, भाइवर र इमो लगायतका सबै सामाजिक सञ्जालका एकाउन्ट ह्याक भएकोले निजलाई कार्बाही गरिपाउं भनि निबेदन दिएको हुंदा सो तथ्य बाहिर आएको हो ।

सामाजिक सञ्जालसंग सम्बन्धित माथि उल्लेखित घटनाहरु त केबल प्रतिनिधि घटना मात्र हुन । सामाजिक सञ्जालको सहि तरिकाले प्रयोग गर्न नजान्दा यस्ता घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन । सामाजिक सञ्जालमा सामान्य चिनजान भएकै कारणले सम्बन्ध स्थापित गर्दा आज धेरै महिला तथा पुरुषहरु पीडित बन्नु परेको अबस्था छ भने  त्यस मध्ये पनि केहिले त मृत्यु बरण सम्म गर्नु परेको तथ्यले बताउंछ ।

बिश्व परिबेशको अहिलेको युग भनेकै सञ्चारको युग हो । लाई बर्तमान युगलाई प्रबिधिको बरदानको युग भन्दा खासै फरक नपर्ला । सुचना र सञ्चार प्रविधिको द्रुततर विकासको फलस्वरुप आज विश्व एउटा सानो परिवारमा परिणत भएको छ । सुचना   सञ्चार प्रविधिमा भएका महत्वपूर्ण उपलब्धी भनेको विश्वका विभिन्न स्थानमा इन्टरनेटको सहज पहुँच पुग्नु हो । भौगोलिक दुरी जति टाढा भएता पनि इन्टरनेटको विकासका कारण विश्वको कुनै पनि स्थानको बारेमा आवश्यक सुचना आफ्नो कम्पयूटर तथा अन्य बिधुतीय  उपकरणहरुमा प्राप्त गर्न सकिन्छ । जसले गर्दा मानिसको दैनिन्दिनी सहज हुनुका साथै परिवारको सामिप्यतालाई पनि छोट्याई दिएको छ ।

प्रबिधीको बिकासले गर्दा आजको दुधे वालकको लागि आफ्नो आमाको अमृत तुल्य दुध भन्दा पनि कसैको फोन आउंदा बिभिन्न थरी आवाज निकालेर बज्ने मोबाइल अत्यन्त प्यारो खेलौनाबन्न पुगेको छ ।  उ त्यस प्रति यतिबिध्नमोहित भईदिन्छ कि मानौ अब यो संसारमा मोबाईल बाहेक अर्को कुनै प्यारो बस्तु नै छैन।पहिले पहिले बालक रुंदा “पुलिश बोलाई दिंउ, अब पुलिसले लगेर रुने मानिसलाई थुन्छ” भने पछि त्यसको अर्थ बुझेर वा नबुझेरै पनि ऊ कनिकुथी चुप लाग्ने बालबालिकाहरु आज  उसलाई फुल्याउने मोबाइल र त्यसमा आउने थरिथरिका गेमहरु नै सर्वप्रिय बनेका छन् ।

कांधमा झोला बोकेर स्कुल जाँदे गर्दा झोलामा किताबको भारी सहित बिद्यालय पुगे पनि बालक बालिकाको  आधा आधी ध्यान आमा,बुवा वा दाजुको मोबाईलमा नै हुन्छ । बिद्यालयमा पनि अध्ययन तथा गृहकार्यको बारेमा भन्दा पनि आजकल नयानयां आबिश्कार भएका अनलाइन गेमको बारेमा बढी चर्चा हुने गर्दछ । बिधालयबाट घरमा पुग्दै गर्दा उसको पहिलो कार्य गृहकार्य हुनु पर्ने हो तर त्यसमा उसको खासै ध्यान हुंदैन र मोबाईलमा पहिल्यै डाउनलोड गरी राखिएको गेम खेल्नु वा हतार हतार नेट अन गरि  कुनै नया गेम डाउनलोड गरी एक चरण त्यसमा लिप्त भईहाल्नु हुन्छ । उसलाई विद्यालयले घरको लागि दिएको गृहकार्य अचेल उति प्राथामिकतामा पर्दैन किनभने त्यो पनि पहिल्यै बिधालयमा साथीहरु बीचमा छलफल भई एक जनाले होमओर्क गर्ने र त्यसलाई मेसेन्जरमा सबै साथीहरुलाई पठाइदिने र त्यही होमओर्क सारेर दुरुस्त बिधालयमा जाने ।

            समयको व्यतित संगै उ कुनै सरकारी ,संघ ,संस्था वा अन्य कतै रोजगारीको लागी छनोट भई कुनै पदमा नियुक्ति लिई काममा दत्तचित्त हुनु पर्ने अवस्थामा अव उसको सबै भन्दा प्यारोआफ्नो काम हुनु पर्ने हो,  जिम्मेवारी तथा कर्तव्य हुनु पर्ने हो,तर त्यो हुंदैन र पलपल गोजीमा वा टेवलमा रहेको मोवाईलमा उसको ध्यान हुन्छ र छिनछिनमा  आवाज दिएर आउने म्यासेजले उसको धेरैजसो ध्यान आकृष्टगरेको हुन्छ । सेवाग्राहीको सेवा भन्दा उसको प्राथमिकता केवल मोबाईल र त्यसमा जडित ईन्टरनेटको माध्यमबाट अनुमानित रुपमा आउन सक्ने बिबिध खालका प्रसंसा वा कमेन्टमा उसको ध्यानरुमल्लिरहेको हुन्छ ।

अब नेपालमा सार्वजानिक जीवनयापन गर्नेहरुको सन्दर्भमा पनि सोही अबस्था छ । सार्वजनिक कार्यक्रमहरुमा बिकसित देशका राष्ट्रध्यक्ष तथा नेताहरुमा मोवाईल प्रति कुनै लगाव, मोह र आकर्षण कतैपनि  देखिदैन तर हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने अबस्था धेरै फरक छ । कुनै सार्वजानिक कार्यक्रममा चाहे उच्च सार्वजानिक व्यक्तित्वहरुको उपस्थिति किन नहोस प्राय जसोको व्यस्थता मोबाईलमा नै हुन्छ । सेल्फीमा फोटो लिने वा मोवाईलमा व्यस्त भईरहने दिनचर्या पनि उत्तिकै नै देख्न पाईन्छ ।

बैदेशिक रोजगारको शिलशिलामा महिला पुरुष गरी अनुमानित आंकडा प्रस्तुत गर्ने हो भने करिब एक चौथाई जनसंख्या मलेसिया ,कतार,दुवही र अमेरिका, अष्ट्रेलिया लगायतका  मुलुकहरुमा रोजगारीको लागिबिदेशमाछन् । गाँउ घर शुन्य छ । ६० नाघेका बुढाबुढी नै नेपालको गाँउ बस्तीको प्रर्याय बनेका छन् ।मानौ बृद्धबृद्धाको दायित्व भग्नाबशेष हुंदै गरेको गाउंको घर कुर्नु हो । बिदेशमा रहेका छोराका श्रीमती काखमा छोरा छोरी बोकेर उचित र राम्रो शिक्षा दिलाउने नाममा घरमा उठ्न पनि नसक्ने अबस्थामा रहेका सासू ससूरालाई चटक्कै छोडेर ठुला शहर झरेका छन । शहर झरेपछि उनीहरुको ब्यस्तता सामाजिक सञ्जालमा रहेको कारण न त छोराछोरीले राम्रो पढ्न सकेका छन ? न त आफ्नो दायित्व नै निर्वाह गर्न सकेका छन ?

यदि सुचना र संवादको कुरा गर्ने हो भने मोबाईल र ईन्टरनेट प्रबिधि अहिलेको युगमा सबै भन्दा महत्वपुर्ण निदान हो । चाहे कुनै खबर थाहा पाउन होस् वा सुचना वा मनोरञ्जन तथा बिल पेमेन्ट गर्ने कार्यनै किन नहोस् यो अत्यन्त सहज प्रबिधिको रुपमा रहेको छ । अब नेपाली समाज यो प्रबिधिलाई प्ररित्याग गरेर पुरानै चिठिपत्रको युगमा फर्कने  अवस्था छैन ।

मानिसको सार्वजानिक जिवनमासुचना र संचार  महत्वपुर्ण पाटाहरु हुन् । आज मानिस अनलाईन सुचनामा यति अभ्यस्त भईसकेको छ की अब कुनै पत्रिका पसलमा गएर पत्रिका खरिद गरि पढ्ने बानी उसको परिवर्तन भई सकेको छ । बिधुत ,खानेपानी वा बिद्यालयको बिल तिर्न उ अब सम्बन्धित स्थानहरुमा धाउन पनि छोडी सकेको छ । ईसेवा लगायतको बिभिन्न बैकिङ्ग प्रणालीको प्रयोग गरी घरमै बसिबसि उक्त कार्य निपटराहुने गरेको छ । प्रबिधिलाई आत्मसाथ गर्दा काममा चुस्तता र पारर्दशिता पनि आएको छ । सेवाप्रबाहमा ढिलासुस्ती गर्ने कार्यमा कमी आउनुका साथै गुण्डागर्दी लगायतका सामाजिक अपराधहरुमा कमी ल्याएको छ । ई टेन्डरको सुरुवात भए देखि गुण्डा परिचालन गरेर ठेक्का पट्टा कब्जा गर्ने कार्य बन्द भएको छ  भने त्यस्ता गतिबिधिहरुमा संलग्न संधिग्धहरुलाई कानूनी दायरामा ल्याउन अत्यन्त सहज माध्यम बनेको छ ।  जनताले राज्यतथा राज्य सम्बद्ध सेवाप्रदायक निकायहरुबाट भए गरेका सकारात्मक तथा नकारात्मक दुबै कार्य अत्यन्त छिटो र सहज तरिकाले सुचनाको रुपमा देख्न र सुन्न तथा त्यसको आधारमा मुल्यांकन पनि गर्न पाएका छन् । यो आफैमा अत्यन्त सकारात्मक पनि हो ।

तर यसको अर्को पाटो अलि दर्दनाक छ । नेपाली संस्कृती ,परम्परा ,पारिवारिक वातावरण,मान मर्यादा र एक आपसी सम्बन्ध लगायतका समाजिक मान्यताहरुमा बिचलन आएको छ । मोबाइलको प्रयोग अत्यधिक रुपमा हुन थाले देखि एकाघरका पारिवारिक सदस्यहरु बिचमा दोहोरो सम्वाद तथा भेटघाट कमै हुने गरेको छ । प्रबिधिको व्यस्तताले गर्दा श्रीमान, श्रीमती र छोराछोरी बिचमा समेत सम्वादहिनता र जिम्मेवारी,अनुगमन तथा कर्तव्यमा समेत सुस्तता आएको छ । उपल्लो तल्लामा रहेकी छोरी लाई तल्लो तलाको भान्सा कोठामा खान खान बोलाउदा आमाले या त मेसेन्जरको प्रयोग गर्छिन  या  भाइवरको ।  आमालाई तेश्रो तलामा रहेकी छोरीले पढेकी छन वा सामाजिक सञ्जालको गलत प्रयोग गरेर कुनै हिंशा अथवा पिडामा पर्दै छिन की भन्ने निगरानी गर्ने सम्म पनि फुर्सद छैन् । छोराले मध्ये रात सम्म  कोठाको चुकुल भित्रबाट लगाई बत्ति बालेर कानमा एयरफोन लगएर पब्जी वा फ्रिफायर नामक अनलाइन गेममा मस्त भएको कुरा नियमित अनुगमन नगर्दा “छोराले आधा रात सम्म पनि पढेको छ”  भनेर मख्ख पर्ने अबस्था छ । सांझ बिहान बाहिर खुल्ला स्थानमा रहेको चौरमा भेला जम्मा भई बिभिन्न खेलकुद र शारीरिक ब्यायाम लगायतका कृयाकलापमा सरिक हुने युवायुवती अहिले बन्द कोठाभित्र मोबाइलमा मात्र ब्यस्त हुने गरेको कारण शारीरिक दुर्बलताको शिकार भई रोग संग लड्ने प्रतिरोधी अबस्था समेत गुमाउदै गएका छन् ।

सामाजिक अबस्था र नेपालको सांस्कृतिक एवं पारिबारिक बिचलनको कारक सामाजिक सञ्जाल बनेको एउटा अबस्था एकातिर छ भने सामाजिक सञ्जाल अथवा इन्टरनेटको प्रयोग गरेर दिनानुदिन बिभिन्न खालका अपराधहरु भैरहेको अबस्था अर्कोतिर छ ।खासगरि पछिल्लो समयमा नेपालमा सामाजिक सञ्जालको प्रयोग गरेर  निम्न अपराध तथा बिकृतीहरु हुने गरेको पाइएको छ ।इमेल मार्फत जथाभाबी धम्की दिने, चरित्र हत्या गर्ने र  नगद माग गर्ने,फोटोसपको माध्यमद्धारा बिभिन्न किसिमका  नग्न तस्बीर व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्न,बिभिन्न सर्जक तथा रचनाकारका सर्जकका मौलिक सिर्जनाहरु तथा आलेखहरु चोरी गरि प्रतिलिपि बनाउने तथा अबैध रुपमा बिक्री गर्ने,बिभिन्न किसिमका अश्लील सामाग्रीहरु बिभिन्न माध्यमद्धारा  ईन्टरनेटमा राख्ने तथा अरुलाई पठाई व्यक्तिलाई आत्महत्या गर्न सम्म प्रेरित गर्ने,मोवाईल मार्फत धम्कीपुर्ण एस.एम.एस. पठाउने तथा एस.एम.एस  मार्फत जुवा, लट्रि तथा बिभिन्न किसिमका अनलाइन गेमहरु संचालन गर्ने,सरकारी तथा अन्य संस्थाहरुको Website Hacking गर्ने र सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरेर प्रोफाईल ज खोलेर बेईज्जत गर्ने तथा दुःख दिने लगायतका कार्यहरु हुने गरेका छन ।

नेपालमा साइवरको प्रयोग हुन थालेको छोटो समयमै यसको प्रयोग गरि गरिने अपराधमा बढोत्तरि भएको अबस्था छ । त्यसकारण साईवरको प्रयोग गर्दा अत्यन्त सुझबुझकासाथ र यसलाई केवल सुचना र सञ्चार बाहेक अन्य गलत प्रयोजनको लागी प्रयोग नगर्ने ,फेसबुकमा साथी छनोट गर्दा आफ्नो नाता गोता र भरपर्दो साथीलाई मात्र साथी बनाउने, कुनै पनि बिश्वास योग्य सम्बन्ध नहुदा सम्म फेसबुक तथा इमेलको पासवर्ड सेयर नगर्ने , ईन्टरनेटको आवस्यक्ता भन्दा बढी जथाभाबी रुपमा प्रयोग नगर्ने,पासवर्ड कठिन खालको राख्ने, र समय समयमा परिवर्तन गर्ने , अश्लिल र समाजिक मर्यादा बिपरित कुनै पनि सन्देश तथा फोटो अपलोड नगर्ने, गलत र फरक  सूचनाहरु राखेर फेसबुक आईडि नखोल्ने  लगायतका साबधानी अपनाउन सकेको खण्डमा साईबरको प्रयोग प्रभावकारी बन्न सक्दछ र आफू पनि पूर्णरुपमा सुरक्षित बन्न सकिन्छ  । अन्यथा पछुताउनु बाहेक अर्थोक हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *