
नवलपरासी,९ जेठ
सरकारले हालै खारेज गरेको जिल्लाका तिनवटा छोटी भन्सार पुनः स्थापनाको माग नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य (सांसद) बिक्रम खनालले माग गरेका छन् । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु पर्नेमा सरकारले खारेज गरेको प्रति ध्यानाकर्षण गराएका हुन् ।
जिल्लाका सम सामयिक विषयलाई साँसद खनालले संसदमा उठाएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार साँसद खनाल जिल्लाका जनताका आवश्यक समस्यालाई निरन्तर राष्ट्रिय बहसका विषय बनाउनका लागि संसदमा उठान गर्दै आएका छन् । जिल्लाका विभिन्न नाकाहरूमा रहेका भन्सार कार्यालयको दयनीय अवस्था, स्वास्थ्य क्षेत्रको अभाव, र दैवी प्रकोप पीडितको राहत व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । सरकारले हालै जिल्लाको विष्णुपुरा,भुजहवा,प्रसौनी नाका खारेज गरि सकेको छ । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु भन्दा खारेज गरेको प्रति स्थानियबासीले आफ्ना साँसदको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले नवलपरासी पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा रहेका भन्सारहरूको अव्यवस्थाका कारण राजस्व संकलन र सर्वसाधारणको दैनिक जीवनमा गम्भीर असर परेको बताएका थिए ।
भन्सार व्यवस्थापनमा सुधार र साना नाका सञ्चालनको माग गर्दै सांसद खनालले महेशपुर भन्सार कार्यालयमा आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र क्वारेन्टाइन सुविधाको चरम अभाव रहेका कारण सेवा प्रवाह प्रभावकारी हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका थिए । यसैगरी, विगतमा सञ्चालनमा रहेका जिल्लाका अन्य साना भन्सार नाकाहरू गुठी परसौनी, भुजहवा र गेर्मा बन्द हुँदा स्थानीय जनताले ठुलो सास्ती भोग्नुपरेको र राज्यको राजस्व संकलनमा समेत प्रत्यक्ष नकारात्मक असर परेको उनको भनाइ थियो । यी बन्द रहेका साना भन्सारहरू तत्काल पुनः सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका थिए ।
यसै गरि नवलपरासीका अस्पतालहरुमा औषधि र भ्याक्सिनको अभाव भई रहेको समेत ध्यानाकर्षण गराएका थिए । गर्मी र वर्षाको मौसम नजिकिँदै गर्दा जिल्ला अस्पताल सहित अन्य अस्पतालमा बिरामीका लागि अति आवश्यक औषधिको अभाव भएको विषयलाई पनि उनले जोडदार रूपमा उठाएका थिए । विशेष गरी सर्पदंश र कुकुरको टोकाइबाट पीडित हुने बिरामीका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम र एन्टी रेबिज खोपको चरम अभाव रहेको भन्दै तत्काल यी औषधिहरू उपलब्ध गराउन उहाँले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनले आगलागी पीडितलाई तत्काल राहत दिन माग समेत गरेका थिए ।
केही समयअघि जिल्लाको भैरवपुर र भुजहवा क्षेत्रमा भएको विनाशकारी आगलागीबाट घरबास गुमाएका पीडित परिवारहरूको अवस्था अझै पनि दयनीय रहेको सांसद खनालले जानकारी गराएका थिए । “आगलागीबाट सर्वस्व गुमाएका परिवारहरू अझै पनि खुला आकाशमुनि बस्न बाध्य छन्,उनले संसदमा बोल्दै भने, सरकारले उपलब्ध गराउने भनिएको राहत र रकम उनीहरूले अझै पाएका छैनन् । पीडितहरूलाई तत्काल उचित आवास र राहत रकम उपलब्ध गराइयोस्।
यसै गरि उनले उखु किसानको वर्षौँ देखिको पीडा कहिले अन्त्य हुने? उनले संसद र सरकारको ध्यानाकर्षण गराएका थिए । सम्बोधनको अन्त्यमा सांसद खनालले नवलपरासीका उखु किसानहरूको भुक्तानी र अनुदानको समस्या वर्षौँ देखि जस्ताको त्यस्तै रहेको प्रति आक्रोश व्यक्त गर्दै उनले प्रश्न गरेका थिए “सभामुख महोदय, उखु किसानको पीडा कति पटक सदनमा बोलेपछि समाधान हुने हो? म सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।“
