खेतीको कुरा कि कुराको खेती ?

देवेश कुमार मिश्र
प्रमुख, कृषि ज्ञान केन्द्र नवलपरासी

mi*************@gm***.com
कृषि मूलश्च जिवनम्

मानवको जीवनको मूल आधार कृषि नै हो । खाने, लगाउने तौर तरिकाहरु समय, स्थान, परिस्थती, संस्कार, रिति, रिवाज अनुसार फरक होला तर जे जस्तो भए तापनि हाम्रो जीवनको मूल आधार खेतीपाती नै हो । हाम्रो पेशा व्यवसाय गर्ने, आय आर्जन गर्ने तरीका फरक होला कोही कृषक, व्यापारी, उद्यमी, उद्योगी, जागिरे, राजनीतिज्ञ, पुरोहित, पण्डित, जो जे भए पनि सवैको भान्सामा पाक्ने भनेको खेतीपाती वाट उत्पादित अन्न, दाल, तरकारी नै हो । धन, संपत्ति जति कमाए पनि हाम्रो भाडोमा पाक्ने भनेको रुपैया, सुन, चादि होईन, पाक्ने भनेको भात, रोटी, तरकारी अचार नै हो ।
हाम्रो देशमा कृषि विकासको लागी सरकारी, गैर सरकारी तथा निजी स्तर वाट परापूर्वकाल देखी नै प्रयास भई रहेको छ तै पनि कृषि क्षेत्रले राम्रो गति लिन सकिरहेको छैन । कुनै बेला तराई मधेश वाट छिमेकी मुलुकमा खाद्यान्न विशेषरुपमा धान, चामलको निर्यात हुन्थ्यो भने आज भोली समय फेरिएको छ । वर्षेनी अरबौ रुपैयाको खाद्यान्न अन्य मुलुक वाट आयात भई रहेको छ । कृषिजन्य वस्तु आयात भएन भने यहांका नागरिकहरु लाई भोकै वस्ने अवस्था पनि आउन सक्छ । यो हाम्रो लागी लज्जाजनक स्थिती हो । यहांका करीव दुई तिहाई जनता प्रत्यक्षरुपमा कृषिमा आश्रित छन र देशको आयश्रोतको करीव एक तिहाई हिस्सा कृषिले ओगटेको भए तापनि यो पेशाले समयोचित गति लिन सकिरहेको छैन ।
कृषि पेशालाई बढावा दिन, मर्यादित बनाउन, यसको आधुनिकीकरण र व्यावसायीकरण गर्न सरकारी, गैर सरकारी तथा निजीक्षेत्र वाट प्रयासहरु पनि नभएका होईनन तै पनि आशातीतरुपमा सफलता प्राप्त हुन सकिरहेको छैन । कृषि यस्तो व्यवसाय हो जुन विभिन्न सरोकारवाला तथा पेशा संग जोडिएको छ । जस्तै ः यसको संबन्ध सिंचाई, भूमि व्यवस्थापन, उद्योग, विद्युत, बैक, वन, भू–संरक्षण, सडक, स्वास्थ्य, पशु पंक्षी, सहकारी, विज्ञान, प्रविधि लगायत विभिन्न क्षेत्र संग संबन्धित भए तापनि सबैको कार्यसंपादन गर्ने आ–आफ्नो तरीका र कार्यविधिहरु छन तथा एक आपसमा समन्वयको अभाव पनि छ । सबैले गर्न त गरी रहेका छन तर आ–आफ्नो तालले । सरोकारवालाहरुको विचमा समन्वय तथा सहकार्यको कमीले रकम खर्च भए पनि कृषि क्षेत्रले संतोषजनक गति लिन सकिरहेको छैन । राज्यले कृषिको विकासका लागी बनाएको नीति नियमहरु अपर्याप्त छैनन्, खेतीपातीको लागी बजेटमा पनि बृद्घि भई रहेकै छ, गैर सरकारी तथा निजीक्षेत्र वाट पनि प्रयासहरु भई रहेका छन तर वास्तविक काम भन्दा पनि प्रचार प्रसार लाई बढी प्राथमिकता दिएको जस्तो देखिन्छ । यसले कतै हामी खेतीको कुरा भन्दा पनि कुराको खेती तर्फ त अग्रसर भई रहेका छैनौ ? विचार गर्ने अवस्था आएको छ । यस्तै सबै निकायले आ–आफ्नै तरीकाले गर्दै गए भने यो पेशा, व्यवसायले कहिले पनि उभो लाग्ने वाला छैन । आत्मनिर्भर कृषि, व्यावसायिक कृिष, आधुनिक कृषि, सम्मानित कृषि नारामा मात्रै सीमित हुनेछन । यसको लागी राजनीतिक प्रतिवद्घताका साथै यस प्रति सबै सरोकारवालाहरुको चासो पनि हुनु पर्दछ ।
कृषिको विकासको लागी बाली विशेषको आधारमा उपयुक्त हुने क्षेत्रहरुको बैज्ञानिक परीक्षण पश्चात योजना वनाउने र जमीनको चक्लाबंदी गर्ने जस्ता कार्यक्रमहरु ल्याउनु पर्दछ । हाम्रो देशका अधिकाशः किसानहरु संग थोरै जग्गा जमीन छ र भएका जग्गा पनि सानो सानो कित्तामा वाडिएको छ, विभिन्न ठांउमा छित्रिएर रहेको छ यसले गर्दा यस्तो परिस्थितीमा खेती गर्दा किसानको लगानी बढी हुने, कृषिको यांत्रिकरण गर्न असुविधा हुने तथा उत्पादित कृषिजन्य उपजहरुको ढुवानी गर्नमा पनि समस्या हुने भएकोले चक्लाबंदि जस्ता कार्यक्रम ल्याउन उपयुक्त देखिएको छ । किसानको लागी पर्याप्त सिंचाईको सुविधा उपलब्ध गराउने, समयमा गुणस्तरीय मलखाद तथा विउ विजनको उपलब्धता सुनिश्चित गराउने, कृषियंत्रमा समयोचित अनुदानको व्यवस्था, कृषकले उत्पादन गरेको कृषि उपजहरुको न्यूनतम समर्थन मूल्य तोक्ने प्रणालीको विकास गर्ने जस्ता कार्यलाई सिद्घान्त तथा भाषणको अंश मात्र नभई वास्तविक तथा व्यवहारिकरुपमा कृषकले अनुभूति हुने गरी कार्यक्रम ल्याउन सक्नु पर्दछ । सरकारी स्तरवाट उपलब्ध भईरहेको सेवा सुविधाहरु प्रदान गर्ने प्रकृयालाई पनि सक्दो सरल र सहज बनाउने तर्फ ध्यान जान जरुरी देखिएको छ जसले गर्दा वास्तविक र जरुरतमंद कृषकहरुले सरकारी सेवा सुविधाको सदुपयोग गर्न सकून ।
अहिले सम्मको अनुभवको आधारमा के देखिएको छ भने कृषिको विकासको लागी योजना वनाईन्छ, त्यसको विषयमा खुव चर्चा परिचर्चा, गोष्ठी सेमीनार गरिन्छ, बडो तामझमको साथ त्यसको शुरुवात गरिन्छ तर त्यो योजनाको अवधि सकिने वेलामा त्यसको सफलता, असफलताको पर्याप्त समिक्षा नगरीकन फेरी अर्को योजना लाई त्यो भन्दा राम्रो भन्दै शुरुवात गरिन्छ । कुनै योजना आफ्नो उद्वेश्यमा सफल भयो ? भएन ? के कारणले गर्दा सफल अथवा असफल भयो त्यसको समिक्षा र विश्लेषण पश्चात अर्को योजनाको शुरुवात ग–यो भने त्यो हाम्रो लागी एउटा मार्गदर्शन पनि हुन सक्छ । खेतीमा गरिएको लगानी तथा त्यस वाट प्राप्त हुने प्रतिफलको विश्लेषण हुनु प–र्यो । वर्षेनी कृषिमा लगानी बढी रहेकोछ तै पनि यथोचित उपलब्धि हुन नसक्नुको कारणको खोजी हुनु प–र्यो । कृषिक्षेत्रमा संलग्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले आफ्नो भूमिका निर्वाह गरी रहेका छन कि छैनन ? तटस्थ र निश्पक्षरुपमा यसको खाजी निती हुनु प–र्यो । राम्रो गर्ने लाई प्रोत्साहित तथा नराम्रो गर्ने लाई दण्डित समेत गर्न सक्ने परम्पराको थालनी गर्न सक्नु प–र्यौ । रोजगारीको खोजीमा पलायन भईरहेका युवा जनशक्ति लाई आकर्षितगर्ने खालको कार्यक्रमहरु ल्याउनु प–र्यो । आवास, उद्योग स्थापना तथा खेतीपातीको लागी बनाईएका नीति नियमहरुको कडाईका साथ पालन गर्न र गराउनु पर्ने, जमीनको खण्डिकरण लाई निरुत्साहित गर्नु पर्ने जस्ता कार्यक्रमहरु लाई वढावा दिनु पर्ने खालका योजना वनाई कार्यान्वयनमा ल्याउनु पर्ने ।
रेडियो सुन्यो, टी.वि. हे–र्यो, कृषिलाई प्राथमिकता, पत्रिका पढयो, भाषण सुन्यो कृषिलाई प्राथमिकता, गोष्ठी सेमिनारमा भाग लियो कृषि लाई प्राथमिकता, औपचारिक अनौपचारिक कार्यक्रम जहां तही कृषिकै कुरा तर त्यो व्यवहारिक रुपमा कति लागु भएको छ ? त्यो कसले हेर्ने ? कहिले हेर्ने ? अव कहिले सम्म पर्खिने ? अझै पनि हामी वास्तविक खेतीको कुरो भन्दा पनि खेतीको नाममा कुरोको खेती गरी रहेका छौ, त्यसैमा समय खर्चि गरिरहेका छौ, मन बुद्विको लगानी गरी रहेका छौ र रमाई रहेका छौ । कहिले सम्म यस्तै रमाई रहने हो ? यो वा त्यो बहानामा आफ्नो जिम्मेवारी वाट पंछि रहने हो ? अरुको थोप्लोमा जिम्मेवारी थोपेर आफू चोखी रहने हो ? अव ढिलो न गरौ । कुराको खेती धेरै भई सक्यो अब खेतीको कुरा गरौ र सबैले आत्मसमिक्षा गर्नै पर्छ, आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नै पर्छ यो समयको मांग हो यस वाट कोही पनि अलग्गिन पाउदैन । सबै सरोकारवाला निकाय र कृषकहरुले आत्मैले समर्पित भई यो पेशालाई मर्यादित बनाउनमा लागौ त्यसैमा हाम्रो कल्याण छ । अव पनि सोचेनौ, गरेनौ भने भावी पुस्ताले हामी लाई माफ गर्ने वाला छैन । आशा छ समय, परिस्थिती र आवश्यकताको गाम्ंिभर्यतालाई हामी सबैले बुझ्ने छौ र कुराको खेती लाई विश्राम दिई खेतीको कुरा गर्ने छौ र लाग्ने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *