भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधानमा स्थानीय सरकार उदासीन

नवलपरासी,७ मंसिर
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने जिम्मेवारी पाएका स्थानीय सरकारले नै यस विषयमा पर्याप्त चासो नदिएको आरोप संघीय सांसदहरूले लगाएका छन् । भूमि सम्बन्धी ऐन बनेको लामो समय बितिसक्दा पनि स्थानीय तहले आवश्यक प्रक्रिया अघि नबढाउँदा हजारौँ भूमिहीन नागरिक जग्गाधनी पुर्जा पाउनबाट वञ्चित भएको उनीहरूले आरोप लगाएका हुन ।
भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा संघीय सांसद विक्रम खनालले स्थानीय सरकारको उदासीनताका कारण समस्या समाधानमा ढिलाइ भइरहेको विषय उठाएका हुन् । २०७८ साल मै भूमि सम्बन्धी ऐन बने पनि स्थानीय तहले अहिलेसम्म प्रभावकारी रूपमा काम अघि नबढाएको उनले बताए । सोमवार राष्ट्रिय भूमि व्यवस्था समस्या समाधान समितिका राष्ट्रिय अध्यक्ष बलभद्र बस्तोला सहितको उपस्थितिमा सो बैठक भएको थियो । जिल्लाका तीनै जना संघीय सांसद, सात वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, भूमि शाखाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो । बैठकमा सांसद विक्रम खनाल, सांसद नरेन्द्रकुमार गुप्ता र सांसद रिङ्गला यादवसहितका जनप्रतिनिधिले भूमि समस्याको शीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा भूमि व्यवस्थापनको प्रक्रियामा सबै भन्दा बढी कमजोरी स्थानीय तहबाटै भइरहेको विषय उठेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बैठकमा भूमि समस्याको अवस्थाबारे छलफल गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको जानकारी दिए ।
जिल्लामा २४ हजारभन्दा बढीको निवेदन आए पनि अहिलेसम्म एक जनाले पनि पाएनन् पुर्जा पाउन नसक्नु दुखद भएको प्रजिअ नेपालको भनाई थियो । जिल्लमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी कुल २४ हजार ३५ जनाको निवेदन परेको छ । तर, अहिलेसम्म एक जनाले पनि जग्गाधनी पुर्जा प्राप्त गर्न सकेका छैनन् । जिल्लाका सातवटै स्थानीय तहमा परेको निवेदनको विवरण अनुसार रामग्राम नगरपालिकामा १ हजार ८ सय ६, सुनवल नगरपालिकामा ६ हजार २ सय ६९, बर्दघाट नगरपालिकामा ८ हजार ५३, सरावल गाउँपालिकामा २ हजार ८ सय ५९, प्रतापपुर गाउँपालिकामा १ हजार ६ सय ८४, सुस्ता गाउँपालिकामा २ हजार ६ सय ६५ र पाल्हीनन्दन गाउँपालिकामा ४ सय ५९ जनाको निवेदन परेको छ ।
तर, निवेदन परे पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको वर्गीकरण गरी आवश्यक प्रक्रिया अघि बढाउने काम स्थानीय तहबाट हुन नसकेको बैठकमा जानकारी गराइएको थियो । जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव समेत रहेका नापी अधिकृत किसन सिंह विष्टका अनुसार वडा कार्यालयले प्रारम्भिक प्रक्रिया पूरा गरी निवेदनको छनोट गरेर पालिकामा पठाउनु पर्ने व्यवस्था छ । पालिकाले आवश्यक विवरण तथा सिफारिस सहित जिल्लामा पठाए पछि अन्तिम निर्णय गरी जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढ्छ । तर, अहिलेसम्म सुनवल नगरपालिकाको वडा नम्बर १३ बाट मात्रै विवरण प्राप्त भएको उनले बताए । त्यो विवरणमा पनि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीभन्दा अव्यवस्थित बसोबासीको विवरण मात्र आएको उनको भनाइ थियो ।
पहिलो प्राथमिकता भूमिहीन दलित, त्यसपछि सुकुम्बासीलाइ भुमि उपलब्ध गराउने नीतिका कारण स्थानिय स्तरमा सो नीति नै चुनौती बनेको देखिन्छ । सरकारको भूमि व्यवस्थापन सम्बन्धी नीतिमा भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने स्पष्ट प्राथमिकता निर्धारण गरिएको छ । पहिलो प्राथमिकतामा भूमिहीन दलितलाई राखिएको छ । उनीहरूलाई जग्गासहित पुर्जा उपलब्ध गराएर नेपालमा भूमिहीन दलितको अवस्था अन्त्य गर्ने नीति रहेको छ । दोस्रो प्राथमिकतामा भूमिहीन सुकुम्बासीलाई जग्गासहित पुर्जा उपलब्ध गराई सुकुम्बासी समस्या समाधान गर्ने व्यवस्था छ । त्यस पछि मात्रै लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि पुर्जा प्राप्त गर्न नसकेका अन्य अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने नीति रहेको छ ।
तर, यही प्राथमिकता र नीतिअनुसार काम हुन नसकेको भन्दै बैठकमा चिन्ता व्यक्त गरिएको थियो । भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकता दिनुपर्नेमा स्थानीय तहले अव्यवस्थित बसोबासीको विषयलाई अघि सार्ने प्रवृत्ति देखिएको आरोपसमेत लागेको थियो । भूमाफिया र राजनीतिक स्वार्थले समस्या लम्बिएको आरोप सरोकारवालाले लगाउदै आएका छन् । भूमि व्यवस्थापनमा नीतिगत व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या देखिनुमा राजनीतिक तथा आर्थिक स्वार्थसमेत जिम्मेवार रहेको बैठकमा सहभागीहरूले औँल्याएका थिए ।
यता अधिवक्ता मनोजकुमार नागवंशीले भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधानमा ढिलाइ हुनुमा सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यशैली र नियतसमेत जिम्मेवार रहेको टिप्पणी गरेका छन् । उनका अनुसार पहिले अव्यवस्थित जग्गा आफ्नो नियन्त्रणमा पार्ने भूमाफिया, जमिनदार, नेता तथा बिचौलियाको स्वार्थका कारण वास्तविक भूमिहीन नागरिक समस्यामा पर्ने गरेका छन् । उनले वास्तविक भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुको सट्टा विभिन्न स्वार्थ समूहको प्रभावमा भूमि व्यवस्थापन प्रक्रिया अल्झिँदा उनीहरू पुनः वन, सार्वजनिक जग्गा, खोला तथा नदीकिनारमा बस्न बाध्य हुने अवस्था सिर्जना हुन सक्ने बताए ।
यसै कारण स्थानीय तहको ढिलाइले गर्दा नागरिक थप मारमा पर्ने गरेको उनको भनाई थियो । जिल्लामा २४ हजार भन्दा बढी निवेदन परे पनि विवरण वर्गीकरण र छनोटको प्रक्रिया नै अघि नबढ्नुले भूमि समस्या समाधानको गति निकै सुस्त रहेको देखाएको छ । वडा, पालिका र जिल्ला तहबीच समन्वय हुन नसक्दा वास्तविक भूमिहीनको पहिचान र जग्गा वितरण प्रक्रिया अन्योलमा परेको छ । वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकका लागि अब आश्वासन भन्दा पनि परिणाम आवश्यक छ । स्थानीय सरकारको सक्रियता, प्रशासनिक समन्वय र राजनीतिक इच्छाशक्ति नदेखिएसम्म जिल्लाको भूमि समस्या समाधान हुन कठिन देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *