गाँउका पुरुष रोजगारी खोज्दै बिदेसिए पछि महिलाको काँधमा खेतीपातीको जिम्मेवारी

नवलपरासी,३ जेठ
जिल्लाको ग्रामीण बस्तीहरूमा पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको प्रभाव गहिरिँदै गएको छ । घरको मुख्य कमाउने सदस्य पुरुषहरू रोजगारीका लागि विदेशिने क्रम बढेसँगै गाउँघरमा महिलाहरूले खेतीपाती र परिवार व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी वहन गर्न बाध्य भएका छन् । यसले ग्रामीण जीवनशैली, कृषि उत्पादन र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । जिल्लाका सातवटै पालिकाको धेरै गाउँहरूमा पुरुषहरू मलेसिया, कतार, साउदी अरेबिया, यूएई जस्ता देशमा काम गर्न गएका छन ्। घरमा रहेका पत्नी, आमा र दिदीबहिनीहरूले खेतबारी सम्हाल्ने, पशुपालन गर्ने र घरधन्दा चलाउने काम एक्लै सम्हालिरहेका छन् ।
घरका पुरुष वैदेशिक रोजगारीमा गएको पछि सुस्ता ३ सेखुवनवा गाँउ नजिकै उखु गोड्दै(झार फाल्दै) भेटिएकी महिलाहरुले सो दुखेसो पोखेका थिए । घरका पुरुष बाहिर(बैदेशिक) रोजगारीमा गए देखी घरधन्दासँगै अहिले खेतीपातीको काम पनि आफुहरुकै जिम्मामा आएको उनीहरुको भनाई थियो । आफ्नै खेतलाई बाँझो राख्न पनि सकिदैन,खेतमा गोडदै गरेकी एक महिलाले भनिन्,खेतमा बाली रोपियो भन्ने झारपात फाल्न तँ परी नै हाल्छ,त्यसै छाड्न तँ भएन,तर आफ्नो नाम बताउन चाहिनन । पहिले पुरुष सदस्यहरू खेत जोत्ने, धान रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने र उत्पादन बजारसम्म पु¥याउने काममा अग्रसर हुन्थे। तर अहिले ती सबै काम महिलाको काँधमा आएको छ । बिहान देखि बेलुकासम्म खेतबारीमा खटिनुपर्ने, साथसाथै घरको खाना पकाउने, बालबालिका हेरचाह गर्ने र बुढाबुढीको स्याहार गर्ने जिम्मेवारीले उनीहरूको दैनिकी निकै कष्टकर बनेको छ ।
स्थानीय महिलाहरूका अनुसार वैदेशिक रोजगारीले आर्थिक रूपमा केही राहत दिए पनि श्रमको बोझ भने दोब्बर भएको छ। “पहिले श्रीमानसँग मिलेर खेती गथ्र्यौं, अहिले सबै काम एक्लै गर्नुपर्छ,” एक स्थानीय महिलाले बताइन्। उनले भनिन्, “कमाइ विदेशबाट आउँछ तर यहाँको काम सबै आफैंले गर्नुपर्छ।” कृषि विज्ञहरूका अनुसार पुरुष विदेशिए पछि ग्रामीण कृषि प्रणालीमा श्रमिक अभाव देखिएको छ । लुम्बिनी प्रदेश सरकारको बालीविज्ञान प्रयोगशालाका पुर्व प्रमुख समेत रहेका देवेश कुमार मिश्रले वैदेशिक रोजगारीले नेपालको कृषि क्षेत्रलाई चुनौती दिइएको छ ।
उनका अनुसार बालीनालीको तँ थोरै धेरै उत्पादन महिलाहरुले गर्न सके पछि बजार पुर्याउन र बजारबाट आवश्यक मलखाद्य,विउँबिजन,बाली उपचार गरेर बढि भन्दा बढि उत्पादन लिईने चुनौती बन्दै गएको छ । यसले समयमा खेती नहुने, उत्पादन घट्ने र खेतबारी बाँझो हुने समस्या समेत बढाएको छ । धेरै ठाउँमा महिलाहरू परम्परागत तरिकाले खेती गरिरहेकाले आधुनिक कृषि प्रविधिको प्रयोग कम भएको पनि देखिन्छ । सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेहरूको ठूलो हिस्सा ग्रामीण क्षेत्रबाट रहेको छ, जसले गाउँमा महिला–प्रधान कृषि प्रणाली विकास गरिरहेको छ। यद्यपि महिलाहरूलाई आवश्यक तालिम, आधुनिक उपकरण र आर्थिक सहयोग पर्याप्त नहुँदा उनीहरू अझै पनि परम्परागत श्रम मै सीमित छन् । सामाजिक दृष्टिले पनि यसले नयाँ चुनौती सिर्जना गरेको छ । घरमा पुरुषको अनुपस्थितिले निर्णय प्रक्रिया, सम्पत्ति व्यवस्थापन र सामाजिक सहभागितामा महिलाको भूमिका बढाएको छ । तर साथसाथै एकल जिम्मेवारीको बोझ, मानसिक तनाव र समय अभावका समस्या पनि बढेका छन्।
केही स्थानीय तहहरूले महिलाहरूलाई कृषि तालिम, बीउ वितरण र साना अनुदान कार्यक्रम सुरु गरेका छन्। तर विशेषज्ञहरूका अनुसार यी प्रयासहरू अझै पर्याप्त छैनन्। ग्रामीण महिलालाई सशक्त बनाउन दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको सुझाव छ । वैदेशिक रोजगारीले गाउँको आर्थिक संरचना बलियो बनाएको भए पनि यसको सामाजिक मूल्य भने महिलाले भोग्नुपरेको श्रम र जिम्मेवारीबाट स्पष्ट देखिन्छ। भविष्यमा कृषि आधुनिकीकरण, महिला सशक्तीकरण र स्थानीय रोजगारी सिर्जना नभएसम्म यो अवस्था अझ जटिल बन्न सक्ने देखिन्छ । यसरी पुरुष वैदेशिक रोजगारीमा गएपछि ग्रामीण नेपालको खेतीपातीको मेरुदण्ड महिलाको काँधमा पुगेको छ, जसले उनीहरूको जीवनलाई संघर्षपूर्ण भए पनि अझ जिम्मेवार र निर्णायक बनाएको छ ।
वि.सं २०७९ सालमै जिल्लाको प्रतापपुर गाउपालिकाबाट विदेशिएका नेपालीबाट गाउपालिका भित्र बार्षिक ३८ करोड रेमिटान्स भित्रिने गरेको तथ्याँक प्रस्तुत गरेको थियो,जुन अहिले घट्नु भन्दा बढदै गएको अनुमान गरिन्छ । गाउपालिका अनुसार गाउ घरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय विदेशिएका थिए । जसमा १ हजार ४ सय जना फर्केका छन्,अहिले पनि १ हजार ७ सय जना विदेश मै रहेको तथ्याँक उनले जानकारी गराएका थिए । आत्मनिर्भर र निर्यातमुखी उत्पादन तथा पर्यटन ब्यवसायबाट बाहिर आयआर्जनको माध्यम बनाउन सकिन्छ,। अनि मात्र विदेशिएका युवालाई स्वदेशमा रोजगारीको अवस्था सृजना गरि टिकाउन सकिन्छ । यो चुनौती पुर्ण कार्य छ, तर असम्भव पनि छैन् । धैर्यताका साथ युवाहरु तथा नीति निर्माताहरुले पनि काम गर्नु पर्छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *