धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग

नवलपरासी,४ असोज
जिल्लाको रामग्राम नगरपालिका–१८ धरमपुरमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई व्यवस्थित गरी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पुरातात्विक पर्यटनसँग जोडिएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन्।
करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको संरक्षण तथा पूर्वाधार विकासका लागि करिब १५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ, भने हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सोही वार्डका वार्ड अध्यक्ष गोपाल डिस्वा मागरले बताए । प्राकृतिक रूपमा आकर्षक देखिने धर्मपोखरी अहिले स्थानीय तथा बाह्य क्षेत्रका मानिसका लागि पिकनिक तथा घुमफिरको स्थलका रूपमा प्रयोग हुँदै आएको छ । पर्याप्त पूर्वाधार, व्यवस्थित प्रचारप्रसार र पर्यटन मैत्री संरचनाको विकास हुन सकेमा यसलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।
उनका अनुसार धर्मपोखरीसँग बुद्धकालीन इतिहास र स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका विभिन्न मान्यता पनि प्रचलनमा छन् । स्थानीयका अनुसार बुद्धकालमा कोलिया क्षेत्रका राजपरिवार तथा स्थानीय समुदायका मानिसहरू यस क्षेत्रसँग जोडिएको धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेको जनविश्वास छ । पोखरी रहेको क्षेत्र नजिकै बुद्ध शान्ति साझेदारी वन क्षेत्रसमेत रहेकाले प्राकृतिक पर्यटनसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना समेत रहेको स्थानीय बताउँछन् । धर्मपोखरीको अर्को विशेषता यसको पानीसँग जोडिएको स्थानीय जनविश्वास हो,एक स्थानियले भने, पोखरी लामो समय देखि नसुक्ने पोखरीका रूपमा परिचित छ । आधुनिक समयमा समेत पोखरीको पानी निकाल्न बोरिङ तथा पम्पसेटको प्रयोग गरिए पनि पूर्ण रूपमा नसुकेको स्थानीयको भनाइ छ ।

पोखरीसँग सुनको माछासम्बन्धी एउटा पुरानो किंवदन्तीसमेत जोडिएको छ, उनले भने, करिब एक–डेढ सय वर्षअघि पोखरीमा सुनको माछा देखिएको जनश्रुति छ । उक्त माछा निकाल्ने प्रयासका क्रममा पोखरीको पानी बाहिर निकाल्न खोजिए पनि नसकेको भन्ने किंवदन्ती अहिले पनि स्थानीयस्तरमा सुनिँदै आएको छ । यस्ता स्थानीय कथा, जनविश्वास र प्राकृतिक विशेषतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने स्थानीयको भनाइ छ । रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष मगरले धर्मपोखरीलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूहरू प्रयासरत रहेको बताएका छन् । उनका अनुसार पोखरीको प्राकृतिक स्वरूप र यसको स्थानीय धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै आवश्यक पूर्वाधार विकास गर्न सकेमा यस क्षेत्रले पर्यटनमा नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।
धर्मपोखरीको सम्भावनाबारे उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका ओमप्रकाश अग्रहरीले पनि चासो देखाएका छन् । हालै क्षेत्रको भ्रमण गरेका अग्रहरीले धर्मपोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको बताएका छन् । पूर्व–पश्चिम राजमार्गबाट बुद्ध शान्ति साझेदारी वन क्षेत्र हुँदै धर्मपोखरीसम्म पुग्न सकिने भएकाले राजमार्गमा आवतजावत गर्ने पर्यटकलाई समेत यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ, उनले भने, राजमार्गसँगको पहुँचलाई व्यवस्थित गर्दै सडक, पार्किङ, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्रलगायत आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्न सकेमा पोखरीलाई छोटो दूरीको गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।
धर्मपोखरीलाई देवताल तथा बुद्धसँग जोडिएका अन्य ऐतिहासिक तथा सांस्कृतिक स्थलसँग समेत जोडेर पर्यटनको एकीकृत सर्किट निर्माण गर्न सकिने सम्भावना रहेको स्थानीय भन्छन्, त्यसका लागि पोखरीको मात्र विकास गर्नुको सट्टा आसपासका वन क्षेत्र, धार्मिक स्थल, ऐतिहासिक सम्पदा र स्थानीय संस्कृतिलाई समेत समेटेर दीर्घकालीन पर्यटन योजना बनाउन आवश्यक छ । धर्मपोखरीको विकासमा मुख्य चुनौती भनेको उपलब्ध सम्भावनालाई योजनाबद्ध रूपमा पर्यटन पूर्वाधारसँग जोड्नु हो । डीपीआर तयार भए पनि त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन, पूर्वाधार निर्माण, संरक्षण र नियमित व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।
धर्मपोखरीलाई स्थानीय समुदायको सहभागितामा विकास गर्न सकेमा यसको संरक्षणसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधिसमेत बढाउन सकिने अपेक्षा गरिएको छ । पर्यटनसँग जोडिएका होटल, होमस्टे, स्थानीय उत्पादन, हस्तकला तथा सांस्कृतिक गतिविधिलाई समेत प्रवद्र्धन गर्न सकेमा यस क्षेत्रको आर्थिक सम्भावना विस्तार हुने स्थानीयको विश्वास छ । धर्मपोखरीको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । साथै स्थानीय समुदाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित सरोकारवालालाई समेत सहभागी गराएर एकीकृत योजना निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।
धार्मिक विश्वास, स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई एकै ठाउँमा जोड्न सकिने भएकाले धर्मपोखरीलाई योजनाबद्ध रूपमा विकास गर्न सकेमा रामग्राम क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने देखिन्छ । त्यसका लागि संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार, प्रचारप्रसार र दीर्घकालीन व्यवस्थापनमा सरोकारवालाको ध्यान जानुपर्ने स्थानीयको भनाइ छ । धमरपोखरीसँगै बुद्धको वन भनेर चिनाउने उदेश्यले संरक्षण र विकास गरिदै आएको बुद्धशान्ति साझेदारी वन क्षेत्रमा वन विहार समेत गराउन सक्ने,वन क्षेत्र भित्र वनबासको अवधारणा बनाई अन्य थप पर्यटकिय पुर्वाधार विकास गर्न सक्ने सम्भावन रहेको क्षेत्रमा स्थानियमा जागरुकतासँगै सरकारी निकायको संलग्नता आवश्यक रहेको अग्रहरीले बताएका थिए । लुम्बिनी पर्यटन क्षेत्रसँग जोडेर यसलाई बुद्ध परिपथको एक पर्यटकिय क्षेत्र गन्तब्य रहेको अवस्था भएको देखिन्छ,उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *