बगरलाई उत्पादनको केन्द्र र कोलिय एग्रो टुरिज्म पार्क बनाउँदै युवा देवेन्द्र चौधरी

नवलपरासी,१६ कातिक
रामग्राम नगरपालिका–१८ डिघवलस्थित तुरिया खोलाको बगरलाई हरियाली, कृषि उत्पादन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा स्थानीय युवा देवेन्द्र चौधरी जुटेका छन् । वर्षौंदेखि बाँझो र बगरका रूपमा रहेको जमिनलाई खेतीयोग्य बनाउँदै कृषि तथा पर्यटनलाई जोड्ने उद्देश्यसहित उनले कोलिय एग्रो टुरिज्म पार्क सञ्चालनको पहल गरेका हुन्।
पार्कलाई हरियाली र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले कोलिय एग्रो टुरिज्म पार्क परिसरमा वृक्षारोपण लागतका कार्यक्रम समेत आयोजना गरेका थिए । वृक्षारोपणमार्फत वातावरण संरक्षणसँगै पार्कको सौन्दर्य बढाउने र भविष्यमा पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । स्थानीय युवा चौधरीले प्रयोग विहीन अवस्थामा रहेको विद्यालयको जग्गा भाडामा लिएर कृषि गतिविधि सुरु गरेका हुन् । विद्यालयको उपयोग विहीन जग्गालाई उत्पादनसँग जोड्ने सोचका साथ उनले सुरुमा फूलखेती र तरकारीखेती गर्दै आएका छन् । अहिले उनको प्रयास विद्यालयको जग्गामा मात्र सीमित छैन । तुरिया खोला किनारको करिब २० बिघा बगर क्षेत्रलाई समेत खेतीयोग्य बनाउने अभियानमा उनी सक्रिय छन् । प्रति कट्ठा एक हजार रुपियामा भाडा लिई काम गरि रहेका छन् ।
वर्षौंदेखि बगरका रूपमा रहेको जमिनमा खेती गर्न सहज छैन । खोलाले बगाएर ल्याएको बालुवा र गेग्रानका कारण जमिनलाई खेतीयोग्य बनाउन ठूलो मेहनत र लगानी आवश्यक पर्छ । चौधरीले यही चुनौतीलाई अवसरका रूपमा लिँदै बगरमा कृषि उत्पादन विस्तार गर्ने प्रयास गरिरहेका छन् । उनको उद्देश्य खाली जमिनमा खेती गर्नु मात्र होइन, कृषि, वातावरण र पर्यटनलाई एकै ठाउँमा जोडेर स्थानीयस्तर मै रोजगारी र आर्थिक गतिविधि सिर्जना गर्नु पनि हो । फूलखेती, तरकारीखेती, वृक्षारोपण र प्राकृतिक वातावरणको संरक्षणलाई प्राथमिकतामा राखेर उनले एग्रो टुरिज्म पार्कको अवधारणा अघि सारेका छन् ।
यस अभियानमा लुम्बिनी प्रदेश सरकारले समेत केही सहयोग गरेको चौधरीले बताएका छन् । सरकारी सहयोगले काम अघि बढाउन केही सहज भए पनि बगरलाई पूर्ण रूपमा खेतीयोग्य जमिनमा रूपान्तरण गर्न अझै ठूलो चुनौती रहेको उनको भनाइ छ । आवश्यक पूर्वाधार, माटो व्यवस्थापन, सिँचाइ तथा खेतीका लागि उपयुक्त वातावरण तयार गर्न थप सहयोग आवश्यक रहेको उनले बताए । ‘बगरलाई खेतीयोग्य जमिन बनाउने काम सजिलो छैन । यसका लागि निरन्तर मेहनत, लगानी र प्राविधिक सहयोग चाहिन्छ,’ चौधरीको भनाइ छ, ‘अहिले तत्काल केही राहत र सहयोग प्राप्त भयो भने एग्रो टुरिज्म पार्कलाई विस्तारै आफैँ आत्मनिर्भर बनाउन सक्छौँ।’ उनका अनुसार सुरुवाती चरणमा आवश्यक सहयोग र संरक्षण प्राप्त भए पार्कलाई दीर्घकालीन रूपमा आफ्नै आम्दानीबाट सञ्चालन गर्न सकिने सम्भावना छ । कृषि उत्पादनसँगै पर्यटकीय गतिविधि विस्तार गर्न सके स्थानीय युवाले गाउँमै रोजगारी पाउने र स्थानीय उत्पादनले बजारसमेत पाउने अपेक्षा गरिएको छ । तुरिया खोला किनारको बगरलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्ने चौधरीको प्रयासले बाँझो जमिनको उपयोग, वातावरण संरक्षण र कृषि पर्यटनको सम्भावनालाई उजागर गरेको छ । विशेषगरी नदी किनारका बगर क्षेत्रलाई व्यवस्थित ढंगले सदुपयोग गर्न सके स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्न सक्ने देखिन्छ । युवा चौधरीको योगदानले विद्यालय,वातावरणिय र कोलिय इतिहासको संरक्षणलाई समेत टेवा मिल्नेमा स्थानिय उद्यमी नरेश जैसवालले प्रशंसा गरेका थिए । यसमा तिन तहकै सरकारले सहयोग गर्नु पर्छ, उनले भने्,स्थानियले पनि यस्ता युवालाई प्रोत्साहित गर्नु पर्छ । कोलिर्य एग्रो पार्कको उदाहरण अन्य क्षेत्रमा पनि भु उपयोगीतालाई बढावा दिइने उनको भनाई थियो ।
कोलिय एग्रो टुरिज्म पार्कको विकाससँगै डिघवल क्षेत्रलाई कृषि तथा प्राकृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ । तर व्यक्तिगत प्रयासबाट मात्रै करिब २० बिघा बगरलाई पूर्ण रूपमा खेतीयोग्य र व्यवस्थित पर्यटकीय क्षेत्रमा रूपान्तरण गर्न कठिन हुने भएकाले स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायको सहयोग आवश्यक देखिन्छ । बगरमा खेती सम्भव छैन भन्ने सोचलाई चुनौती दिँदै चौधरीले सुरु गरेको यो अभियान सफल भए बाँझो जमिनको उपयोगसँगै कृषि पर्यटनको एउटा नमुना पनि बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *