पुस्तौं देखिको माटोको दियो बनाउने पेसा, घट्दै गएको मागले चिन्तित छेदी कोहार

नवलपरासी,१८ कातिक
आधुनिकताको विकाससँगै बजारमा विद्युतीय बत्ती र विभिन्न प्रकारका सजावटका सामग्रीको प्रयोग बढ्दै गएको छ । तर, यही आधुनिकताका बीच पुस्तौँदेखि चल्दै आएको माटोका भाँडाकुँडा बनाउने परम्परागत पेसा भने संकटमा पर्दै गएको छ ।
कुनै समय गाउँघरमा सहजै बिक्री हुने माटोका दियोको माग अहिले घट्दै गए पछि यसै पेसामा निर्भर परिवारको जीविकोपार्जनसमेत कठिन बन्दै गएको छ । पाल्हीनन्दन गाउँपालिका–५ गेर्मी गाउँकी ६० वर्षीया छेदी कोहार यसको उदाहरण हुन् । बाल्यकालदेखि नै माटोका भाँडाकुँडा बनाउँदै आएकी छेदीले उमेर ढल्किँदै जाँदा पनि आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेकी छन् । अहिले माटोका दियो बनाउने काममा पहिलेको जस्तो उत्साह र आम्दानीको सम्भावना नरहे पनि पुर्खाले सिकाएको सीप र परम्परा प्रतिको माया भने उनको मनबाट हराएको छैन ।
यस वर्षको दीपावलीका लागि पनि उनले माटोका दियो बनाएका छन् । तर, तयार भएका दियो बिक्री गर्न गाउँ गाउँ डुल्नुपर्ने अवस्था पहिले भन्दा झन् झन्झटिलो बन्दै गएको उनको अनुभव छ । अहिले चाहिनेले घरैबाट लैजाने गरि बनाएर राखेको उनी सुनाउछन् । ‘पहिले श्रद्धा र विश्वासका साथ मानिसहरूले माटोका दियो किन्ने गर्थे । गाउँमा दियो बेच्न जाँदा सजिलै बिक्री हुन्थ्यो । अहिले गाउँमा दियो बेच्न गयो भने अनेकथरी कुरा काट्ने मानिस पनि भेटिन्छन्,’ छेदीले आफ्नो अनुभव सुनाउछन् ।
उनका अनुसार समयसँगै नयाँ पुस्ताको रुचि र प्राथमिकता समेत परिवर्तन हुँदै गएको छ । पहिले दीपावली, श्रद्धा तथा धार्मिक संस्कारमा माटोका दियोको प्रयोग अनिवार्य जस्तै मानिन्थ्यो । अहिले भने कतिपय मानिसले धार्मिक परम्परा भन्दा खर्च र हिसाब किताबलाई बढी प्राथमिकता दिन थालेको उनको बुझाइ छ । ‘दीपावली भनेको श्रद्धा, भक्ति र आस्थाको पर्व हो । माटोको दियो बाल्नु हाम्रो परम्परा हो । तर, अहिले मानिसहरू परम्पराभन्दा पनि खर्च कति लाग्छ भन्ने हिसाब गर्न थालेका छन्,’ उनी भन्छन् दियो बनाउनै महँगो, बिक्रीबाट लागत उठाउन मुस्किल छ ।
छेदीका अनुसार माटोको दियो बनाउने काम बाहिरबाट हेर्दा सामान्य देखिए पनि यसको उत्पादन प्रक्रिया निकै मेहनतपूर्ण र खर्चिलो छ । दियो बनाउन सबै प्रकारको माटो प्रयोग गर्न मिल्दैन । गुणस्तरीय दियो बनाउन पोखरीको चिल्लो माटो आवश्यक पर्ने उनी बताउँछन् । यस वर्ष उनले लहरौली स्थित शिवपार्वती सिद्धधाम पोखरीबाट माटो ल्याएर दियो तयार गरेकी छन् । माटो संकलन देखि दियो बनाउने, सुकाउने र आगोमा पकाउनेसम्मका काममा समय, श्रम र खर्च लाग्ने गरेको उनको भनाइ छ । अहिले एक टाली माटोको मूल्य नै करिब २२ सय रुपैयाँ पर्ने उनी उनी सुनाउछन् । विगतमा सहजै उपलब्ध हुने दाउरा र भुससमेत अहिले महँगो भएको छ । पहिले निःशुल्क वा न्यून मूल्यमा पाइने दाउरा अहिले प्रति क्विन्टल १ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । दियो तयार पार्न माटो मात्रै पर्याप्त हुँदैन । त्यसलाई निश्चित आकारमा बनाउने, घाममा सुकाउने र उचित तापक्रममा पकाउने काम गर्नुपर्छ । पकाउने क्रममा दियो फुट्ने वा बिग्रिने जोखिम पनि उत्तिकै हुन्छ । यी सबै प्रक्रियामा लागेको खर्च जोड्दा दियो बिक्रीबाट लागतसमेत उठाउन कठिन हुने गरेको मेवा बताउछन् ।
‘पहिले दाउरा र भुस सित्तैमा पाइन्थ्यो । अहिले सबै कुरा किन्नुपर्छ । माटो किन्नुपर्छ, दाउरा किन्नुपर्छ । त्यसमाथि दिनभरि मेहनत गरेर बनाएका दियो बेच्न गाउँगाउँ पुग्नुपर्छ । तर, मेहनत र लगानी अनुसारको मूल्य पाउन सकिएको छैन,’। उनका अनुसार परम्परागत रूपमा माटोका भाँडाकुँडा बनाउने परिवारको समस्या स्थानीयस्तरमा पर्याप्त रूपमा बुझिएको छैन । बजारमा माग घट्दै जानु, उत्पादन लागत बढ्नु र बिक्रीका लागि उचित बजार नहुनुले यो पेसामा लागेका परिवारलाई थप निरुत्साहित बनाएको छ । विद्युतीय बत्तीको आकर्षण, माटोको दियोको महत्व ओझेलमा परेको उनको भनाई थियो ।
पछिल्लो समय दीपावलीलगायतका पर्वमा विद्युतीय झिलिमिली बत्ती, विभिन्न प्रकारका सजावट सामग्री र आयातित वस्तुको प्रयोग बढेको छ । घर, पसल तथा सार्वजनिक स्थानमा रंगीन विद्युतीय बत्तीको आकर्षण बढेसँगै परम्परागत माटोका दियोको प्रयोग सीमित हुँदै गएको छ । तर, माटोको दियो केवल उज्यालो दिने साधन मात्र नभई धार्मिक, सांस्कृतिक र वातावरणीय महत्व बोकेको वस्तु पनि हो । माटोबाट बनेका दियो प्राकृतिक रूपमा वातावरणमैत्री हुन्छन् । स्थानीय स्रोतसाधन प्रयोग गरेर उत्पादन गर्न सकिने भएकाले यसले स्थानीय सीप, श्रम र रोजगारीलाई समेत संरक्षण गर्छ ।
माटोका दियोको प्रयोग बढाउन सके स्थानीयस्तरमा परम्परागत पेसामा संलग्न परिवारले आम्दानीको अवसर पाउने र मौलिक संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने स्थानीयको बुझाइ छ । स्थानीय रामचन्द्र मौर्य पनि माटोका दियो बनाउने पेसालाई संरक्षण गर्नुपर्ने बताउँछन् । उनका अनुसार यो पेसा केवल केही व्यक्तिको जीविकोपार्जनसँग मात्र सम्बन्धित छैन, यसले स्थानीय कला, संस्कृति, परम्परा र वातावरणीय सन्तुलनसँग समेत सम्बन्ध राख्छ । ‘माटोको दियो वातावरणमैत्री वस्तु हो । यसले स्थानीय मानिसलाई रोजगारी दिनुका साथै जीविकोपार्जनको माध्यमसमेत बनेको छ । तर, यसको महत्व बुझेर संरक्षण गर्ने प्रयास हुन सकेको छैन,’ मौर्यले पनि सुनाउछन् ।
उनले आधुनिकताको विकासलाई रोक्न नसकिने भए पनि त्यसका नाममा परम्परागत सीप र संस्कृतिलाई विस्थापित गर्न नहुने धारणा राख्छन् । उनका अनुसार स्थानीयस्तरमा उत्पादन हुने माटोका दियोको प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक छ । संरक्षणका लागि सरकारी प्रोत्साहनको आवश्यकता उनी औल्याउछन् । कोहारको चिन्ता आफ्नो पेसा मात्रै होइन, आफूले सिकेको सीप आगामी पुस्तासम्म पुग्छ कि पुग्दैन भन्ने पनि हो । पुस्तौँदेखि परिवारले गर्दै आएको पेसा छाड्न मन नभए पनि निरन्तर बढिरहेको लागत र घट्दो बजारले उनलाई अन्योलमा पारेको छ ।

उनका अनुसार माटोका भाँडाकुँडा बनाउने परिवारलाई सरकारले सीप संरक्षण, कच्चा पदार्थको उपलब्धता, उत्पादन सामग्री र बजारीकरणमा सहयोग गर्न सके यो पेसालाई पुनर्जीवन दिन सकिन्छ । तर, पहुँच र प्रभाव भएका व्यक्तिहरूले मात्रै सरकारी सहयोग पाउने गरेको अनुभूति आफूजस्ता सामान्य परिवारलाई रहेको उनले गुनासो गर्ने गर्छन् । ‘सरकारबाट केही प्रोत्साहन र अनुदान पाए हुन्थ्यो । तर, हाम्रो पहुँच छैन । सरकार पनि पहुँचवालाकै कुरा सुन्छ जस्तो लाग्छ । हामीले आफ्नो पेसा जोगाउन चाहेर मात्रै पनि सम्भव भइरहेको छैन,’ उनी भन्छन् ।
मौर्यका अनुसार सरकारले स्थानीय उत्पादन र परम्परागत सीपलाई प्राथमिकता दिएर माटोका दियोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । विद्युतीय बत्तीको प्रयोग बढ्दै गएको अवस्थामा स्थानीय उत्पादनको संरक्षणका लागि पनि उत्तिकै ध्यान दिन आवश्यक छ । स्थानीयस्तरमा बन्ने वातावरणमैत्री वस्तुलाई प्रोत्साहन गर्नुको सट्टा बाहिरबाट आयातित सामग्रीको प्रयोग बढ्दै जानु चिन्ताको विषय भएको उनको भनाइ छ । आधुनिकता र प्रविधिको विकाससँगै समाज परिवर्तन हुनु स्वाभाविक हो । तर, परिवर्तनका नाममा पुर्खाले हस्तान्तरण गरेको सीप, कला र संस्कृतिलाई बिर्सनु उचित हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *