
नवलपरासी,१२ मंसिर
निर्माण सम्पन्न भएर दुई वर्षभन्दा बढी समयदेखि सेवा प्रवाह भइरहेको सुनवल नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको बल्ल औपचारिक उद्घाटन गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि तत्काल उद्घाटन गरेर सेवा सञ्चालन गर्नुपर्ने भए पनि नगरपालिकाले दुई वर्षपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबाट बिहीबार भवनको उद्घाटन हुन् ।
तत्कालिन प्रधानमन्त्री ओली उद्घाटन गर्ने योजना जेन्जी आन्दोलनले विफल भए पछि दुई वर्षदेखि सञ्चालनमा रहेको सुनवल नगरपालिकाको प्रशासनिक भवनको उदघाटन मुख्यमन्त्री अचार्यले गर्नु परेको नगरपालिका स्रोतले जनायो । सुनवल नगरपालिका प्रमुख विमला अर्यालले मुख्यमन्त्री आचार्यलाई आमन्त्रण गरी नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गराएकी हुन् । भवनबाट नगरपालिकाले यसअघि नै सेवा प्रवाह गर्दै आएको भए पनि औपचारिक उद्घाटन भने हुन सकेको थिएन ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि निर्वाचित भइसकेपछि जनप्रतिनिधिले जनताको हित र विकासलाई प्राथमिकता दिनुपर्ने बताए । निर्वाचनपछि राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर जनताको सेवामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । १६ करोड ४४ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भएको सुनवल नगरपालिकाको प्रशासनिक भवनबाट दुई वर्षभन्दा बढी समयदेखि सेवा सञ्चालन भइरहेको नगरप्रमुख अर्यालले बताइन् । उनका अनुसार प्रशासनिक भवन निर्माणका लागि आफूले बजेट ल्याउन पहल गरेको दाबी गरेकी थिईन् । तर सो भवनको डिजाईन,जग्गा ब्यवस्थापन,स्रोत ब्यवस्थापन अघिल्लो कार्यकालका मेयर भरत थापा लगायत जनप्रतिनिधिहरुको भएको नगरपालिका स्रोतको भनाई थियो । ओली ल्याएर आफ्नो राजनीतिक प्रभाव पार्ने योजना जेन्जी आन्दोलन पश्चात विफल भयो,अहिले मुख्यमन्त्री अचार्यलाई भए पनि ल्याएर उदघाटन गराएकी छिन् ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि २०७६ असार १२ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले २०८० माघ २३ गते निर्माण कार्य सम्पन्न गरी भवन नगरपालिकालाई हस्तान्तरण गरे पछि नयाँ भवनबाट नियमित सेवा प्रवाह हुँदै आएको छ । १ हजार ५ सय ८५ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको साढे तीन तले भवनमा ७५ वटा कोठा रहेका छन् । त्यसैगरी एउटा बहुउद्देश्यीय सभाहल र चारवटा बैठक कक्ष निर्माण गरिएका छन् । नगरपालिकाका विभिन्न शाखा तथा प्रशासनिक कामलाई एउटै भवनबाट सञ्चालन गर्न सकिने गरी आधुनिक सुविधासहित भवन निर्माण गरिएको हो ।
अर्थ मन्त्रालयको ४० प्रतिशत र सुनवल नगरपालिकाको ६० प्रतिशत लगानीमा भवन निर्माण गरिएको हो । भूकम्प प्रतिरोधी, वातावरणमैत्री तथा अग्नि नियन्त्रण प्रणालीसहितको भवनमा लिफ्ट र अपांगमैत्री संरचना समेत निर्माण गरिएको छ । तर, भवनमा जडान गरिएको लिफ्ट भने अझै सञ्चालनमा आउन सकेको छैन । आधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भए पनि लिफ्ट प्रयोग विहीन रहनुले पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग र सञ्चालन व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने देखिएको छ ।
प्रशासनिक भवन निर्माणका लागि स्वर्गीय मुरारी शर्माको स्मृतिमा ठाकुरप्रसाद शर्मा, किशोरप्रसाद शर्मा, अशोक शर्मा र लोकेश शर्माले चार कठ्ठा जग्गा दान दिएका थिए । जग्गादाताको योगदानपछि कुल चार बिघा क्षेत्रफलमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो । स्थानीयको जग्गादान र सरकारी लगानीबाट बनेको यो भवन नगरपालिकाको प्रशासनिक केन्द्रका रूपमा स्थापित भएको छ । भवन निर्माणका लागि सम्झौता भएको करिब चार वर्ष सात महिनापछि निर्माण कार्य सम्पन्न भएको थियो । त्यसपछि नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आए पनि औपचारिक उद्घाटनका लागि भने थप दुई वर्षभन्दा बढी समय लागेको छ ।
उद्घाटन कार्यक्रममा पूर्व मेयर प्रमुख भरत थापा, संघीय सांसद रिङ्गला यादव, पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, पूर्वमन्त्री बैजनाथ चौधरी, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल) लगायत जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सार्वजनिक भवन समयमै उपयोगमा ल्याउनुका साथै त्यसमा जडान गरिएका सबै सुविधालाई सञ्चालनमा ल्याउनु पनि स्थानीय सरकारको जिम्मेवारी हो । दुई वर्षदेखि सञ्चालनमा रहेको प्रशासनिक भवनको औपचारिक उद्घाटन ढिलो गरी भए पनि अब लिफ्टलगायतका सुविधासमेत सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनु नगरपालिकाका लागि महत्वपूर्ण विषय बनेको छ ।
