बसपार्क नहुँदा दसगजामै यात्रुवाहक बस, तीन तहका सरकार जनताको समस्याप्रति बेखबर

नवलपरासी,११ मंसिर
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीस्थित बिसुनपुरा नाका सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्ने महत्वपूर्ण आवत जावतको केन्द्र हो । यस क्षेत्रका नेपाली उपभोक्ता दैनिक उपभोग्य सामग्री खरिद गर्न सीमावर्ती भारतीय बजार बर्गदवामा पुग्ने गर्छन् । तर, भारतबाट फर्किने यात्रुलाई ओराल्ने र चढाउने व्यवस्थित बस बिसौनी नहुँदा यात्रुवाहक बसले दसगजा क्षेत्रमा नै यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने बाध्यता छ ।
स्थानीयवासी तथा यात्रुका अनुसार बिसुनपुरा नाकामा दैनिकजसो यात्रुवाहक बस तथा सवारीसाधनको आवतजावत हुन्छ । भारतको बर्गदवा बजारबाट किनमेल गरेर फर्किने नेपाली उपभोक्ता, विद्यार्थी तथा अन्य यात्रुलाई सार्वजनिक यातायात प्रयोग गर्न सहज हुने गरी व्यवस्थित बसपार्क वा बस बिसौनीको व्यवस्था हुन सकेको छैन । जसका कारण सीमाक्षेत्रको दसगजामै बस रोकेर यात्रु चढाउने र ओराल्ने गरिएको छ । दसगजा क्षेत्रमा बस रोक्दा कहिलेकाहीँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले बस चालक तथा यात्रुलाई गालीगलौज गर्ने गरेको स्थानीयको गुनासो छ ।
बस रोक्ने विषयमा विवाद हुँदा यात्रुले समेत अपमानजनक व्यवहार सहनुपर्ने अवस्था आउने गरेको उनीहरू बताउँछन् । आफ्नै देशको सीमावर्ती क्षेत्रमा सार्वजनिक यातायातको सामान्य सुविधा नहुँदा नेपाली नागरिकले छिमेकी देशको सुरक्षा निकायका सुरक्षाकर्मीबाट असहज व्यवहार भोग्नुपर्ने अवस्था विडम्बनापूर्ण बनेको छ । स्थानीयवासीका अनुसार यो समस्या नयाँ होइन, लामो समयदेखि यात्रुवाहक बस रोक्ने व्यवस्थित स्थानको माग हुँदै आए पनि सम्बन्धित निकायले समाधानका लागि ठोस पहल गरेको छैन। सीमावर्ती नाकामा दैनिक हजारौँको आवतजावत हुने र स्थानीय व्यापारिक गतिविधिसमेत जोडिएको अवस्थामा यात्रुका लागि सामान्य बस बिसौनीसमेत नहुनुले सरकारी प्राथमिकतामाथि प्रश्न उठाएको छ ।
सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेको यो समस्यामा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सार्वजनिक यातायातको समस्या समाधान गर्नुपर्ने तीन तहका सरकार मौन दर्शक बनेको उनीहरूको आरोप छ। सीमाक्षेत्रको विकास, आवागमन सहजता र नागरिकको सम्मानजनक यात्राका लागि आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीय बताउँछन्।

बिसुनपुरा नाका केवल दुई देशबीचको आवागमन गर्ने स्थान मात्र होइन, यस क्षेत्रका नागरिकको दैनिक उपभोग, व्यापार र आर्थिक गतिविधिसँग जोडिएको महत्वपूर्ण नाका पनि हो। यहाँ व्यवस्थित बस बिसौनी निर्माण भए यात्रुहरूले सुरक्षित रूपमा सवारीसाधन चढ्न र ओर्लन पाउनेछन्। दसगजा क्षेत्रमा सवारी रोक्नुपर्ने बाध्यता पनि हट्नेछ।

त्यसका लागि पाल्हीनन्दन गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित सुरक्षा निकाय तथा सडक र यातायातसँग सरोकार राख्ने निकायले समन्वय गर्न आवश्यक छ। दसगजा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा सुरक्षामा कुनै असर नपर्ने गरी नेपाली भूमिभित्र उपयुक्त स्थान पहिचान गरेर बस बिसौनी निर्माण गर्न सकिन्छ।

सीमावर्ती क्षेत्रका नागरिकले मागेको सुविधा कुनै ठूलो विकास आयोजना होइन, दैनिक आवागमनसँग जोडिएको सामान्य पूर्वाधार हो। तर, यही सामान्य सुविधा नहुँदा नेपाली यात्रुले सीमामा अपमान र असहजता भोग्नुपर्ने अवस्था छ। जनताको समस्या समाधान गर्ने जिम्मेवारी पाएका तीन तहका सरकारले अब पनि बेवास्ता गरिरहने कि बिसुनपुरा नाकामा व्यवस्थित बस बिसौनी निर्माण गरेर नागरिकलाई सहज र सम्मानजनक यातायात सुविधा उपलब्ध गराउने भन्ने प्रश्न स्थानीयले उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *