
नवलपरासी,१२ मंसिर
सीमावर्ती महेशपुर–त्रिवेणी सडकअन्तर्गत महेशपुर–भुजवा सडक खण्ड कालोपत्रे भएको एक वर्ष नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग र सडकको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन हुँदा सडक छोटो समयमै जीर्ण बन्न थालेको स्थानीयले बताएका हुन् ।
सडक निर्माणमा हुने लापरबाही, गुणस्तरहीन सामग्रीको प्रयोग तथा सडकमा क्षमता भन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालनमा नियन्त्रण हुन नसक्दा विकास निर्माणका काम दिगो हुन नसकेको उनीहरूको भनाइ छ । विशेषगरी टिपर तथा अन्य मालवाहक सवारी साधनमा क्षमताभन्दा बढी सामग्री लोड गरेर सञ्चालन गर्दा सडकको अवस्था थप बिग्रँदै गएको स्थानीयको गुनासो छ । स्थानीय जितेन्द्र गुप्ताका अनुसार सडकको भारवहन क्षमता कति हो ? र कुन सडकमा कति भार बोकेका सवारीसाधन सञ्चालन गर्न पाइन्छ ? भन्ने विषयमा स्पष्ट जानकारी तथा प्रभावकारी नियमन देखिएको छैन । सडकको क्षमता भन्दा बढी भार बोकेर टिपर सञ्चालन हुँदा कालोपत्रे सडक एक–दुई वर्ष पनि टिक्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।
उनका अनुसार सडक निर्माण सम्पन्न भएपछि त्यसको गुणस्तर र दिगोपनाबारे सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने भए पनि व्यवहारमा त्यस्तो प्रभावकारी व्यवस्था देखिएको छैन । सडक किन भत्कियो ? निर्माण सामग्रीको गुणस्तर कस्तो थियो ? र निर्माणका क्रममा प्राविधिक मापदण्ड पालना भयो कि भएन ? भन्ने विषयमा समेत सम्बन्धित निकायले स्पष्ट जवाफ दिन नसकेको स्थानीयको आरोप छ । सडक भत्किन थालेपछि पनि निर्माण व्यवसायीलाई जिम्मेवार बनाउने, आवश्यक मर्मत गराउने तथा कमजोरी देखिए कारबाही गर्ने काम प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ । सडक निर्माणमा हुने अनियमितता र त्यसपछि हुने कमजोर अनुगमनका कारण राज्यको लगानी खेर जाने गरेको स्थानीयको भनाइ छ ।
सोही वडाका वडा सदस्य चुलाही यादवले विकास निर्माणका काममा ठेकेदारको मनोमानी, प्राविधिक कर्मचारीको गैरजिम्मेवार कार्यशैली र अतिरिक्त आम्दानी गर्ने प्रवृत्तिका कारण यस्ता समस्या दोहोरिने गरेको बताए । निर्माण व्यवसायीले गुणस्तरमा ध्यान नदिने र सम्बन्धित प्राविधिकले प्रभावकारी निगरानी नगर्ने प्रवृत्तिले सरकारी लगानीअनुसारको प्रतिफल जनताले पाउन नसकेको उनको भनाइ छ । उनले सडक निर्माणमा हुने कमजोरी नियन्त्रण गर्न स्थानीय तहदेखि संघीय सरकारसम्मका सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताए । सडक निर्माणपछि निश्चित समयसम्म गुणस्तरको जिम्मेवारी निर्माण व्यवसायीले लिनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको उनको भनाइ छ ।
महेशपुर–भुजवा सडक खण्डको अवस्था जिल्लामा विकास निर्माणका क्रममा देखिने बेथितिको एउटा उदाहरण मात्रै भएको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानमा निर्माण भएका सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत गुणस्तर र दिगोपनाको विषय उठ्ने गरेको छ । निर्माण सम्पन्न भएको केही समयमै संरचना बिग्रने तर त्यसको जिम्मेवारी लिने निकाय वा व्यक्ति जवाफदेही नबन्ने प्रवृत्तिले विकास निर्माणप्रति नागरिकको विश्वास कमजोर बनाउँदै लगेको छ । अर्कोतर्फ, सडकको भारवहन क्षमताअनुसार सवारीसाधन सञ्चालन गराउने, ओभरलोड नियन्त्रण गर्ने तथा ट्राफिक नियम कार्यान्वयन गर्ने जिम्मेवारी पाएको ट्राफिक प्रहरीको भूमिका माथि पनि स्थानीयले प्रश्न उठाएका छन् । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन खुलेआम सञ्चालन भइरहँदा नियन्त्रण प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ ।
जनताले नियमित रूपमा कर तिरेर राज्यलाई राजस्व बुझाउने तर त्यही राजस्वबाट निर्माण हुने पूर्वाधारको गुणस्तर सुनिश्चित नहुने अवस्था अन्त्य हुनुपर्ने स्थानीयको माग छ । ठेकेदार, प्राविधिक र अनुगमन गर्ने निकायबीचको कमजोर जवाफदेहिताले विकास बजेटको सदुपयोगमा प्रश्न उठाएको उनीहरूको भनाइ छ । सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने सरकारबाट समेत विकास निर्माणका काममा प्रभावकारी अनुगमन, नियमन र कारबाही हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । सडक निर्माणमा हुने लापरबाही रोक्न निर्माणपूर्वको मापदण्ड, निर्माण सामग्रीको गुणस्तर परीक्षण, निर्माण सम्पन्न भएपछि प्राविधिक मूल्यांकन र नियमित अनुगमनलाई अनिवार्य बनाउनुपर्ने उनीहरूको माग छ ।
महेशपुर–भुजवा सडकको अवस्था सुधार गर्न तत्काल प्राविधिक टोलीबाट स्थलगत निरीक्षण गरी सडक भत्किनुको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने देखिन्छ । साथै, निर्माणमा कमजोरी पुष्टि भए सम्बन्धित निर्माण व्यवसायीलाई जिम्मेवार बनाउने र सडकको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनमाथि कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
