गण्डक सिँचाइ र पूर्वाधार समस्याबारे सांसद यादवद्वारा स्थलगत जानकारी

नवलपरासी,११ मंसिर
जिल्लाको गण्डक सिँचाइ प्रणालीमा देखिएका समस्या तथा जीर्ण बन्दै गएका पूर्वाधारको अवस्थाबारे संघीय सांसद रिङ्गला यादवले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली सेमरी कार्यालयका प्रमुखसहित प्राविधिक टोलीसँग छलफल गरी जानकारी लिएकी छन् । शुक्रवार कार्यालयमै पुगेरसांसद यादवले गण्डक सिँचाइ प्रणालीबाट किसानले भोग्दै आएका समस्या, नहरको वर्तमान अवस्था, शाखा तथा उपशाखा नहरको जीर्ण अवस्था र सिँचाइ पूर्वाधारमा देखिएका समस्याबारे कार्यालय प्रमुख तथा प्राविधिकहरूसँग जानकारी लिएकी हुन् ।
उनले किसानको खेतसम्म नहरको पानी पु¥याउन आवश्यक प्राविधिक तयारी गर्नसमेत कार्यालय प्रमुखसहित प्राविधिक कर्मचारीलाई निर्देशन दिएकी छन् । छलफलका क्रममा नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली सेमरी कार्यालयका प्रमुख रनधीर शाहले विगतको तुलनामा गण्डक सिँचाइको अवस्था धेरै सुधार भएको बताएका थिए । नहरको मुहानमा देखिएको सिल्ट अर्थात् बालुवा तथा माटो थुप्रिने समस्याको व्यवस्थापनपछि मूल नहरमा पानी प्रवाह हुन थालेको उनको भनाइ थियो । तर मूल नहरमा पानी आए पनि शाखा तथा उपशाखा नहरहरू पुरिएका र जीर्ण अवस्थामा रहेकाले सबै किसानको खेतसम्म पर्याप्त पानी पु¥याउन चुनौती रहेको उनले बताएका थिए ।
कार्यालय प्रमुख शाहले किसानको सिँचाइ समस्यालाई समयमै सम्बोधन गर्ने उद्देश्यले आगामी डिसेम्बर १० तारिख (मंसिर २४ गते) देखि नहरमा पानी प्रवाह गर्ने व्यवस्था मिलाउन भारतीय पक्षसँग पत्राचार गरिसकेको जानकारी सांसद यादवलाई गराएका थिए । सिँचाइको मुख्य समयमा किसानले पानी पाउनुपर्ने भएकाले भारतीय पक्षसँग समन्वय गरी पानी प्रवाहको व्यवस्था मिलाउन पहल भइरहेको उनले बताए । सांसद यादवले गण्डक सिँचाइ प्रणालीको समस्या समाधानका लागि आफूले संसद्मा समेत निरन्तर आवाज उठाउँदै आएको बताइन् । उनले गण्डकको पानीलाई केवल नदीको प्रवाहका रूपमा नभई हजारौँ कृषकको पसिना, सपना र समृद्धिसँग जोडिएको जीवनरेखाका रूपमा व्याख्या गर्दै आएकी छन् ।
उनले संसदमा गण्डक सिँचाइको समस्याबारे ध्यानाकर्षण गराउँदै भनेकी थिइन्, “गण्डकको उर्वर भूमिमा बग्ने पानी केवल नदीको प्रवाह होइन—यो हजारौँ कृषकको पसिना, सपना र समृद्धिको सङ्कल्प हो।” पूर्वी नवलपरासीको त्रिवेणीदेखि पश्चिम नवलपरासीको पाल्हीनन्दनसम्म फैलिएको ३२ किलोमिटर लामो नेपाल गण्डक पश्चिम नहर प्रणाली पुनर्जीवनको पर्खाइमा रहेको उल्लेख गर्दै उनले पुरिएका शाखा–प्रशाखा नहरसँगै किसानका भरोसा पनि पुरिएको बताएकी थिइन् । सांसद यादवका अनुसार नहरको मुहानमा सिल्ट बेसिन निर्माण भएपछि मूल नहरमा पानी फर्किए पनि त्यसले मात्र किसानका खेत हरियाली बनाउन सकेको छैन । मुहानमा पानी बग्नु र किसानको खेतसम्म पानी पुग्नु फरक विषय भएकाले शाखा तथा उपशाखा नहरको मर्मत, सफाइ र उत्खननलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । महँगो बोरिङबाट सिँचाइ गर्न बाध्य किसानलाई नहरको पानी उपलब्ध गराउन पुरिएका शाखा तथा उपशाखा नहरको पुनःस्थापना अपरिहार्य रहेको उनले संसद्मा जोड दिएकी थिइन् । उनले गण्डक सिँचाइ प्रणालीको दीर्घकालीन समस्या समाधानका लागि सरकारसँग ‘बृहत् गण्डक पुनस्र्थापना आयोजना’ कार्यान्वयनमा ल्याउन मागसमेत गर्दै आएकी छन् । यसै सन्दर्भमा सेमरीस्थित सिँचाइ कार्यालयमा भएको छलफलमा सांसद यादवले नहरको वर्तमान अवस्थाको प्राविधिक मूल्याङ्कन, मर्मत गर्नुपर्ने संरचनाको पहिचान, शाखा तथा उपशाखा नहरको उत्खनन र पुनःसञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएकी हुन्। उनले समस्या पहिचान गरेर मात्र नहुने भन्दै समाधानका लागि आवश्यक योजना र प्राविधिक प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिइन् ।
गण्डक पश्चिम नहर प्रणाली पश्चिम नवलपरासीको कृषि उत्पादन र किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको सिँचाइ आयोजना हो । यस प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा विशेषगरी नहरको अन्तिम क्षेत्रसम्मका किसानले पर्याप्त सिँचाइ सुविधा पाउन कठिनाइ भोग्दै आएका छन् । मूल नहरमा पानी प्रवाह हुने व्यवस्था मिलाउनुका साथै शाखा तथा उपशाखा नहरको जीर्णोद्धार गर्न सके हजारौँ किसानले राहत पाउने अपेक्षा गरिएको छ । त्यसका लागि भारतीय पक्षसँगको समन्वय, प्राविधिक तयारी र आवश्यक बजेट व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ । गण्डक सिँचाइ प्रणालीको दिगो सुधारका लागि सांसद यादवले संसद्मा उठाउँदै आएको बृहत् पुनस्र्थापना आयोजनाको माग कार्यान्वयनमा आएमा पश्चिम नवलपरासीको कृषि क्षेत्रले दीर्घकालीन लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *