खुला सीमाको फाइदा उठाउँदै तस्करीको नयाँ धन्दा, घुमुवा प्रहरीमाथि नै असुलीको आरोप

नवलपरासी,४ मंसिर
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै जिल्लमा तस्करीको स्वरूप फेरिएको छ । विगतमा प्रहरीका उच्च अधिकारीसँगको मिलेमतोमा ठूलो परिमाणमा तस्करी हुने गरेको आरोप लाग्दै आएको सीमावर्ती क्षेत्रमा अहिले मोटरसाइकल मार्फत सामान ओसारपसार गर्ने र घुमुवा प्रहरीका नाममा रकम असुली हुने गरेको स्थानीयले बताएका हुन् ।
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल (बीओपी) को निगरानीलाई चुनौती दिँदै तस्करहरूले नयाँ शैली अपनाएको स्थानीयको भनाइ छ । भारतीय बजारबाट दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान मोटरसाइकलमा ल्याउने, विभिन्न बजारमा सङ्कलन गर्ने र पछि ठूला सवारीसाधनमा लोड गरेर देशका प्रमुख सहरसम्म पु¥याउने गरेको उनीहरूको दाबी छ । स्थानीयका अनुसार मोटरसाइकलमार्फत ल्याइएका सामान परासी बजारसँगै सुनवल, भूमही, बासा र बर्दघाटका विभिन्न स्थानमा सङ्कलन गरिन्छ । त्यसपछि ट्रक तथा अन्य मालवाहक सवारीसाधनमा लोड गरी काठमाडौं, नारायणगढ, पोखरा लगायतका बजारमा पु¥याउने गरिएको छ । यसरी सामान ओसारपसार गर्दा घुमुवा प्रहरीमार्फत रकम असुली हुने र उक्त रकम माथिल्लो तहसम्म पुग्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् ।
जिल्लाका सीमावर्ती भारतीय बजार ठुठीबारी, बरगदवा, लक्ष्मीपुर र बहुवार लगायतका स्थानबाट करोडौँ रुपैयाँ बराबरका सामान नेपाल भित्रिने गरेको बताइएको छ । एक स्थानीय व्यापारीका अनुसार ठुठीबारी बजारमा मात्रै नेपाली उपभोक्ता तथा व्यापारीलाई लक्षित गरी दैनिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ । स्थानीयका अनुसार कतिपयले दैनिक उपभोगका सामान बोक्ने ज्यालादारी मजदुरको आवरणमा तस्करीको काम गर्दै आएका छन् । सामान्य किनमेलका नाममा सामान भित्रयाउने र पछि ठूलो परिमाणमा एकै ठाउँमा जम्मा गरी गाडी मार्फत अन्य सहरमा पठाउने गरिएको उनीहरूको दाबी छ। यसले भन्सार राजस्वमा ठूलो क्षति पु¥याइरहेको छ ।
यसैबीच, रामग्राम नगरपालिका–१६ जमुनिया गाउँनजिक सादा पोसाकमा आएका एक व्यक्तिले प्रहरी जवान भएको परिचय दिँदै व्यापारीलाई रोकेर रकम असुल्ने गरेको घटना सार्वजनिक भएको स्थानीयले बताएका छन् । ती व्यक्तिले आफू टोनवा प्रहरी चौकीको जवान भएको भन्दै सन्दीप यादव नाम बताउने गरेको उनीहरूको भनाइ छ । तर, उक्त नामका प्रहरी जवान चौकीमा कार्यरत नरहेको जानकारी प्रहरी चौकीबाट प्राप्त भएको स्थानीयको दाबी छ । यस घटनाले प्रहरीको नाम र पोसाक प्रयोग गरेर सर्वसाधारण तथा व्यापारीलाई दुःख दिने व्यक्तिहरूको गतिविधिबारे समेत प्रश्न उठाएको छ ।
स्थानीयले महेशपुरस्थित सशस्त्र प्रहरी बलको बीओपीको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार तस्करी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको निकायको उपस्थितिमै दिउँसै मोटरसाइकलबाट सामान ओसारपसार भइरहेको छ । बीओपीका प्रमुखको तस्करसँग मिलेमतो छ वा तस्करहरूले सुरक्षा निकायलाई नै चुनौती दिइरहेका छन् भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ । यता, जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाले खुला सीमाका कारण तस्करीका घटना हुने गरेको प्रतिक्रिया दिएका छन् ।
प्रदेश प्रहरी कार्यालयबाट समेत घुमुवा प्रहरी परिचालन हुने गरेको छन् । सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी र प्रहरीको नाममा रकम असुली भएको आरोपले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । विशेषगरी प्रहरीकै परिचय दिएर रकम असुल्ने व्यक्तिको पहिचान, घुमुवा प्रहरीको परिचालन र तस्करीमा संलग्न गिरोहबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने देखिन्छ । तस्करी नियन्त्रणको जिम्मेवारी पाएका निकायमाथि नै मिलेमतोको आरोप लागेपछि यसको निष्पक्ष अनुसन्धान, सीमामा प्रभावकारी निगरानी र राजस्व चुहावट रोक्न ठोस कदम चाल्नु आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *