
नवलपरासी,१ मंसिर
संघिय संसद प्रतिनिधिसभा सदस्य (संघिय साँसद) नरेन्द्र कुमार गुप्ताले उच्च शिक्षाको पहुँच सर्वसाधारणमा पुर्याउनका लागि सामुदायिक क्याम्पसहरुको ठूलो योगदान रहेको बताएका छन् । उनले महाकवि देवकोटा क्याम्पसको १६औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उतm कुरा बताएका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य(संघिय साँसद) गुप्ताको प्रमुख आतिथ्यतामा मंगलवार क्याम्पस सभा सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा उच्च शिक्षाको पहुँच विस्तारमा विशेष जोड दिएका थिए । उनले शैक्षिक संस्थाको विकासले समाजको समग्र शैक्षिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । गुप्ताले महाकवि देवकोटा क्याम्पसबाट बीबीएमा नेपाल प्रथम हुन सफल छात्रालाई बधाई दिँदै उक्त उपलब्धिले नवलपरासी जिल्लाको मात्र नभई सिंगो देशकै शैक्षिक क्षेत्रमा क्याम्पसको प्रतिष्ठा बढाएको उल्लेख गरेका थिए । विद्यार्थीको यस्तो उत्कृष्ट नतिजाले क्याम्पसको शैक्षिक वातावरण र शिक्षण गुणस्तरलाई थप उचाइमा पु¥याउन प्रेरणा मिल्ने बताए ।
क्याम्पसले प्रयोग गर्दै आएको जग्गा अतिक्रमणको चपेटामा परेको विषय उठाउँदै उनले अतिक्रमित जग्गाको स्वामित्व शैक्षिक संस्थालाई दिलाउन पहल भइरहेको जानकारी गराएका थिए । उक्त जग्गा क्याम्पसको नाममा प्राप्त गराउन सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको भन्दै निकट भविष्यमै जग्गा क्याम्पसले प्राप्त गर्ने विश्वास व्यक्त गरे । हाल क्याम्पसमा करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । गुप्ताले विद्यार्थीको आकर्षण कायम राख्न शैक्षिक गुणस्तरसँगै यातायात सुविधाको विस्तार गर्नुपर्नेमा जोड दिए । टाढाटाढाबाट आउने विद्यार्थीलाई समेत सहज रूपमा क्याम्पससम्म पुग्ने वातावरण बनाउन सके विद्यार्थी संख्या र शैक्षिक पहुँच दुवै विस्तार हुने उनको भनाई थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष लामिछानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको शैक्षिक तथा संस्थागत प्रगति, हालसम्मका उपलब्धि, विद्यमान चुनौती र आगामी योजनाबारे जानकारी गराएका थिए । उनले क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । त्यसैगरी क्याम्पस प्रमुख अनिलकुमार बस्नेतले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ मा क्याम्पसको कुल आम्दानी ६ करोड ३९ लाख ५५ हजार रुपैयाँ रहेको छ, भने सोही अवधिमा ५ करोड ५५ लाख ७४ हजार रुपैयाँ खर्च भएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । उक्त आर्थिक वर्षमा आम्दानी र खर्चबीच ८३ लाख ८१ हजार रुपैयाँको अन्तर देखिएको छ ।
क्याम्पसको आर्थिक तथा प्रशासनिक अवस्थासँगै शैक्षिक गतिविधि र संस्थागत विकासका विषय पनि सभामा प्रस्तुत गरिएको थियो । करिब एक हजार चार सय विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको महाकवि देवकोटा क्याम्पसले पछिल्लो समय शैक्षिक उपलब्धि र विद्यार्थीको सफलतामार्फत आफ्नो पहिचान स्थापित गर्दै आएको छ । बीबीएमा प्राप्त राष्ट्रियस्तरको सफलताले क्याम्पसको शैक्षिक सम्भावना थप उजागर गरेको छ । १६औँ क्याम्पस सभाले क्याम्पसको आगामी शैक्षिक दिशा, संस्थागत सुदृढीकरण, जग्गाको स्वामित्व प्राप्ति र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राखेको छ । सभासँगै अधिवेशनको प्रक्रिया अघि बढेकाले आगामी दिनमा क्याम्पसको नेतृत्व र संस्थागत विकासले कस्तो दिशा लिने भन्ने विषयमा पनि चासो बढेको छ ।

