
नवलपरासी,३० कातिक
स्थानीयस्तरमा उपलब्ध पोषणयुक्त खाद्यवस्तुको पहिचान, प्रयोग र उपभोग बढाउने गरि प्रदशनी गरिएको छ । सरावल उद्योग बाणिज्य संघले आयोजना गरेको उद्योग ब्यपार मेला २०८३ मा सो पोषणयुतm खाद्यबस्तुबारे स्टल नै राखेर स्वास्थ्य तथा सरसफाइसम्बन्धी व्यवहारमा सुधार ल्याउने उद्देश्यलेसरावल गाउँपालिकामा पोषण तथा सरसफाइसम्बन्धी प्रदर्शनी आयोजना गरिएको हो ।

सरावल गाउँपालिका–२ मगरमुडहाामा आयोजित सो प्रदर्शनी मेलामा स्थानीयस्तरमा उत्पादन हुने विभिन्न खाद्यवस्तु, फलफूल, तरकारी तथा पोषणयुक्त खानेकुराहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा सहभागी स्थानीय महिला तथा सर्वसाधारणले विभिन्न खाद्यवस्तुको पोषण महत्त्व, तिनको प्रयोग गर्ने तरिका र सन्तुलित भोजनबारे जानकारी लिएका थिए । स्टलको ब्यवस्थापन हातेमालो समाज नेपालले गर्दै आएको छ । पोषणयुक्त खाद्यवस्तुहरूको माग सिर्जना तथा उपभोगसम्बन्धी सचेतना अभिवृद्धि र खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी व्यवहार परिवर्तन गर्ने उद्देश्यले सो प्रदर्शनीमा स्टल राखिएको समाजका मिन रानाले जानकारी गराएका थिए । उनलका अनुसार प्रदर्शनीमा स्थानीयस्तरमै उपलब्ध खाद्यान्न तथा फलफूललाई दैनिक खानपानमा समावेश गर्नुपर्ने सन्देश दिइएको थियो ।
उनका अनुसार विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र परिवारका अन्य सदस्यको स्वास्थ्यका लागि पोषणयुक्त खानाको महत्त्वबारे जानकारी गराइएको थियो । बजारमा पाइने महँगा खाद्यवस्तु मात्रै पोषणका स्रोत नभई आफ्नै घरआँगन तथा खेतबारीमा उत्पादन हुने अन्न, सागसब्जी, फलफूल र अन्य खाद्यवस्तुबाट पनि आवश्यक पोषण प्राप्त गर्न सकिने विषयलाई प्रदर्शनीले प्राथमिकता दिएको थियो । प्रदर्शनीमा विभिन्न खाद्यवस्तुका नमुना राखिनुका साथै पोषण, बालस्वास्थ्य, खानपान र सरसफाइसम्बन्धी जानकारीमूलक पोस्टर तथा शैक्षिक सामग्रीसमेत प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुने बानी र घरायसी सरसफाइको महत्त्वबारे जानकारी दिने सामग्री राखिएको थियो ।
ग्रामीण क्षेत्रमा अझै पनि पोषणसम्बन्धी पर्याप्त जानकारीको अभाव, खानपानमा एकरूपता र सरसफाइका व्यवहारमा कमजोरी देखिने भएकाले यस्ता प्रदर्शनीले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पोषण र सरसफाइ एकअर्कासँग जोडिएका विषय हुन् उनले भने, पौष्टिक खाना खाए पनि दूषित पानी तथा अस्वच्छ वातावरणका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले स्वस्थ जीवनका लागि सन्तुलित आहारसँगै स्वच्छता कायम गर्न आवश्यक हुन्छ । सो अभियानसँग सम्बन्धित सामग्री तथा हेलन केलर, भिटामिन एन्जल्स, आईडीईलगायत संस्थाका लोगो प्रदर्शनीस्थलमा राखिएका थिए। साथै नेपाल सरकार र बेस नेपालका लोगोसमेत देखिएका थिए । स्थानीयस्तरमा पोषणयुक्त खाद्यवस्तुको उत्पादन, उपभोग र माग बढाउँदै स्वास्थ्य तथा सरसफाइसम्बन्धी चेतना विस्तार गर्न यस्ता कार्यक्रमलाई समुदायसम्म निरन्तर पु¥याउनुपर्ने देखिन्छ ।

